विवाह भएको तीन वर्षसम्म पनि बच्चा नभएपछि चोरिएको थियो शिशु, दम्पतीसहित तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं : थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शुक्रबार शिशु चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले गएराति काँडाघारीबाट चोरिएको २६ दिने शिशुलाई उद्धार गरेको हो।
शिशु लिएर जाने दैलेख नौमुले गाउँपालिका-१ घर भई काठमाडौं, काँडाघारी बस्ने २४ वर्षीया मनकुमारी सिंह, निजको श्रीमान् २८ वर्षीय नरेन्द्र मल्ल र निजको दिदी शारदा शाहीलाई कागेश्वरी मनोहरा नगरपालिका-९ काँडाघारीस्थित डेराबाट प्रहरीले शुक्रबार राती नै पक्राउ गरेको हो।
शुक्रबार दिउँसो प्रसूति गृहबाट काभ्रे, चौरीदेउराली गाउँपालिका-३ घर भई हाल काठमाडौंको कपन बस्दै आएकी सबिना श्रेष्ठको शिशु चोरी भएको घटना बाहिरिएको थियो।
मास्क लगाएको र रातो सल ओढेकी महिलाले जँचाउन आएकी महिलाको बच्चा समातेर सहयोग गर्ने बहानामा बच्चा लिएर भागेकी थिइन्। घटना लगत्तै क्लोज सर्किट (सीसी) क्यामरा फुटेजका आधारमा खोजीमा जुटेको प्रहरीले घटनामा संलग्नलाई काँडाघारीबाट पक्राउ गरेको हो।
विवाह भएको तीन वर्षसम्म बच्चा नभएपछि शिशु चोरी गर्ने योजना अनुसार नै उनीहरूले प्रसूति गृह गएर शिशु चोरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।
फागुन १२, २०८० शनिबार ०९:३८:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।