दराज फुटाएर गरगहना चोरेपछि भाग्दै थिए, बाटोमै पक्राउ परे

दराज फुटाएर गरगहना चोरेपछि भाग्दै थिए, बाटोमै पक्राउ परे

काठमाडौं : भक्तपुरको चाँगुनारायण नगरपालिका ३ नम्बर वडाका भुवन खत्रीको घरमा दराज फुटाई चोरी गरी भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

ओखलढुंगा घर भई हाल काठमाण्डौं टेकु बस्ने १९ वर्षीय राजेश भुजेल र काभ्रेपलान्चोक बनेपा नगरपालिका वडा नम्बर ६ बस्ने १८ वर्षीय समीर श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ती युवाहरूको साथबाट सुन जस्तो देखिने धातुका गर-गहनाहरू तथा नगद समेत बरामद भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत वसन्त पाठकले जानकारी दिए।

सूचना अधिकृत पाठकका अनुसार उनीहरूबाट सुनको चुरा ३ थान, सुनको चन्द्रमा १ थान, सुनको औँठी १ थान, सुनको नेक्लेस १ थान, सुनको कानमा लगाउने मुन्द्रा-१ थान, तिलहरी १ थान, सुनको पुतली १ थान, सुनको रानीहार १ थान, चाँदीको पाउजु १ जोर, नगद रकम एक हजार दुई सय ६६ रुपैयाँ र ताल्चा फुटाउन प्रयोग गर्ने फलामको छिनो १ थानसहित बरामद भएको छ।

प्रहरीले उनीहरुलाई हाल जिल्ला प्रहरी परिसर भक्तपुरमा राखेर अनुसन्धान गरिरहेको छ।

फागुन १२, २०८० शनिबार २१:४०:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।