प्रतिपक्षीलाई प्रचण्डको आग्रह- ‘बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गर्दैछु, राजनीतिक संस्कार देखाउनुस्’

प्रतिपक्षीलाई प्रचण्डको आग्रह- ‘बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गर्दैछु, राजनीतिक संस्कार देखाउनुस्’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाको छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदन आफूले अध्ययन गरिरहेको बताएका छन्।

शनिबार बिहान सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले बालकुमारी घटनाको प्रतिवेदन आफूले प्राप्त गरिसकेको र अध्ययनकै क्रममा रहेको जानकारी गराएका हुन्।

दाहालले भने, ‘बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेर निर्णय गरिन्छ। आयोग बनाएर छानबिन गर्ने निर्णय सरकारकै हो। प्रतिवेदन अध्ययनको प्रक्रियामा छ। अध्ययनपश्चात् आवश्यक निष्कर्षमा पुग्छौं।’

बालकुमारी घटनामा छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा बहालवाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालगायतका अधिकारीहरू दोषी पाइएको बताइएको छ।

बालकुमारी घटनाको प्रतिवेदनको क्षेत्राधिकार सरकारको भएको भन्दै प्रधानमन्त्री दाहालले प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्ने टिप्पणी गरे।

‘यो सरकारको क्षेत्राधिकार हो। प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्छ’, प्रधानमन्त्री दाहालले भनेका छन्।

गत पुस १३ मा ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयमा विवाद हुँदा भएको प्रदर्शनमा प्रहरीले गोली चलाएपछि अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो।

दुई युवाको ज्यान जानेगरी भएको घटनाको प्रधानमन्त्री दाहालले नै निष्पक्ष छानबिन गराउने प्रतिबद्धता संसदको रोस्टममा उभिएर गरेका थिए।

तर, छानबिन समितिले दोषी किटान गरेरै प्रतिवेदन बुझाउँदा पनि सरकारले दोषीलाई कारबाही गरेको छैन। प्रतिपक्षी दल लगायतले लगातार दोषीलाई कारबाहीको माग गर्दै सदन प्रधानमन्त्रीको जवाफ मागिरहेका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोलेका अधिकांश सांसदहरुले बालकुमारी घटनाका दोषीलाई कारबाहीको माग गर्दै सरकारको जवाफ मागेका थिए। विशेषगरी प्रतिपक्षी दल एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र सांसदहरूले लगातार मन्त्रीको राजीनामा मागेका छन्।

संसदीय दलको बैठकमा दाहालले आगामी मन्त्रिपरिषद् बैठकपछि सरकारको तर्फबाट संसदमा विधेयकहरू प्रस्तुत गर्ने तयारी गरेकाले प्रस्तुत विधेयकहरू पारित गराउन सांसदहरूलाई निर्देशन दिएका छन्।

फागुन १२, २०८० शनिबार ११:३५:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।