एपिएफ अस्पतालमा गम्भीर खेलबाड : 'बन्दुक बोक्ने' सिपाहीलाई एनेस्थेसियाको तालिम गराएर अस्पतालमा काम
काठमाडौँ : सशस्त्र प्रहरी बल (एपीएफ)अस्पताल नेतृत्वले स्वास्थ्यबारे सामान्य तालिम लिएकी सहायक हवलदारलाई नर्सिङ प्यारामेडिक्स हुन् भन्दै वीर अस्पतालको एनेस्थेसिया विभागमा तालिम गर्न पठाएको खुलेको छ।
नर्सिङ थर्ड ग्रेडको मात्रै तालिम लिएकी सशस्त्र प्रहरी सहायक हवलदार विमला श्रेष्ठलाई काठमाडौँको बलम्बुस्थित नेपाल सशस्त्र प्रहरी अस्पतालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा एनेस्थेसिया असिस्टेन्टको तालिम लिन पठाएको हो।
सुरक्षा सङ्गठनमा स्वास्थ्यका कर्मचारी नहुने हैनन्। सशस्त्रमा पनि छन्। तर एपिएफ अस्पतालले स्वास्थ्य सम्बन्धी तालिम लिन पठाएको विमला स्वास्थ्यतिरको नभई इन्फेन्ट्रितिरकी कर्मचारी हुन्।
उनले नर्सिङ थर्ड ग्रेडको मात्रै तालिम लिएकी हुन् जो स्वास्थ्यकर्मीको सूचीमा पर्दैन। तर अस्पताल प्रशासनले उनी स्वास्थ्यकर्मी हुन भनेर झुक्क्याउँदै वीरमा एनेस्थेसिया असिस्टेन्टको तालिम लिन पठाएर अस्पतालकै काममा लगाइरहेको छ।
उकेराको खोजमा पनि उनी स्वास्थ्यतर्फको प्राविधिक समूहमा नभई इन्फेन्ट्रीतर्फकी कर्मचारी भएको खुल्यो। उनको दायित्व स्वास्थ्य उपचारमा संलग्न हुने हैन। ‘तर, उनी सिपाहीका रूपमा काम नगरी काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा स्वास्थ्यतर्फको कर्मचारी सरह नै काम गरिरहेकी छिन्। उनको आइडी नम्बर ‘५३४१६’ रहेको समेत खुल्यो।
विमला स्वास्थ्यतर्फको प्राविधिक कर्मचारी नभएको सशस्त्र प्रहरी अस्पतालका निर्देशक डिआइजी डा. रूपक महर्जनले नै स्वीकार गरे।
शुक्रवार उकेरासँगको कुराकानीमा निर्देशक डा. महर्जनले वीर अस्पतालमा विमलालाई नर्सिङ प्यारामेडिक्सका रूपमा सिफारिस गरेर एनेस्थेसिया अब्जर्भरका रूपमा तालिम लिन पठाएको समेत स्वीकारे। गैर स्वास्थ्यकर्मीलाई स्वास्थ्यकर्मी भनेर अस्पतालमा संलग्न गराउनु गम्भीर हो।
वीर अस्पतालमा विमलालाई प्यारामेडिक्स नै भनेर तालिमका लागि सिफारिस गरिएको हो? भन्ने जिज्ञासामा निर्देशक डा. महर्जनले भने,‘प्यारामेडिक्स नै भनेर (सिफारिस) गरिएको हो।’ त्यसलाई करेक्सन गरिहाल्छौँ।’
डा महर्जनले लेटरमा नै बकाइदा अब्जर्भरसिप मात्रै लेखिएको तर्क गर्दै अब्जर्भरसिप भनेको हेर्ने मात्रै काम भएको दाबी गरे।
तर यस अगाडि सशस्त्र अस्पतालले स्वास्थ्यको प्राविधिक बाहिरबाट यस्तो तालिममा पठाउने नगरेको खुल्यो। उकेराको खोजमा स्वास्थ्य समूह बाहिरबाट यस्तो तालिम लिने विमला नै पहिलो भएको खुल्यो।
डा महर्जनले शुक्रवार अब्जर्भरको रूपमा पठाएको बारम्बार दोहोर्याए पनि केही दिन अघि उकेरासँगको कुराकानीमा विमलालाई ठ्याक्कै के भनेर वीर अस्पतालमा तालिमका लागि सिफारिस गरिएको हो भन्ने विषय याद नभए पनि ‘नर्सिङ प्यारामेडिक्स भन्न खोजेको जस्तो लाग्छ, नर्सिङ प्यारामेडिक्स हुन्छ, उहाँ (विमला)हरूको, नर्सिङ ग्रेडको तालिम गरेको हुन्छ’ भन्ने तर्क गरेका थिए।
विमला नर्सिङ थर्ड ग्रेडको तालिम लिएकी सिपाही भएको पनि निर्देशक डा. महर्जनले खुलाएका थिए। उनले विमला एपीएफको इन्फेन्ट्रीबाट नै आएको सिपाही भएको र प्राविधिक नभएको स्विकारेका थिए। उनले प्राविधिक नभए पनि अस्पतालमा तालिम दिने गरेको दाबी गरेका थिए।
सशस्त्र प्रहरी प्रवक्ता राजेन्द्र खड्काले सशस्त्र प्रहरी अस्पतालसँग बुझेर जानकारी दिने बताए। ‘यसबारे के रहेछ बुझेर एकिन जानकारी गराउँछु’,सशस्त्र प्रहरी प्रवक्ता खड्काले भने।
फौजमा नर्सिङ थर्ड ग्रेडको तालिम दिनु भने स्वाभाविकै हो। सशस्त्र प्रहरीका स्वास्थ्यतर्फका प्राविधिक बाहेकका सिपाहीलाई यस्तो तालिम दिइने अस्पतालका एक चिकित्सकले जानकारी दिए। तर, विमलाको सवालमा कुरा गर्दा फस्ट एडदेखि लिएर (सबै) तालिम गरेकाहरूलाई प्यारामेडिक्स भन्ने चलन रहेको निर्देशक डा. महर्जनले तर्क गरे।
सशस्त्रका एक उच्च तहका चिकित्सकका अनुसार गस्ती (पेट्रोलिङ्ग)मा जाँदा कुनै दुर्घटना भएर घाइते भएको खण्डमा नर्सिङ थर्ड ग्रेड तालिम लिएका सिपाहीले आकस्मिक रूपमा गर्नुपर्ने प्राथमिक उपचार गर्न सक्छन्। यस्तो तालिम लिएका सिपाहीले सामान्य किसिमको घाउमा मलमपट्टी लगाउनेदेखि अस्पतालसम्म पुर्याउन सहयोगीको भूमिका खेल्न सक्छन्।
तर, नर्सिङ थर्ड ग्रेड तालिम लिएका सिपाहीको आकस्मिक रूपमा गर्नुपर्ने यस्तो प्राथमिक उपचार बाहेकको थप उपचार सिप तथा ज्ञान नहुने जानकारले उकेरालाई बताए।
‘नर्सिङ थर्ड ग्रेडको तालिम दिनुको उद्देश्य नै गस्ती गर्दा गस्तीमा हिँडेका फौज (सशस्त्र प्रहरी)लाई कुनै चोटपटक लाग्यो भने सामान्य मलमपट्टी गर्न सकुन् भन्ने हो’,जानकारले भने।
नर्सिङ थर्ड ग्रेडपछि सेकेन्ड ग्रेड र फस्ट ग्रेडको तालिम लिने व्यवस्था हुन्छ। थर्ड ग्रेडपछिको सेकेन्ड र फस्ट ग्रेडको तालिम लिएका सिपाहीलाई भने ब्यारेक, कुनै दुर्घटना तथा विपत् भएको ठाउँमा उद्धार टोलिका रूपमा जाँदा मेडिकल टिमको सहयोगीका रूपमा खटाउन सकिन्छ। तर सहायक हवलदार विमलाले नर्सिङ थर्ड ग्रेडको मात्रै तालिम लिएकी प्राथमिक उपचारसम्म गर्न सक्ने क्षमता भएको कर्मचारी हुन्।
तर, विमलालाई सशस्त्र प्रहरी अस्पतालको नेतृत्वले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा एनेस्थेसिया असिस्टेन्ट (अब्जर्भर)को तालिम दिलाएर अस्पतालमा काम गराएको देखिन्छ।
उनलाई मंसिरतिर दुई महिनाको लागि एनेस्थेसिया अब्जर्भरको तालिम लिन वीरमा पठाएको देखिन्छ। वीरमा पठाउँदा ढाँट्दै
विमलाले प्यारामेडिक्स अध्ययन गरेकी स्वास्थ्यकर्मी हुन् भनिएको छ। तालिम लिएर उनी केही हप्ताअघि सशस्त्र अस्पताल फर्केर काम गर्न थालिसकेकी छन्।
एनेस्थेसियाको ज्ञान तथा सिप सिक्नु भनेकै शल्यक्रिया गर्नुपर्ने बिरामीलाई बेहोस बनाउनेदेखि लिएर व्यूँत्याउनेसम्मको संवेदनशील जिम्मेवारी हो। यस्तो संवेदनशील काममा सानो त्रुटीहुँदा पनि बिरामीको ज्यानै जान सक्छ।
यस्तो गम्भीर काम गर्न सशस्त्रले नर्सिङ थर्ड ग्रेडको मात्रै तालिम लिएकी र स्वास्थ्यतर्फको शैक्षिक तहको अध्ययनै नगरेकी सिपाहीलाई पठाएर अस्पतालमै राख्यो।
सामान्य ज्ञान तथा सिप सिकेको भरमा शल्यक्रिया गर्नुपर्ने बिरामीलाई एनेस्थेसियाको औषधी दिएर लट्ठाउने तथा बेहोस बनाउँदा बिरामीको ज्यान तलमाथि भए वा स्वास्थ्य जटिल भए त्यसको जिम्मा कसले लिने?
यो विषयमा वीर अस्पतालमा बुझ्दा सशस्त्र प्रहरी अस्पतालले सिपाही विमला श्रेष्ठलाई प्यारामेडिक्स भन्दै अस्पताललाई झुक्क्याएर एनेस्थेसिया असिस्टेन्ट (अब्जर्भर)को तालिम लिन सिफारिस गरेको पुष्टि भयो।
तर, सशस्त्र प्रहरी अस्पतालका निर्देशक महर्जने भने नझुक्क्याएको रट लगाइरहे। जानकारका अनुसार कसैलाई तालिममा पठाउन सशस्त्र प्रहरी अस्पतालका निर्देशकको स्वीकृति आवश्यक पर्छ।
सामान्यतया सशस्त्र प्रहरी अस्पतालको सम्बन्धित विभागका प्रमुखको सिफारिसपछि प्रशासनिक प्रक्रिया पूरा गरी अस्पतालका निर्देशकको स्वीकृति लिएर मात्रै चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारीले अन्यत्र तालिम तथा अध्ययनका लागि जान पाउँछन्।
विमलाको हकमा सशस्त्र प्रहरी अस्पतालका एनेस्थेसिया विभागका प्रमुख एसएसपी डा. सुरेन्द्रमान श्रेष्ठले सहायक हवलदार विमलालाई एनेस्थेसिया असिस्टेन्ट (अब्जर्भर)को तालिम लिन पठाउन सिफारिस गरेको देखिन्छ।
सुरेन्द्रमानले तालिमका लागि सिफारिस गरेपछि निर्देशक डिआइजी डा. रूपक महर्जनले विमलालाई एनेस्थेसिया असिस्टेन्ट (अब्जर्भर)को तालिमका लागि वीरमा पठाउन स्वीकृत गरेको देखिन्छ।
नियम विपरीत काम, गम्भीर खेलबाड
सशस्त्र प्रहरी अस्पतालमा अप्रेसन (ओटी) सेवा, पोस्ट अप्रेटिभ वार्ड, आइसियु, क्रिटिकल केयर सेवा विस्तारको लागि थप जनशक्ति आवश्यक परेको भन्दै गैर प्राविधिकलाई तालिममा लागि पठाएको खुल्यो।
सशस्त्र प्रहरी अस्पतालमा स्वास्थ्यतर्फका चिकित्सक तथा नर्स नभएका होइनन्। यदि अप्रेसन (ओटी) सेवा, पोस्ट अप्रेटिभ वार्ड, आइसियु, क्रिटिकल केयरजस्ता सेवा विस्तारको लागि थप जनशक्ति आवश्यक परेमा स्वास्थ्यतर्फका कर्मचारीलाई एनेस्थेसिया सम्बन्धी तालिमका लागि पठाउन सकिन्थ्यो। तर पठाइएन।
विमलालाई तालिम गराउनुको उद्देश्य उनलाई अस्पतालमा एनेस्थेसिया सम्बन्धी प्रक्रियामा संलग्न गराउने नै देखिन्छ।
अस्पतालका निर्देशक डा. महर्जनले ‘(विमलाले लिएको)सानो ट्रेनिङ हो, त्यस्तो ठुलो ट्रेनिङ हैन’ भनिरहे।
उनले नर्सिङ ग्रेड गरिसकेपछि उनी (विमला) जस्ताहरूलाई सम्बन्धित विषयमा हेल्परकै रूपमा काम गराउन हस्पिटलहरूमा ट्रेनिङ पठाउने गरेको उनको तर्क छ।
‘सबै क्षेत्रमा स्टाफ नर्स, एच ए लिन सकिँदैन, म्यानपावर हुँदैन,’डा. महर्जनले भने,‘अनि हाम्रो अस्पतालमा पनि हेल्परको रूपमा काम गराउन उनीहरूलाई हामीले ट्रेनिङ दिन्छौ। प्राविधिक हैन उहाँहरू(विमला)।’
कुराकानीमा उनले एनेस्थेसिया असिस्टेन्टको कोर्स लामो हुने भन्दै विमलालाई हेल्परका रूपमा काम गराउनलाई पठाएको र त्यहाँ अब्जर्भेसन मात्रै गर्ने जिम्मेवारी हुने दाबी गरिरहे।
विमला स्वास्थ्यको प्राविधिकतर्फकी कर्मचारी नभएकाले उनको विज्ञता नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता हुँदैन। यस्तो अवस्थामा उनले प्यारामेडिक्सको मान्यता पाउन सक्दिनन्।
महर्जनले ‘फौजमा गणहरूमा ब्लड प्रेसर नाप्ने, सानो–सानो औषधी दिन हरेकलाई एक वर्षको कोर्ष गराउने गरेको र अस्पतालमा नर्सिङ थर्ड ग्रेड भन्ने गरेको' खुलाएकाले विमलाले लिएको तालिम आकस्मिक अवस्थामा सामान्य स्वास्थ्यसम्बन्धी मात्र ज्ञान भएको पुष्टि हुन्छ।
नर्सिङ थर्डग्रेड तालिम लिएका स्वास्थ्य गैर प्राविधिक तर्फका कर्मचारी नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल नर्सिङ परिषद् र नेपाल मेडिकल काउन्सिल जस्ता काउन्सिलहरूमा दर्ता समेत हुँदैनन्। ती आन्तरिक मात्रै हुन्।
यस्तो तालिम लिएका नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता नहुने निर्देशक डा. महर्जनले नै स्विकारे।
‘हामीले (नर्सिङ थर्ड ग्रेडको तालिम लिने सिपाहीलाई) सर्टिफिकेटचाहिँ दिएको हुन्छ। प्यारामेडिक्स उस (नेपाल स्वास्थ्य व्यवसायी परिषद्)मा रजिस्ट्रेसन चाहिँ हुँदैन,’डा. महर्जनले भने।
प्यारामेडिक्सका रूपमा दर्ता नै नभएको कर्मचारीलाई प्यारामेडिक्स भन्न मिल्छ र? भन्ने जिज्ञासामा निर्देशक डा. महर्जनले भने,प्यारामेडिक्स भनेको हेल्परको रूपमा लिइन्छ। उनीहरू(विमला)लाई चाहिँ प्यारामेडिक्स भनेर त्यो ठ्याक्कै प्यारामेडिक्सचाहीँ हुँदैन।’
प्यारामेडिक्स नभएकालाई किन प्यारामेडिक्स भनेर सिफारिस गरेर वीरमा अध्ययनका लागि पठाएको त भन्ने जिज्ञासामा डा. महर्जनले ‘हेल्परका रूपमा सानो ट्रेनिङमा पठाएको’ दाबी मात्र गरिरहे। उनीसँग अन्य तर्क थिएन।
उनले विमला वीरमा एनेस्थेसिया (एसिस्टेण्ट-अब्जरभर)को तालिममा जानु अगाडि अस्पतालको एनेस्थेसिया विभागमा बसेर काम गरेको समेत पुष्टि गरे।
उनले एनेस्थेसियामा बसेर सहयोग गरेकाले एक हप्ता, दश दिन यसो हेरेर आउँ भनेर मात्रै पठाएको तर्क गरे। तर उनले वीरमा दुई महिना तालिम लिइन्।
एनेस्थेसिया अब्जर्भरको रूपमा तालिम लिएका गैर स्वास्थ्य तर्फका कर्मचारीले अस्पतालको एनेस्थेसिया, शल्यक्रिया जस्ता विभागमा काम गर्दा यस्ता जनशक्तिकै कारण नजाने बिरामीको स्वास्थ्यमा कुनै समस्या निम्तिए वा कानुनी प्रश्न उब्जिए त्यसको जिम्मेवारी कसले लिन्छ भन्ने प्रश्नमा निर्देशक डा. महर्जनसँग प्रस्ट जवाफ थिएन।
सशस्त्र अस्पतालको नेतृत्वले बदमासी गर्यो नै यता वीर अस्पताले पनि गैर प्राविधिक व्यक्तिलाई एनेस्थेसिया जस्तो संवेदनशील ठाउँमा स्वास्थ्यकर्मीको रूपमा दुई महिना काम लगायो।
यो कसको क्षेत्राधिकार भित्र पर्छ?
काउन्सिलहरूमा दर्ता नै नभएको स्वास्थ्यकर्मीको विषयमा कसले निगरानी गर्ने? उकेराले सम्बन्धित व्यक्तिहरूसँग जानकारी लिँदा प्रस्ट जवाफ आएन।
सशस्त्र अस्पतालबारे नेपाल मेडिकल काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद् (एनएचपिसी) र नेपाल नर्सिङ परिषद्मा उजुरी समेत परिसकेको छ। विमलाबारे परेको उजुरीमा के हुन्छ?
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुसालले उजुरी चिकित्सकको विषयमा नभएकाले यो विषयको खोजबिन तथा कारबाहीको प्रक्रिया अगाडी बढाउन काउन्सिलको क्षेत्राधिकारमा नपर्ने तर्क गरे।
‘यो मेडिकल काउन्सिलको जुरिडिक्सनमा पनि पर्दैन। उनीहरू (सशस्त्र अस्पताल)ले पारामेडिक्सलाई (तालिममा)पठाएको भए राम्रो हुन्थ्यो,’अध्यक्ष डा. भुसालले भने,‘यसको न कोर्स छ, न अथेन्टिसिटी छ। केही पनि भएन भनिसकेपछि त प्रशासनले किन पठायो भनेर उनीहरूलाई नै प्रश्न गर्नुपर्ने हुन्छ।’
डाक्टरको निगरानीमा विमलालाई काम गराएको उजुरी परेको खण्डमा काउन्सिलले त्यस्तो चिकित्सकलाई सोध्न सक्ने उनले बताए।
‘फलानो डाक्टरले काम किन गरायो भनेर उजुरी आयो भने डाक्टरको विरुद्धमा हामी जान्छौँ,’उनले भने,‘तर, प्रशासनले के गर्यो भने प्रशासनको विरुद्धमा हामी खोजीनिती गर्दैनौँ। त्यो आफ्नो जुरीडिक्शनमा पर्दैन।’
उता चिकित्सक, नर्स, फार्मेसी र आयुर्वेद बाहेकका स्वास्थ्यतर्फका प्राविधिक कर्मचारीहरूको दर्ता तथा नियमन गर्ने काम नेपाल स्वास्थ्य व्यवसायी परिषद्को क्षेत्राधिकार भित्र पर्ने नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिस्ट्रार लीलानाथ भण्डारीले जानकारी दिए।
‘यो विषयमा हाम्रोमा पनि उजुरी परेको छ,’उनले भने,‘तर, अन्य काउन्सिलमा दर्ता भएको छ छैन भन्ने विषय समेत खोज्नुपर्ने हुन्छ। हाम्रोमा दर्ता छ छैन भन्ने हामी हेर्छौँ, अनि प्रक्रिया अगाडी बढाउँछौ।’
फागुन ११, २०८० शुक्रबार २२:३२:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।