भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित भए राप्रपाका लुम्बिनी प्रदेशसभा सदस्य यादव

भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित भए राप्रपाका लुम्बिनी प्रदेशसभा सदस्य यादव

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य जानकी प्रसाद यादव निलम्बित भएका छन्।

यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेको प्रदेशसभाले जनाएको छ।

कपिलवस्तु क्षेत्र नम्बर ३ को ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका उनीविरुद्ध वन पैदावारमा हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले आज एक सूचना जारी गर्दै मुद्दाको अन्तिम किनारा नलाग्दा सम्मका लागि यादवलाई निलम्बित गरिएको जानकारी दिए। कपिलवस्तुस्थित गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले ठेकेदारसँगको मिलेमतोमा ३७ हजार क्यूफिट काठको २९ लाख १२ हजार एक सय ९३ रुपैयाँ ६५ पैसा गोलमाल गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फागुन ८ गते  मुद्दा दायर गरेकोले उक्त मुद्दाको किनारा नलाग्दासम्म स्वतः निलम्बन गरिएको सूचनामा उल्लेख छ।

यो पनि : राप्रपाको प्रदेश सांसदसहित १९ जनाविरुद्ध भ्रष्टाचारको अभियोग, विशेषमा अख्तियारको मुद्दा

आयोगले लुम्बिनी प्रदेशका प्रदेश सांसद यादवसहित समितिका तत्कालीन पदाधिकारी र ठेकेदारसहित १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

आर्थिक वर्ष २०७४/०७५ मा गौतमबुद्ध साझेदारी वनमा ६ वटा कटान प्लटहरूको ३७ हजार क्यूफिट काठ काटी निकाल्ने ठेक्का स्वीकृत गराई कर्मचारीहरूसँग मिलेमतो गरेर बिक्री गरेको अभियोग उनीहरूमाथि छ।

 लुम्बिनी प्रदेशका सांसद यादवको हकमा २९ लाख १२ हजार एक सय ९३ रुपैयाँ ६५ पैसा बिगो कायम गरी कैद सजायको माग दाबी गरिएको आरोप पत्रमा उल्लेख छ।

 

१२ फागुन, २०८०, १९:०२:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।