संस्थापन समूहले सङ्गठन कब्जा गरेको भन्दै शेखर-गगन समूह बैठक बहिष्कारको तयारीमा

संस्थापन समूहले सङ्गठन कब्जा गरेको भन्दै शेखर-गगन समूह बैठक बहिष्कारको तयारीमा

काठमाडौँ : सङ्गठनमा एकलौटी गरेको भन्दै नेपाली कांग्रेस निकट नेविसंघका इतर पक्षका नेताहरूले संस्थापन समूहविरुद्ध आन्दोलनको तयारी गरेका छन्।

आइतबार काठमाडौँको वाल्मीकि क्याम्पसमा भेला भएका डा.शेखर कोइराला र महामन्त्री गगन थापा निकट नेविसंघका नेताहरूले फरक मतलाई स्थान नदिई मनोमानी ढङ्गले सङ्गठन चलाएको आरोप लगाएका हुन्।

नेविसंघको फाल्गुन १५ गतेलाई तय गरेको केन्द्रीय समिति बैठकपूर्व छलफलकाक्रममा भेला भएका केन्द्रीय सदस्यहरूले केन्द्रीय अध्यक्ष दुजाङ्ग शेर्पाले फरक मतलाई स्थान नदिई गुट चलाएको क्याम्पस र जिल्लाहरूमा मनोमानी तरिकाले नियुक्ति दिएको आरोप लगाएका थिए।

केन्द्रीय सदस्य सुनिल शर्माले अनुसार भेलामा अध्यक्षको मनोमानीका सवालमा गम्भीर समीक्षा भएको जानकारी दिए।

संघको ७ सय ११ सदस्य केन्द्रीय समिति आएपछि पहिलो पटक आव्हान गरिएको केन्द्रीय बैठकमा कसरी प्रस्तुत हुने वा मनोमानीविरुद्ध बैठक नै बहिष्कार गर्नेसम्मको छलफल भएको केन्द्रीय सदस्य शर्माले बताए।

वाल्मीकि क्याम्पसमा भएको भेलामा केन्द्रीय सदस्यहरू, उपत्यका क्याम्पसका स्ववियु तथा विद्यार्थी नेताहरूको उपस्थिति थियो। छलफलबाट सङ्कलित सुझावका आधारमा केन्द्रीय समिति बैठकबारे निर्णय गर्ने केन्द्रीय सदस्य सुवास पौडेलले जानकारी दिए।

२०७८ फाल्गुनमा दुजाङ शेर्पा नेविसंघको अध्यक्ष नियुक्ति र २०८० साउनमा ७१० केन्द्रीय सदस्य नियुक्ति भएपछि लगभग आठ महिनापछि पहिलो पटक फागुन १५ गतेलाई केन्द्रको पूर्ण बैठक आव्हान गरिएको छ।

फागुन १३, २०८० आइतबार २०:१४:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।