फिल्म रङेली 'ग्याङस् अफ वासेपुर'को नेपाली भर्सन अनि दया र मिरुना फैजल र मोहसिना नै हुन् त !

फिल्म रङेली 'ग्याङस् अफ वासेपुर'को नेपाली भर्सन अनि दया र मिरुना फैजल र मोहसिना नै हुन् त !

काठमाडौँ : कोइला माफियाको बारेमा बनेको हिन्दी फिल्म ग्याङग्स अफ वासेपुरलाई सम्झाउने गरी अहिले एक नेपाली फिल्मको ट्रेलर आएको छ।

फिल्मको ट्रेलरमा समेटिएका क्यारेक्टरले मात्र ‘ग्याङ अफ वासेपुर’को झल्को दिएको हैन, सार्वजनिक भएका दुई गीतमध्ये एक गीतको छायाङ्कनको विषय अनि गायकको भूमिका पनि उस्तै रहेकाले पनि कतै यो ग्याङअफ वासेपुरको नेपाल भर्सन त हैन भन्ने शङ्का बढाएको छ।

प्रसङ्ग हो फिल्म रंगेलीको। त्यसमा मुख्य कलाकारहरू छन् दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, रुपेश झा, सुन्दर धिताल, सन्तोष सरकार, प्रवीण खतिवडा अनि विजय बराल। निर्देशक हुन् अर्जुन सुवेदी।

फिल्मको कथा अपराधमा केन्द्रित देखिन्छ। रंगेलीमा कब्जा जमाएर लागु औषधको धन्दामा पकड जमाउन विभिन्न आपराधिक समूहका नाइकेबीच हुने प्रतिस्पर्धा नै यसको मूल कथा हो भन्न पुरै फिल्म कुरिरहनु पर्दैन। ट्रेलरै काफी छ।

दयाहाङ जमेका आपराधिक समूहलाई चुनौती दिँदै रंगेलीमा आफ्नो राज चलाउन खोज्छन्। पहिल्यै राज चलाएका अर्पण थापा, रुपेश झा लगायतकासँग उनको टक्कर सुरु हुन्छ। अनि यही प्रतिस्पर्धाबाट सुरु हुन्छ ग्याङ वार।

मिरुना दयाहाङको प्रेमीका छिन् जसलाई उनी अपराधमा संलग्न भएको मन पर्दैन। उनी दयालाई अपराधको दुनियाँबाट बाहिर निकाल्ने प्रयास गर्छिन्। तर दया पैसा नै सबै शक्ति हो भनेर अपराधबाट बाहिर निस्कन मान्दिनन्।

उता ग्याङस् अफ वासेपुर कोइला तस्करीमा कब्जा जमाउन सुल्तान बनेका पङ्कज त्रिपाठी र सहिद खानबिचको प्रतिस्पर्धाबाट सुरु भएको ग्याङ वारमा केन्द्रित छ। सहिदका छोरा सरदार खान बनेका छन् मनोज बाजपेयी। अनि आफ्नो पकड जमाउन चाहने पात्र फैजल खान बनेका छन् नवाजुद्दिन सिद्धिकी। फैजलकी प्रेमिका मोहसिना बनेकी छिन् हुमा कुरैसी।

ट्रेलर हेर्दा फैजल अनि मोहिसिनाको क्यारेक्टर दयाहाङ र मिरुनासँग मिल्दोजुल्दो देखिन्छ। उता अर्पण र रुपेशको क्यारेक्टर कतै मनोज बाजपेयी र पङ्कज जस्तै जस्तै देखिन्छ।

रंगेलीमा दयाहाङको फरक चरित्र देखिएको छ। विषय पनि फरक समातेर निर्देशकले फिल्म निर्माणको प्रयास गरेको झल्को ट्रेलरले दिएको छ। ट्रेलरले दर्शकको ध्यान तानेको पनि छ।

तर चोरीको कथा त हैन भन्ने शङ्का व्यापक बढाएको छ। ट्रेलरमा देखिएका क्यारेक्टर अनि कथा अपराध र ग्याङ वार भएर मात्रै हैन।

फिल्म प्रमोसनमा लागि निर्माण टिमले सार्वजनिक गरेको दुई गीतमध्ये दुल्हा-दुल्हन बोलको गीतको शैली अनि छायाङ्कनको कथा पृष्ठभूमिले शङ्कालाई थप बलियो बनाएको छ।

ग्याङ्स अफ वासेपुरमा अर्केस्ट्रा गायकको भूमिकामा छन् यसपाल शर्मा। उनको पेसा विवाह लगायतका कार्यक्रममा गीत गाउने। उनी महिला अनि पुरुष दुवैको स्वरमा गीत गाउने कलाकारको भूमिकामा छन् फिल्ममा। उनले एक विवाह समारोहमा ‘सलामे इश्क मेरी जान जरा कबुल कर लो’ बोलको गीत केटी र केटाको स्वरमा गाउँछन्।

रंगेलीमा दयाहाङ अनि मिरुनाको विवाहको बेला पारेर गीत राखिएको छ दुल्हा र दुल्हन बोलको गीत। गायक बनेका छन् विजय बराल।

अब एक सिक्वेन्सको पात्र र चरित्र त नछाडिएको फिल्मको अन्य चरित्रहरू पनि ठ्याक्कै मिल्दैन भनेर कसरी भन्ने। त्यसैले ट्रेलर अनि गीतले फिल्म ‘रङेली’ ग्याङ्स अफ वासेपुरको नेपाली भर्सन हुनसक्ने सम्भावना बलियो देखिन्छ।

फागुन ११, २०८० शुक्रबार १७:१०:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।