शिशु चोरी आरोपी महिलालाई उच्च रक्तस्राव, अस्पताल भर्ना

शिशु चोरी आरोपी महिलालाई उच्च रक्तस्राव, अस्पताल भर्ना

काठमाडौँ : काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट २६ दिने शिशु चोरेको आरोपमा पक्राउ परेकी  दैलेखकी मनकुमारी सिंह अस्पताल भर्ना भएकी छिन्। 

उच्च रक्तस्रावका कारण प्रहरीले उनलाई सिनामंगलस्थित केएमसी अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले बताए।

शुक्रवार दिउँसो २६ दिनको शिशु हराएपछि जिल्ला प्रहरी परिसर, काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयले क्लोज सर्किट (सिसी) क्यामरा फुटेज सङ्कलन गरेर अनुसन्धान गर्दा शुक्रवार राति १२ बजे प्रहरीले सिंहलाई काँडाघारीबाट पक्राउ गरी शिशुको उद्धार गरेको थियो ।

प्रहरीले सिंह, उनका पति र दिदीलाई नियन्त्रणमा लिएको थियो। प्रहरी नियन्त्रणमा रहेकै बेला उच्च रक्तस्राव भएपछि सिंहलाई अस्पताल भर्ना गरिएको हो। प्रहरीले शुक्रवार राति नै सम्बन्धित परिवारलाई बच्चा जिम्मा लगाइसकेको छ।

प्रहरीका अनुसार युवतीको केही दिन अगाडि मात्र गर्भपात भएको बताइएको छ। सोही कारण उच्च रक्तस्राव भएको हो।

उनले अस्पतालबाट बच्चा लिएर ट्याक्सीहुँदै गएको बाटोको सिसिटिभी पच्छ्याउँदा प्रहरी बच्चा भएको कोठासम्म पुगेको थियो।

प्रहरीले नियन्त्रणमा लिए पनि उनीमाथि कुन कानुन अनुसार कारबाही अगाडि बढाउने निर्णय गरिसकेको छैन।

फागुन १२, २०८० शनिबार १८:०६:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।