सस्तोमा डलर दिने भन्दै ठगेको आरोपमा ६० वर्षका रामबहादुर पक्राउ, मनिचेञ्जर खोलेर १० वर्षदेखि ठगीमा

सस्तोमा डलर दिने भन्दै ठगेको आरोपमा ६० वर्षका रामबहादुर पक्राउ, मनिचेञ्जर खोलेर १० वर्षदेखि ठगीमा

काठमाडौँ : अमेरिकी डलर देखाएर ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले उनीहरूलाई ठगीमा प्रयोग गरिने सक्कली र नक्कली डलरसहित पक्राउ गरेको हो।

कार्यालयले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका –५ घर भई गोकर्णेश्वर नगरपालिका–४ तालिन्चोक बस्ने ६० वर्षीय रामबहादुर तामाङ, उनकी ५१ वर्षीया श्रीमती बिबी तामाङ र काठमाडौँ गल्कुपाखा बस्ने ३६ वर्षीय शङ्कर रेग्मीलाई पक्राउ गरेको हो।

रेग्मी फोरेन एक्सचेन्ज सेन्टर प्रालिका सञ्चालक हुन्। उनले रामबहादुरलाई डलर उपलब्ध गराउने गरेको प्रहरीले जानकारी दिएको छ।

उनीहरूले एक डलर ५० रुपैयाँको दरले डलर दिने भन्दै प्रलोभनमा पारेर डिल गरेर नक्कली डलर दिएर ठगी गर्ने गरेको प्रहरीको दाबी छ।

कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार रामबहादुर पछिल्ला डेढ वर्षमा तीन वटा ठगी घटनामा संलग्न रहेको देखिएको छ।

उनले यस्तो काम १० वर्षदेखि गर्दै आएको र अहिलेसम्म पक्राउ नपरेको बयान दिएको प्रहरीको दाबी छ। ‘१० वर्षमा कति ठगी गरेँ भन्ने यकिन सङ्ख्या उनलाई पनि थाहा छैन,’ राठौरले भने, ‘डलर ठगीका ९० प्रतिशत घटनामा उनको संलग्नता देखिन्छ।’

प्रहरीले उनीहरूबाट ६ सय ७ अमेरिकी डलर, डलर आकारमा काटिएका रकम, ७१ हजार रुपैयाँ र  मोबाइल बरामद गरेको छ।

फागुन १३, २०८० आइतबार २०:०६:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।