भुर्तेलको अर्ध शतकपछि पनि जितका लागि नेदरल्यान्डसलाई नेपालको सामान्य चुनौती
काठमाडौँ : आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत भइरहेको आइतबारको खेलमा नेपालले नेदरल्यान्ड्सलाई एक सय ७३ रनको सामान्य लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको प्रतियोगितामा नेपालले टस हारे पहिले ब्याटिङको निम्तो पाएको थियो। नेपालले ४९.३ ओभरमा अलआउटहुँदै एक सय ७२ रन बनायो।
नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ६६ रनको योगदान गरे पनि प्रतिस्पर्धात्मक स्कोर बन्न सकेन। भुर्तेलबाहेक माथिल्लोक्रमका ब्याट्सम्यान मैदानमा टिक्न सकेनन्।
तल्लोक्रमका ब्याट्सम्यान करण केसीले २६ रन बनाएका थिए भने आरिफ शेखले २२ रन बनाए। कप्तान रोहित पौडेल १६ रन बनाउँदै आउट भएका थिए।
विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले १७ रन बनाए। नेपालका अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन समेत बनाउन असफल भए।
नेदरल्यान्ड्सका बलर भिभियन किङ्मा र आर्यन दत्तले तीन–तीन विकेट लिए भने बास डे लिडले दुई विकेट लिए। रोल्फ भान डर मेर्वेले एक विकेट लिएका थिए।
फागुन १३, २०८० आइतबार १३:३५:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।