आइतबारको संसद् : पत्रकारले तलब नपाएको विषयदेखि १८ करोड कमिसनको खेलसम्ममा सांसदको चासो

आइतबारको संसद् : पत्रकारले तलब नपाएको विषयदेखि १८ करोड कमिसनको खेलसम्ममा सांसदको चासो

काठमाडौँ : साढे तीन घण्टा चलेको संसद्को बैठक चार मन्त्रीको राजीनामा, गणतन्त्रमा राजतन्त्रबारे बोल्न पाइने कि नपाइने अनि मिटर ब्याज पीडितहरूको समस्यामै केन्द्रित भयो।

आइतबार संसद्को विशेष समय अनि शून्य समयमा बोलेका विभिन्न दलका सांसदहरूले कृषि समस्या, सरकारको मौनता लगायतका विषयमा समेत बोलेका थिए।

मुख्यतः प्रतिपक्षमा रहेका एमाले, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले विवादमा परेका चार मन्त्रीको राजीनामा मिटरब्याजी पीडितहरूको आन्दोलन र समस्या समस्याको विषय उठाएका थिए।

सत्तापक्ष नेपाली कांग्रेसका सांसदहरूले समेत मन्त्रीको आलोचना गर्दै कमिसनको खेलमा लागेको गम्भीर आरोप लगाए।

राप्रपाका सांसदहरूले राजतन्त्र अनि हिन्दु राज्यको विषय उठाएका थिए। राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले राजतन्त्रको विषयमा कुरा उठाउँदा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नियमापत्ति जनाउँदा दुबैबिच नोकझोक चलेको थियो।

त्यो नोकझोकमा कांग्रेस सांसद सुनिल शर्मा प्रवेश गर्दै प्रतिपक्षी दल राप्रपाकै सांसदलाई साथ दिएको रोचक दृश्य पनि देखियो।

सभामुखले संसद्को बैठक सुरु भएको बताए लगत्तै एमालेका सांसद आफ्नो कुर्सीबाट उठेपछि एमाले मुख्य सचेतक पदम गिरीले विशेष समय लिएर बोल्दै विवादित चार मन्त्रीको राजीनामाबारे प्रतिपक्षीले पटक-पटक कुरा उठाउँदा समेत प्रधानमन्त्रीले बेवास्ता गरेको भन्दै आपत्ति जनाएका थिए। भौतिक मन्त्री प्रकाश ज्वाला, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पर्यटनमन्त्री सुदन किराँती अनि स्वास्थ्यमन्त्री मोहन बस्नेतको राजीनामा र बर्खास्तीको माग गरे पनि प्रधानमन्त्री सदनमा आएर जवाफ नदिएको भन्दै आपत्ति जनाएका थिए।

उनले गृहमन्त्रीले मिटर ब्याजी पीडितहरूको समस्या समाधान भयो भनेर दाबी गरे पनि अहिले पनि मिटर ब्याजी पीडितहरू सडकमा आएको भन्दै उनीहरूको समस्या समाधान गर्न सरकार किन असफल भयो भन्दै प्रश्न गरेका थिए।

उनले विभिन्न रोग लागेर पशुको मृत्यु भएर किसानहरूको अर्बौँ क्षति पुगे पनि उनीहरूले क्षतिपूर्ति र पशु बिमा रकम नपाएको विषय समेत उठाएका थिए।

कास्कीकी एमाले सांसद विद्या भट्टराईले सहकारी पीडितहरूको बचत रकम जोखिममा परेको विषय उठाउँदै सूर्य दर्शन सहकारीको फरार अभियुक्तहरू पक्राउ नपरेकोमा आपत्ति जनाएकी थिइन्।

उनले फरार रहेका सहकारी बचतकर्ताहरूको अपचलन गर्नेहरूलाई पक्राउ गर्न सरकारलाई कसले रोक्यो भन्ने प्रश्न सोधेकी थिइन्।

संसद्मा उठ्यो पत्रकारको पारिश्रमिक मुद्दा

रास्वपा सांसद विराजभक्त श्रेष्ठले फरक विषयको रूपमा श्रमजीवी पत्रकारहरूको पारिश्रमिकको समस्याको विषय उठाएका थिए। उनले सञ्चारगत र श्रमजीवी पत्रकारको समस्या समाधान नगरे लोकतन्त्र फस्टाउन नसक्ने भन्दै सञ्चारकर्मीले पारिश्रमिक पाउनु पर्ने हो हैन भन्दै प्रश्न गरेका थिए। यो प्रश्न उठाउँदा समाचार नआउनसक्ने भन्दै उनले संसदबाटै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

रास्वपाका सांसद शिशिर खनालले स्वच्छ खानेपानीको पिउन पाउनु मौलिक हक बनाए पनि क्यान्सर हुने पानी खान बाध्य भएको भन्दै उनले काठमाडौँको रिङरोड बाहिरका स्थानीयले स्वच्छ पानी पिउन नपाएको विषय उठाएका थिए।

उनले भने' मन्त्रीज्यू, प्रधानमन्त्रीज्यू पानी चाहियो।'

रास्वपाकी सांसद सुमना श्रेष्ठले आन्दोलनरत मिटरब्याजी पीडितहरूबारे विषय उठाएका थिए। उनले पूर्व न्यायाधीश सम्मिलित गरेर समस्या समाधान गर्न माग गरे। उनले मिटर ब्याजीको समस्या किन बढेको हो भन्दै बैङ्कहरूले सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने रकम राष्ट्र बैङ्कको संयोजकत्वमा कोष बनाएर सो रकम मिटरब्याजी पीडितहरूको हितमा खर्च गर्न माग गरिन्।

रास्वपा सांसद सोविता गौतमले आफ्नै निर्वाचन क्षेत्रको शंकरापुरको सडक भासिएको विषय उठाएकी थिइन्। काठमाडौँ २ कि सांसद रहेकी उनले भासिएको बाटोबारेमा सङ्घमा जाँदा प्रदेश देखाउने, प्रदेश जाँदा सङ्घ देखाउने गरेको भन्दै सरकारले आलोचना गरेकी थिइन्।

ज्ञानेन्द्रबहादुर कार्कीले कोसी प्रदेशको पूर्वी पहाडी क्षेत्रमा भौतिक सुविधा पुगे पनि बसाइसराइ बढेको र त्यसको मुख्य समस्या बाँदर रहेको भन्दै समस्याको समाधान गर्न माग गरे।

त्यसपछि सभामुखले विशेष समय सुरु गरे। सत्तापक्षका सांसद रामहरि खतिवडाले विशेष समयमा बोल्दै नेपाल एयरलाइन्सको विषय उठाउँदै पर्यटनमन्त्री सुदन किराँतीलाई तारो बनाए।

उनले एयरलाइन्समा ३१ अर्ब रुपैयाँ सरकारले लगानी गरेको तर ४८ अर्बको ऋणमा डुबेको भन्दै अहिले साउको त कुरै छाडौँ ब्याज समेत तिर्न सक्ने अवस्था नभएको उनले बताए।

ट्विनअटर विमान किन्न हुन्न भन्दाभन्दै मन्त्रीले क्यानडाबाट जहाज किन्न लागेको भन्दै त्यसमा १८ करोड कमिसन खाने खेलमा लागेको सूचना पाएको दाबी गरे।

६ वटा चिनिया जहाज आठ अर्बमा किनेर लिलाममा राख्दा ३८ करोडमा विक्री नभएको, आठ सय कर्मचारी रहेकोमा ६२ जना कर्मचारीलाई करार र ज्यालादारीमा राखेको, लुम्बिनी विकास कोष र पशुपति क्षेत्र विकास कोषमा अनियमित रूपमा नियुक्त गरिएको भन्दै उनले मन्त्रीको आलोचना गरेका थिए।

सुरेशलाल श्रेष्ठ एजेन्ट नियुक्त गरेर नयाँ इन्जिन ल्याउने नाममा कमिसनको खेलमा लागेको समेत आरोप लगाए।

उनले दुई स्टार होटेलको भौतिक अवस्थाको अनुगमन नगरी चार तारे होटेलको मान्यता दिने खेलमा समेत पर्यटनमन्त्री लागेको आरोप लगाएका थिए।

माधव-ज्ञानेन्द्रबीच नोकझोक

माओवादी केन्द्रका सांसद माधव सापकोटाले भने राजनीतिक विषयको उठान गरे। उनले नेपाली संविधानको प्रस्तावनासहितको व्यवस्थाहरू पढ्दै बेलाबखत अहिलेको व्यवस्था विरुद्ध भ्रम फैलाउने काम गरिएको भन्दै यही व्यवस्थामा रहेर सांसद हुने, पाए मन्त्री हुने तर संविधान ध्वंस हुने गरी संसद्मा संविधानको विरुद्धमा बोल्न नदिन माग गरेका थिए।

उनले सम्बोधन गरिरहँदा एमाले अध्यक्ष केपी ओली टाउको हल्लाइरहेका थिए।  

विशेष समयमा बोल्दै राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले संसद्मा राजतन्त्रको बारेमा बोल्न पाउने अधिकार संविधानले नै सुरक्षित गरेको र अहिलेको व्यवस्था चाहिने नचाहिने भन्नेबारे समेत पुनर्विचार गर्न सक्ने अधिकार दिएको बताए। उनले संसद्मा सत्ता तिम्रै छ, शक्ति तिम्रै छ जित दबाउन सक्छौँ दबाओ भन्दै कविता पढेका थिए।

उनले 'मैले राजीनामा किन दिने' भन्दै घाँटी रेटेर आएको हो' भन्दै बोलेपछि माओवादी केन्द्रकोतर्फबाट नियमापत्ति जनाइएको थियो। सत्ताधारी दलकोतर्फबाट नियमापत्ति जनाएको आपत्तिमा कांग्रेस सांसद सुनिल शर्माले आपत्ति जनाएका थिए।

आफ्नो समयमा बोल्दै शर्माले देशका दूर दराजका अस्पतालमा सामान्य अप्रेसन गर्न एनेस्थेसियाको सुविधा समेत नभएको, नर्स पढ्ने सुविधा नभएको विषय उठाएका थिए।

१३ फागुन, २०८०, १५:५५:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।