कांग्रेस सांसद इन्द्र बानियाँले ३३ करोडको पुलको ठेक्का अलपत्र पारे, ठाउँ-ठाउँमा तस्बिरसहितको ब्यानर

कांग्रेस सांसद इन्द्र बानियाँले ३३ करोडको पुलको ठेक्का अलपत्र पारे, ठाउँ-ठाउँमा तस्बिरसहितको ब्यानर

मकवानपुर : मकवानपुरको मनहरीमा रहेको पुलको ठेकेदार हुन् नेपाली कांग्रेसका प्रदेश सांसद इन्द्रबहादुर बानियाँ। उनले निर्माणको ठेक्का लिए पनि मनहरिमा पुल निर्माणको काम सक्काएका छैनन्। बागमती प्रदेश सभा सदस्य रहेका बानियाँसहितका ठेकेदारहरूले पुल नबनाउँदा हैरान भएका स्थानीय अन्तमा उनीसहितको फोटोहरू ब्यानरमा राखेर विरोध प्रदर्शनमा उत्रिए।

शुक्रवार उनीहरूले बानियाँसहितका ठेकेदारको तस्बिर सहित’ माननीय ठेकदार इन्द्र बानियाँज्यू यो पुल कहिले बन्छ?’ लेखेर ठाउँ-ठाउँमा ब्यानर राखेका छन्।

 मनहरी गाउँपालिकाले ३३ करोडमा ५ वटा पुल बनाउने सम्झौता गरेको थियो। पाँच पुलमध्ये चार वटाको ठेक्का बानियाँ सञ्चालक रहेका हिराचन बानियाँ जेभी र एउटा पुलको निर्माणको ठेक्का भैरवनारायण जेभीले पाएको थियो।

पुल निर्माणको ठेक्का बानियाँको कम्पनीले लिए पनि विभिन्न बहाना बनाउँदै पुल निर्माणको काम सक्काएका छैनन्। उनीहरूले अर्का ठेकेदार शिव चौलागाईँको तस्बिरसहितको ब्यानर समेत टाँसेका छन्।

मकवानपुरको मनहरी गाउँपालिकामा एकपछि अर्को अनियमितताका विषयमा पाँच राजनीतिक दलहरूले ध्यानाकर्षण गराए पनि पालिकाले कुनै चासो नदेखाएकाले ठेकेदारको फोटोसहित एमालेसहित पाँच दलका प्रतिनिधि विरोधमा उत्रिएका हुन्।

मनहरी गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधीहरुको मिलेमतोमा नदीजन्य पदार्थमा गरिएको राजश्व छुटलगायतका विषयमा पाँच दलका नेताहरूले संयुक्त हस्ताक्षर गरेर गाउँपालिकाको ध्यानाकर्षण गराएका थिए।

११ फागुन, २०८०, १७:०६:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।