डा. मोहनचन्द्रको उपचार अनुभव : पिसाब चुहिएकै आधारमा पाँच वर्ष ओडारमा नरकीय जीवन बिताएर बाध्य विछिप्त महिला भेटिएपछि...

डा. मोहनचन्द्रको उपचार अनुभव : पिसाब चुहिएकै आधारमा पाँच वर्ष ओडारमा नरकीय जीवन बिताएर बाध्य विछिप्त महिला भेटिएपछि...

डाक्टर मोहनचन्द्र रेग्मी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन्। उनले महिलाको पिसाब ‘युरो गाईने’ सम्बन्धी विषयमा विशिष्टिकृत (सुपरस्पेशलाईजेशन) तहको अध्ययन गरेका छन्। उनले चिकित्सकीय पेशाको शिलशिलामा विशेषगरी महिलाका स्वास्थ्यजन्य समस्याका पीडा नजिकबाट नियालेका छन्। उनै डा. मोहनचन्द्रले चिकित्सकीय पेशाको शिलशिलामा देखे भोगेको तितामिठा अनुभव उकेरासँग साटेका छन्।

पाँच वर्ष खलंगाको ओडारमा बसेकी महिलाको उद्धार गरेर अस्पताल पुर्याइयो...

घटना करिब सात वर्ष अघिको जाजरकोटको हो। करिब ३५ वर्षकी महिला जाजरकोटको खलंगाबाट अलि टाढा पाँच वर्षदेखि जंगलको ओडारमा बास बसेकी रहिछन्।

एक जना पत्रकारले ती महिला ओडारमा बसेको देखेछन्। पाँच वर्षदेखि मान्छेबाट टाढा भएर ओडारमा बसेकाले ती महिला मान्छे देख्यो कि तर्सिएर भाग्थिन्। मान्छे देख्यो कि भागेपछि ती पत्रकारलाई जिज्ञासा जाग्यो। 

पत्रकारले निक्कै मिहिनेत गरेर सोधखोज गर्दै जाँदा ती महिलालाई घर, परिवार, आफन्त र गाउँले सबै मिलेर जंगलमा लखेटेको थाहा भयो। त्यसैले मान्छे देख्यो कि ती महिला डराएर भाग्दी रहिछन्। सोधखोज गर्दै जाँदा ती महिला ओडारमा बस्न पुग्नुको कारण पनि थाहा भयो।

ती महिलालाई प्रसव व्यथाले च्यापेछ। प्रसव व्यथाले च्यापेको लामो समयसम्म पनि बच्चा जन्मिएनछ। त्यसपछि स्वास्थ्य चौकी टाढा भएकाले घरमा नै नर्सलाई बोलाएर प्रसूति गराइयो। 

तर, ती महिलाको बच्चा गर्भैमा मृत्यु भइसकेको थियो। प्रसूति गराउने नर्सले ती महिलाको गर्भको त्यो मृत बच्चा निकालिदिइन्। ती महिलाको लागि त्यो पहिलो सन्तान थियो। तर, खेर गयो। धन्न, नर्सको सहयोगको कारण ती महिलाको ज्यानसम्म त बाँच्यो।

आफ्नो ज्यान बाँचेपनि बच्चा खेर गएसँगै ती महिलाको नरकीय जीवन पनि त्यही दिनबाट सुरू भयो।

दुर्भाग्य, मृत बच्चा निकालिएपछि ती महिलाको पिसाब चुहिने समस्या निम्तियो। जतिखेर पनि पिसाब चुहिन थाल्यो। त्यही कारण उनको पिसाब गन्हाउने समस्या भयो। लगाएका कपडा मात्रै हैन, ओड्ने ओछ्याउने कपडासमेत पिसाब चुहिने समस्याका कारण बिग्रने र गन्हाउने समस्या भयो।

त्यसैकारण ती महिलालाई घर परिवार, आफन्त र समाजले समेत छिछि र दुरदुर गर्न थाले। आफ्नै श्रीमान र माइतीघरमा पनि उनले आश्रय नपाउने स्थिति बन्यो। 

निरन्तर पिसाब चुहिने भएपछि ती महिलाका घर परिवार र आफन्तले ‘यो अलच्छिनी भई, यसलाई घरमा राख्नु हुँदैन’ भनेर घरबाटै निकालेर जंगलतिर लखेटिदिए। 

घर, परिवार, आफन्त र समाजले लखेटेर जंगलमा पठाएपछि ती महिला एउटा ओडारमा बस्न थालिछन्। ती महिला जंगलमा कन्दमुल खोजेर खादी रहिछन्। केही समय ती महिलाले नरकीय जीवन बाँचिरहिन्। ती महिला मान्छेदेखि त डराउँथिन् नै जंगली जनावरको भय उनलाई त्यतिकै थियो।

ती महिला यसरी ओडारमा बसेको समाचार एक जना पत्रकारले सञ्चारमाध्यममा सम्प्रेषण गरेछन्। त्यो समाचार डा. मोहनचन्द्रले थाहा पाए। समाचार पढ्दा नै डा. मोहनचन्द्रले के समस्याका कारण ती महिलाको पिसाब चुहिरहेको छ भन्ने अनुमान लगाइहाले। जसको  उपचार सम्भव छ भन्ने पनि उनलाई थाहा थियो। 

ती महिला जंगलको ओडारमा बसेको थाहा पाएपछि डा. मोहनचन्द्रले जाजरकोटका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर उनलाई उपचारका लागि ल्याइदिन अनुरोध गरे। नभन्दै प्रमुख जिल्ला अधिकारीले एक जना मान्छेको सहयोगमा ती महिलालाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइदिए। 

तर, ती महिलालाई धरान पुर्याउन आफन्तको कुनै सहयोग थिएन। प्रमुख जिल्ला अधिकारीले नै व्यवस्थापन गरिदिएका एक जना व्यक्तिको सहयोगमा धरान पठाइएको थियो।

अस्पताल पुर्याउँदा ती महिलाको रुप सामान्य अवस्थाको मानवको जस्तो छँदै थिएन। ती महिलाले वर्षोंदेखि नुहाएकी थिइनन्। मयालै मयालले भरिएको शरीर। कपाल जुंग्रुङ्ग थियो। हात खुट्टाका नङ्ग निक्कै लामा-लामा र फोहोर भरिएका थिए। महिलाको रुप नै जंगली जनावरको अवस्थाको थियो। अनुहारको रुप कालो भएको थियो। शरीर खरानी पोतिएको जस्तो फुस्रो र फोहोर अवस्थाको थियो। शारीरिक रुपमा अस्वाभाविक रुप थियो भने मानसिक रुपमा पनि ती महिला विच्छिप्त अवस्थामा थिइन्।

घर, परिवार, आफन्त र समाजबाट पाँच वर्षसम्म ओडारमा विच्छिप्त भएर बसेकी ती खड्का थरकी महिलालाई डा. मोहनचन्द्रको जिम्मामा उपचारका लागि प्रतिष्ठानमा छोडेर ती प्रमुख जिल्ला अधिकारीले पठाएका मान्छे फर्किए।

महिलालाई उपचारका लागि प्रतिष्ठानमा भर्ना गरियो। डा. मोहनचन्द्र नेतृत्वमा रहेको चिकित्सकको टिमको सक्रियतामा ती महिलाको स्वास्थ्य परीक्षण तथा औषधि, उपचार थालियो।

हुन त ती महिलाको पिसाब चुहिनुको कारण डा. मोहचनन्द्रले थाहा पाइहालेका थिए। तर, उपचार गर्नुभन्दा पहिले ती महिलालाई शारीरिक रुपमा सरसफाइदेखि पोषणको व्यवस्थापन लगायत मानसिक रुपमा सामान्य अवस्थामा फर्काउनु थियो।

अस्पतालका कर्मचारीले महिलाको शारीरिक सरसफाइ गरेपछि उनलाई मानसिक समस्याको उपचारका लागि मनोपरामर्श दिनुका साथै औषधि दिइयो। सरसफाइ तथा औषधि उपचार गरेको केही दिनपछि ती महिलाको पिसाब चुहिने बाहेक अन्य शारीरिक समस्या ठिक भयो। र, मानसिक रुपमा पनि महिला सामान्य अवस्थामा फर्कँदै गइन्।

त्यसपछि चिकित्सकको टिमले ती महिलाको पिसाब चुहिने समस्याको समाधानका लागि शल्यक्रिया गर्ने योजना बनायो।

ती महिलालाई प्रसव फिस्टुलाको समस्या भएको थियो। त्यही कारणले ती महिलाको निरन्तर पिसाब चुहिएको थियो। जुन समस्या उनको जीवनकै अभिशाप बनेको थियो।

गर्भवतीले बच्चा जन्माउने क्रममा बच्चाको टाउको गर्भमा नै अड्किने लगायत समस्याका कारण पिसाबथैलीमा प्वाल परेर पिसाब चुहिराख्ने समस्यालाई प्रसव फिस्टुला भनिन्छ। पाठेघर र पिसाबथैली नजिकै हुने भएकाले बच्चा जन्माउँदा  प्रसव फिष्टुलाको जोखिम हुनसक्ने डा. मोहनचन्द्रले सुनाए। 

गर्भमा ठूलो बच्चा भएको, लामो समय प्रसूति व्यथा लागेको, जन्मने क्रममा बच्चा अड्किने जस्ता समस्या भएको खण्डमा पिसाबको थैलीमा घाउ भएर पिसाब चुहिराख्ने समस्या निम्तिन सक्ने डा. मोहनचन्द्रले सुनाए। ती महिलालाई बच्चा जन्माउने क्रममा यस्तै समस्या भएको थियो।

अन्य शारीरिक समस्या र मानसिक अवस्था पनि ठिक भएपछि डा. मोहनचन्द्र नेतृत्वको चिकित्सकको टिमले ती महिलाको पिसाब चुहिने समस्या फिस्टुलाको शल्यक्रिया थाल्यो।

शल्यक्रिया सफल भयो। 

शल्यक्रियापछि महिलाको पिसाब चुहिने समस्या पूर्ण रुपमै समाधान भयो।  चिकित्सकको टिमले ती महिलालाई करिब तीन महिना अस्पतालमा औषधि उपचार गरेपछि डिस्चार्ज गरेर पुनः जाजरकोट नै पठाउने तयारी गर्यो। तर, उपचारपछि नरकीय जीवनबाट मानवीय जीवनमा फर्कन सफल भएकी थिइन् उनी। त्यसैले पनि अस्पतालबाट डिस्चार्जको तयारी हुँदै गर्दा ती महिला निक्कै भावुक बनिन्। 

डा. मोहनचन्द्र लगायत उपचारमा खटिएको टिम पनि पनि भावुक बन्यो। त्यो बेलासम्म ती महिलाको घर परिवारमा फर्काउने वातावरण बनिसकेको थिएन। त्यसैले कहीँ न कहीँ पुनःस्थापित गराउनुपर्ने आवश्यकता थियो।

त्यसैले तिनै प्रमुख जिल्ला अधिकारीको समन्वयमा एक जनाको साथमा ती महिलालाई जाजरकोट फर्काइयो। समन्वय गरेर उपचारपछि ठिक भएकी ती महिलालाई घर परिवारले पनि स्वीकारेकाले परिवारमा पुनःस्थापित भएको उनले सुनाए। 

उपचारको क्रममा ती महिलालाई देश विदेशबाट आर्थिक सहयोग पनि मिलेको डा. मोहनचन्द्रले सुनाए। उनका अनुसार त्यो रकम ती महिलालाई व्यवसाय गर्न सक्ने गरी दिइएको थियो। अहिले ती महिला खलंगामा नै बाख्रा पालन गरेर बसेको थाहा पाएको उनले सुनाए।

एउटा समाचारको कारण आफूले ती महिलालाई उपचार गरी नरकीय जीवनबाट मानवीय जीवनमा नै फर्काउन सफल भएकोमा निक्कै आनन्द लाग्ने गरेको डा. मोहनचन्द्रले सुनाए।

आन्द्रा नै छेडिएकी बालिकाको समस्या शल्यक्रिया नगरी ठिक भएपछि...

अनेकन् घटनामध्ये एक जना युवतीको उपचार गरेको घटना पनि डा. मोहनचन्द्र कहिल्यै भुल्दैनन्।

घटना केही वर्ष अघिको हो। संखुवासभाबाट करिब १४ वर्षकी बालिकालाई उपचारका लागि धरानस्थित वीपी प्रतिष्ठानमा पुर्याइयो। ती बालिका घाँस झार्न रुखमा चढिछन्। रुखबाट लडेर खस्दा ठाडो परेको तीखो लठ्ठीले मलद्धारबाट छेडेर ठूलो आन्द्रा र छालासमेत छेडेर लठ्ठि पेटबाट बाहिर निस्किएछ। 

अस्पताल पुर्याउदा ती बालिकाको अवस्था जटिल थियो। आन्द्रा नै छेडिएकाले आन्द्राभन्दा बाहिर दिसा हुन्थ्यो। चिकित्सकको टिमले ती बालिकाको शल्यक्रिया गर्ने तयारी गरेको थियो।

तर, शल्यक्रिया गर्नुअघि चिकित्सकको टिमले डा. मोहनचन्द्रलाई पनि परामर्शका लागि बोलायो। उनले ती बालिकाको स्वास्थ्य अवस्था हेरे। स्वास्थ्य अवस्था हेरेपछि डा. मोहनचन्द्रले ती बालिकाको शल्यक्रिया नगरी पनि समस्या ठिक हुनसक्ने स्थिति देखे। त्यसपछि चिकित्सकको टिम पनि उनको परामर्शलाई आधार मान्दै तत्काल शल्यक्रिया नगरी अन्य औषधि उपचार गर्ने र ठिक नभए मात्रै शल्यक्रिया गर्ने निष्कर्षमा पुग्यो। 

ती बालिकालाई अन्य औषधि उपचार नै गरियो। मनतातो पानीमा नुन हालेर नुन पानीमा बसाउने उपचार विधि अपनाइयो। उपचार थालेको करिब तीन हप्तापछि त ती बालिकाको छेडिएको त्यो आन्द्रा पनि आफैं टालियो। घाउ पनि ठिक भयो। शल्यक्रिया नै गर्नु परेन। करिब एक महिना अस्पतालको बसाइपछि ती बालिका पूर्ण रुपमा ठिक भएर घर फर्किइन्। 

त्यसैले कतिपय अवस्थामा शल्यक्रिया नै नगरी पनि समस्या ठिक हुन सक्ने डा. मोहनचन्द्रले अनुभव सुनाए। तर, शल्यक्रिया नगरी ठिक हुनसक्ने प्रकृतिको समस्या हो की हैन भन्ने विषय भने थाहा पाउनुपर्ने उनले अनुभव सुनाए। पछि फलोअपमा समेत ती बालिका आएकी र उनको त्यो समस्या ठिक भएको डा. मोहनचन्द्रले सुनाए।

भारतमा एमबीबीएस

मोहनचन्द्र बागलुङको बलेवा, पैयुँपाटामा २०३४ मा जन्मिएका हुन्। उनी सानै हुँदा परिवार बसाइँ सरेर चितवनको भरतपुरमा सर्यो। त्यसैले मोहनचन्द्रले चितवनकै अमर एभरेष्ट इङ्ग्लिस बोर्डिङ स्कुलमा चार कक्षासम्म पढे। त्यसपछि उनले चितवन माध्यमिक विद्यालयमा पढ्न थाले। त्यहीँबाट मोहनचन्द्रले २०५० मा एसएलसी पास गरे।

एसएलसीपछि मोहनचन्द्र भारतको चेन्नेई पुगे। चेन्नेइको विवेकानन्द विद्यालयमा प्लस टु अध्ययन गरे। मोहनचन्द्रलाई डाक्टरी विषय अध्ययन गर्ने बडो रहर थियो। त्यसैले प्लसटुको अध्ययनपछि उनी भारतकै तमिलनाडुस्थित मधुराई मेडिकल कलेजमा सन् १९९६ मा एमबीबीएस अध्ययनका लागि भर्ना भए। 

सन् २००१ मा उनको एमबीबीएस अध्ययन पूरा भयो। सन् २००२ मा इन्टर्नसिप समेत सकिएपछि मोहनचन्द्र नेपाल फर्के।

नेपाल फर्किएपछि डा. मोहनचन्द्र चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको मेडिकल अंकोलोजी विभागमा मेडिकल अधिकृतका रुपमा काम गर्न थाले। त्यहाँ उनले सन् २००४ सम्म करिब डेढ वर्ष काम गरे।

छनोटमा स्त्रीरोग, धरानमा जागिर

डा. मोहनचन्द्रलाई थप अध्ययन गर्नु छँदै थियो। त्यसैले भरतपुरपछि उनी सन् २००४ मा सुनसरीको धरानस्थित वीपी  प्रतिष्ठानमा चिकित्सा शास्त्रको स्नातकोत्तर तहको प्रसूति तथा स्त्रीरोग विषयमा एमडी गर्न थाले। सन् २००७ मा डा. मोहनचन्द्रको एमडी अध्ययन पूरा भयो।

एमडी अध्ययनपछि डा. मोहनचन्द्रले प्रतिष्ठानमा नै सिनियर रेसिडेन्टको रुपमा जागिर सुरू गरे। उनी स्थायी भए। प्रतिष्ठानमा उनी बढुवा हुँदै एसिस्टेण्ट प्रोफेसर (सहायक प्राध्यापक), एशोसिट प्रोफेसर (सह प्राध्यापक), एडिस्नल प्रोफेसर हुँदै करिब सात वर्षअघि प्राध्यापकमा बढुवा भए।

डा. मोहनचन्द्रले प्रतिष्ठानमा चार वर्ष प्रसूति तथा स्त्री रोग विभागको प्रमुख र २०७७ मा करिब डेढ वर्ष प्रतिष्ठानमा रजिस्ट्रारको भूमिकामा समेत काम गरे। तर, प्रतिष्ठानमा रजिस्ट्रारको रुपमा काम गर्नुभन्दा बिरामीको उपचारमा नै केन्द्रित हुनु उचित ठानेर आफूले स्वेच्छाले रजिस्ट्रारको पदबाट राजीनामा दिएको उनले सुनाए।

पारिवारिक रुपमा सहयोग भएकै कारण यो पेशा अंगाल्न सहजता भएको डा. मोहनचन्द्रले सुनाए। उनकी श्रीमती लक्ष्मी सुवेदी जनस्वास्थ्य विज्ञ हुन्। उनीहरूका दुई छोरी छन्। जेठी छोरी मानसा रेग्मी आठ कक्षामा पढ्छिन् भने कान्छी छोरी लुनसा रेग्मी दुईमा पढ्छिन्।

महिलाको पिसाब चुहिने उपचारमा सक्रिय भूमिका

डा. मोहनचन्द्रले प्रतिष्ठानमा सन् २०१९ मा आफ्नै सक्रियतामा युरोगाइनोक्लोजी सम्बन्धी दुई वर्षे फेलोसिप शैक्षिक कार्यक्रम सुरू गरेको अनुभव सुनाए। त्यसैगरी युरो गाइनोक्लोजी तथा फिस्टुला रोगको विषयमा अन्तर्राष्ट्रिय रुपमा समेत प्रशिक्षक भएर काम गरिरहेको उनले सुनाए।

काठमाडौंको निजामति अस्पतालमा समेत युरोगाइनेक्लोजी सम्बन्धी विधाको शैक्षिक कार्यक्रम सुरुवात गर्न प्रतिष्ठानबाट दुई वर्षका लागि डा. मोहनचन्द्र काजमा निजामति कर्मचारी अस्पताल आएका छन्। त्यसैले सात महिना अघिबाट उनी निजामति कर्मचारी अस्पतालमा नै कार्यरत छन्।

महिलाको पिसाब चुहिने, छिनछिनमा पिसाब लाग्ने जस्ता समस्याको उपचारमा केन्द्रित हुन्छन्, डा. मोहनचन्द्र। उनले सन् २०११ मा बंगलादेशको ढाकामा मेडिकल कलेजबाट फिस्टुलाको शल्यक्रिया गर्ने सम्बन्धी तालिम लिए। त्यस्तै, उनले दक्षिण अफ्रिका, जर्मनी, अमेरिका लगायतका मुलुकमा पुगेर प्रसूति तथा स्त्रीरोग सम्बन्धी युरो गाइने र फिस्टिुलाजस्ता विषयमा ज्ञान तथा सीप सिकेका छन्।

बिरामीको उपचार बाहेक उनी अस्पतालमा शैक्षिक कार्यक्रममा उत्तिकै सक्रिय छन्। डा. मोहनचन्द्र विशेषगरी युरो गाइनेक्लोजी सम्बन्धी प्रसव फिस्टुलाको उपचारमा केन्द्रित हुन्छन्। विशेषगरी महिलाको हाँस्दा, खोक्दा, पिसाब नियन्त्रण नहुने, दिसा चुहिने, आङ खस्ने, तल्लो पेट दुखेर जटिल समस्या निम्तिन सक्ने जस्तो समस्यालाई युरो गाइनेक्लोजीसम्बन्धी समस्या भनिन्छ।

प्रसव फिस्टुलाको यस्तो समस्या भएका महिलालाई विशेष शल्यक्रिया गरी उपचार गर्नुपर्ने डा. मोहनचन्द्रले सुनाए। पेट नचिरी गरिने यस्तो शल्यक्रियाको विधिलाई ल्याप्रोस्कोपिक सर्जरी भनिन्छ।

धरानबाटै फिस्टुला फ्री नेपाल कार्यक्रमको सुरुवात समेत गरेको उनले सुनाए। सन् २०१६ मा अफ्रिकास्थित फिगो संस्थाको तालिम केन्द्रमा युरो गाइनेसम्बन्धी उनले ज्ञान तथा सीप सिक्ने मौका पाए। उनी यो विषयको प्रशिक्षकको रुपमा समेत काम गर्छन्। 

वीपी प्रतिष्ठान (प्रसूति तथा स्त्रीरोग विभाग) ले सरकारबाट फिष्टुलासम्बन्धी राष्ट्रिय तालिम केन्द्र (नेश्नल सेन्टर फर अब्स्ट्रेटिक फिस्टुला)को रुपमा समेत मान्यता पाएको उनले सुनाए। यो सेन्टरमार्फत युरो गाइनेक्लोजी तथा फिस्टुला सम्बन्धी फेलोसिप कार्यक्रम चलिरहेको र यो कार्यक्रम दक्षिण एसियामै उदाहरणीय मानिएको उनले सुनाए। जुन कार्यक्रमको लागि उनले सक्रिय भूमिका खेलेका छन्।

डा. मोहनचन्द्र इन्टरनेश्नल सोसाइटी अफ अब्स्ट्रेटिक फिस्टुला सर्जनको कोषाध्यक्षका भूमिकामा समेत छन्। दक्षिण एसियामा यसको विकासका लागि स्थापना भएको साउथ एसियन फेड्रेसन अफ युरो गाइनेक्लोजी संस्थाको संस्थापक उपाध्यक्ष हुन्। यो विधामा उनी सक्रिय छन्। सेवामा मात्रै नभएर विभिन्न ठाउँमा पुगेर युरो गाइने तथा फिस्टुला सम्बन्धी विधाको विषयमा ज्ञान बाँड्नु डा. मोहनचन्द्रको दैनिकी हो। 

१२ फागुन, २०८०, २०:४२:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।