गोर्खा वारियर : हेर्नै पर्ने नि हैन, छ्या भन्ने तहको नि छैन
रोजगारीको लोभमा रुसी सेना बनेर युक्रेनी सेनासँगको लडाइमा वीरता हैन दुख र वेदना मात्रै छ। कति नेपाली मारिए एकिन छैन। आँकडा १४ हजार हाराहारीको सार्वजनिक भइरहेका छन्। सार्वजनिक भइरहेका कथामा वीरता र गर्व लायक छैन। दिक्क लाग्दा छन्।
वैध होस् या अवैध रूपमै होस् अर्काको देशका लागि ज्यानको पर्वाह नगरी लडाइको मैदामा उत्रिएका नेपालीहरूको इतिहास लामै छ। त्यो भारतहुँदै बेलायतसँग जोडिएको थियो। अहिले छरिएको छ। त्यो बेलाका अधिकांश लडाइमा नेपालीले देखाएको बहादुरी गर्व लायक छ। दुस्मनले समेत प्रशंसा गरेका छन् गोर्खालीको बहादुरीको।
रुस- युक्रेनको स्वार्थमा ज्यान गुमाएका नेपाली परिवारको वेदना दैनिक सार्वजनिक भइरहेको बेलामा वीरताको कथा पर्दामा उतार्ने प्रयास गरेका छन् निर्देशक मिलन चाम्सले।
गोर्खालीको रूपमा नेपालीले लडेका लडाइमा आधारित भएर बनेको तुलसी घिमिरे निर्देशित लाहुरे बाहेकका फिल्म कहिले बन्यो अनि कहिले हलबाट उत्रियो भन्ने हेक्का लायक पनि बनेनन्।
मलायाको जङ्गलमा तत्कालीन बेलायती सेनाको पक्षबाट विद्रोहीसँग गोर्खाली सेनाले लडेको लडाइको कथामा आधारित फिल्म'गोर्खा वारियर' लाहुरेपछिको सम्झन लायक फिल्म हो सम्म भन्न सकिन्छ।
फिल्ममा प्रयोग गरिएको लडाइका सामग्रीहरू, युद्धका द्वन्द्वका दृश्य र भिएफएक्सको प्रयोगको आधारमा लाहुरेहरूको कथामा बनेका पछिल्ला फिल्महरूभन्दा गोर्खा वारियर हेर्न लायक बनाएका छन् चाम्सले। तर वाह लायक बनाउन भने चुके चाम्स।
जापानले बेलायती शासन अन्तर्गत रहेको मलाया (हालको मलेसिया) कब्जा गरेपछि बेलायती फौजको तर्फबाट गोर्खाली नेपालीहरू लडेका थिए। सन् १९४८ देखि १९६० सम्म चलेको युद्धमा गोर्खाली सेनाले वीरतापूर्वक लडेको लडाइ नै फिल्मको मुख्य कथा हो।
शुक्रवारबाट प्रदर्शनमा आएको डेढ घण्टा हाराहारीको फिल्ममा निर्देशक चाम्सले फिल्ममा ७० वर्ष अघिकै हात हतियार देखाउने प्रयास गरेका छन्। त्यो समयको नेपाली समाजको परिवेश र अवस्था देखाउन प्रयास गरेका छन्।
फिल्मको कथासारमा प्रवेश गरौँ।
हिमालको काखमा रहेको गाउँबाट फिल्मको प्रारम्भ गरेका छन् जहाँ मलाया युद्ध लडेका शिशिर वाङ्देलले आफ्नो नातिलाई युद्धका गाथा सुनाइरहेका छन्।
‘ब्ल्याक एन्ड ह्वाइट’ को पारिवारिक तस्बिर खल्तीमा राखेर रितेश चाम्स (बिर्खे) छिमेकी रियर राई (धने)लाई लिएर मलाया लाहुरे बन्न हिँड्छन्।
युद्ध मैदानमा बिर्खेको चुनौती र यता नेपालमा उनको परिवारको मनोदशा नै फिल्मको मूल कथा हो।
युद्धमा होमिएको सिपाहीको मनोदशा र घर परिवारको अवस्थालाई फिल्मले उठाउने प्रयास त गरेको छ तर वियोगका दृश्यले दर्शकको मनमा गाँठो पर्दैन।
युद्ध मैदानमा बिर्खे बनेका रितेश चाम्स र धने बनेका रियर राईबीचको मित्रता र कमेडीले एकोहोरो द्वन्द्वका दृष्यकाबीच रिफ्रेस बनाउने प्रयास गर्छ।
घरकी बुढी आमा र श्रीमतीलाई छाडेर मलाया हिँडेका बिर्खे र उनकी श्रीमती रेविका गुरुङबीचको प्रेम वियोगका दृश्यमा दर्शक कनेक्ट हुन सक्दैनन्।
फिल्मको हाफ टाइममा राम्रा दृश्य आइहाल्छन् कि भनेर दर्शकले धैर्य नै गर्नुपर्ने गरि सुस्त रूपमा कथा अगाडि बढेको छ। दोस्रो हाफमा केही गति लिए पनि वाह भन्ने गरि कथा भन्न सकेका छैनन् निर्देशकले।
युद्धका सेटहरूमा निर्देशकले राम्रै मिहिनेत गरेका छन्। युद्धमा मरेका लडाकुहरु शवमा भन्किएको झिँगा,खोला तर्दा बाँसको सोली प्रयोग गरेर पानी मुनीबाट सास फेरेका दृश्य आकर्षक छन्।
फिल्मका अधिकांश कलाकार नयाँ छन्। छ्या भन्नेगरि कमैको अभिनय देखिन्छ। पात्र चयनमा निर्देशकले होसियारी अपनाउँदा पात्रहरू लाहुरे परिवारकै हुन् भन्ने भान पर्छ। कतै बिझाउँदैन। जसरी छ्या के अभिनय गरेको होला भन्नुपर्ने दृश्य छैन त्यसरी नै वाह क्या दामी अभिनय गरेको भन्ने ठाउँ पनि छैन।
फिल्मको सबैभन्दा बलियो पक्ष छायाङ्कन र पार्श्वध्वनि नै हो। केही स्थानमा कति धेरै बजाएको भन्ने लाग्न सक्छ, तै पनि पाश्र्व ध्वनिले फिल्मलाई बलियो बनाएको छ।
मिलनको निर्देशनमा बनेका फिल्महरूमा सबैभन्दा कमजोरी कथा र पटकथामा देखिदै आएको नै होर उनले आफ्नो त्यो कमजोरी गोर्खा वारियरमा सुधारेका छैनन्, दोहोर्याएका छन्।
युद्ध कसैका लागि पनि सुखद हुन्न। युद्ध मैदानमा सदस्य होमिएको परिवारको वेदना असह्य हुन्छ। वीरता देखाउन बढी नै केन्द्रित हुँदा लाहुरे परिवारको वेदना देखाउन निर्देशक चुकेका छन्।
गोर्खालीले लडेको युद्ध मैदानमा खुकुरीको चमत्कारिक प्रयोगका दृश्यहरूको आस गर्नेहरू गोर्खा वारियरबाट निराश हुन सक्छन्। खुकुरीको प्रयोग त भएको छ तर सामान्य रूपमा।
युद्धमा थुप्रै सिपाही देखाइएका छन् तर ८-९ जनाको अनुहार मात्रै पर्दामा दोहोरिहरन्छ। जङ्गलमा लडिने लडाइको अध्ययन, त्यसै अनुसारको पटकथा र कथा निर्माणमा निर्देशकबाट भएको कमजोरी फिल्ममा प्रस्ट देखिन्छ।
फिल्मको कथा सललल बग्न सकेको छैन। पहिलो हाफको अन्ततिर लोलाइसकेका दर्शकलाई हल्का जर्याकजुरुक बनाए पनि त्यसपछि पुन दर्शक सुस्ताउन सक्छन्।
जङ्गलमा सिपाही हिँडेका दृश्यहरू लामो राख्दा फिल्मको कथा स्लो बनेको छ। रात्रिकालीन दृश्यहरू अलि बढी नै डार्क देखिएको छ। पर्दामा कहाँ छन् सिपाही भनेर दर्शकले आँखा तन्काउन बाध्य हुनु त्यति राम्रो हैन नि।
सेटअप अनि गेटअप ७० वर्ष पुरानो तर कथाको पात्रको बोली भने २०२४ को छ। फिल्मको सबैभन्दा ठुलो कमजोरी नै संवाद लेखनमा देखियो। पात्रको गेटअपसँग बोल्ने शैली मिल्दैन। यो फिल्मभरि खट्किरहन्छ। यसले ऐतिहासिक कथामा फिल्म बनाउँदा निर्माण टिमले रिसर्च र संवाद लेख्न गरेको अल्छी प्रस्ट्याउँछ। पोसाक र बन्दुकले मात्र समाजको प्रतिनिधित्व गर्दैन भन्ने भेउ नै पाएनछ निर्माण टिमले।
मिलनले फिल्मको कथा अधुरो छाडेका छन्। सायद गोर्खा वारियर-२ को लोभले होला। तर पहिलो फिल्म जुन गुणस्तरको बन्यो त्यो हेर्ने दर्शकहरूमा सिक्वेल झन् कस्तो बन्ला भन्ने कौतुहलता भने जगाउन सकेका छैनन् निर्देशकले।
फिल्म हेर्नै पर्ने बनेको छैन। हेर्दा छ्या भन्ने तहको पनि छैन।
फागुन १३, २०८० आइतबार १९:०५:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।