जर्मनीमा गाँजालाई कानूनी बैधता, घरमा ५० ग्राम मात्र राख्न पाइने

एजेन्सी : जर्मनीले अप्रिल एक तारिखदेखि गाँजालाई बैधता दिने भएको छ। योसँगै जर्मन नागरिकहरूले सार्वजनिक स्थलमै गाँजा सेवन गर्न पनि पाउने छन्।
जर्मनीले गाँजाको प्रयोगलाई बैधता दिए पनि प्रयोगका केही सर्तहरू भने राखिएका छन्। सार्वजनिक स्थलहरूमा २५ ग्राम र निजी घरमा ५० ग्रामसम्म मात्रै गाँजा राख्न पाइने छ।
कडा कानुनका कारण युवाहरू गाँजाको कुलतमा फस्न थालेपछि सरकारले नै यसलाई खुकुलो बनाएको त्यहाँका स्वास्थ्यमन्त्री कार्ल लाउटरबाकले बताएका छन्। उनले गाँजाले बैधता पाए पनि देशमा गाँजा क्याफे भने खोल्न नदिने बताए।
सरकारले गाँजालाई बैधता दिने निर्णय गरेसँगै विपक्षीहरूले भने त्यसको विरोध गरेका छन्। उनीहरूले लागूपदार्थ प्रयोगलाई सरकारले नै प्रोत्साहन गरेको आरोप लगाएका छन्।
विपक्षी कन्जरभेटिभहरूले अर्को वर्ष सरकारमा आएमा यो कानुनलाई पूर्ण रूपमा खारेज गर्ने बताएका छन्।
फागुन १२, २०८० शनिबार १४:२५:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।