२९ करोडमा बनेको नेपालकै दोस्रो ठूलो झोलुङ्गे पुलको उद्घाटन

२९ करोडमा बनेको नेपालकै दोस्रो ठूलो झोलुङ्गे पुलको उद्घाटन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धनुषा-सिरहा जोड्ने कमला नदीमा बनेको झोलुङ्गे पुलको उद्घाटन गरेका छन्।

सिराहा नगरपालिका १३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका ६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल-मल्हनिया-मल्टिस्पान झोलुङ्गे पुलको प्रधानमन्त्री दाहालले शनिबार सिरहा पुगेर उद्घाटन गरेका हुन्।

झन्डै २९ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको उक्त पुल नेपालकै दोस्रो ठूलो झोलुङ्गे पुल भएको बताइएको छ।

पुल निर्माणका लागि २५ करोड ८० लाख नगद र कार्यालयबाट उपलब्ध गराइएको तीन करोड ५ लाख बराबरको लठ्ठा र बुल्डग ग्रिप्सको उपयोग गरिएको छ। सो झोलुङ्गे पुलको भारवहन क्षमता ५४० मेट्रिक टन (करिब ३८८६ पदयात्री) रहेको छ।

झोलुङ्गे पुलको चौडाइ चार फिट रहेकाले मानिस, चौपाया, साइकल र मोटरसाइकल पुलमाथि आउजाउ गर्न सक्नेछन्। झोलुङ्गे पुलको आयु लम्ब्याउन मोटरसाइकल तार्दा कम गतिमा वा डोर्याएर तार्न र टेम्पो तार्ने जस्ता कार्य नगर्न सस्पेन्सन बृज डिभिजनले अनुरोध गरेको छ।

१२ फागुन, २०८०, १४:५६:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।