काँकडभिट्टाबाट तीन महिनामा ६९ अर्बको कृषि उपज निकासी, चिया मात्र एक अर्ब ६६ करोडको निकासी भयो

काँकडभिट्टाबाट तीन महिनामा ६९ अर्बको कृषि उपज निकासी, चिया मात्र एक अर्ब ६६ करोडको निकासी भयो

विराटनगर : तीन महिनाको अवधिमा पूर्वी नाकाबाट तीन अर्ब ६९ करोड बढीको कृषि उपज निकासी भएको छ। झापाको काँकडभिट्टा नाकाबाट कृषिजन्य वस्तु, जडीबुटीलगायतका २५ हजार ४० मेट्रिक टन सामग्री निकासी भएको हो।

प्लान्ट क्वारेनटाइन कार्यालय काँकडभिट्टाका अनुसार कृषि उपजसहितका वस्तु मुख्य रूपमा भारत, बङ्गलादेशलगायत देशमा निकासी भएका हुन्।

उल्लेखित परिमाणमध्ये सबैभन्दा बढी चिया निकासी भएको देखिन्छ। कात्तिकदेखि पुससम्मको अवधिमा एक अर्ब ६६ करोड आठ लाख रुपैयाँको दुई हजार ७६८ मेट्रिक टन चिया निर्यात भएको कार्यालयले जनाएको छ।

यसबाहेक अलैँची, अम्लिसो, प्लाइउड र अदुवाजस्ता सामग्री निकासी भएको हो। यो अवधिमा ९८ करोड ९६ लाखभन्दा बढीको अलैँची निकासी भएको छ। ५३ करोड १२ लाख ६५ हजारको १५ हजार मेट्रिक टनभन्दा बढी प्लाइउड निकासी भएको छ।

३० करोड ४६ लाख ४० हजारको दुई हजार ३८० मेट्रिक टन अदुवा र १३ करोड ८१ लाख २० हजारको एक हजार १५१ मेट्रिक टन अम्लिसो निकासी भएको तथ्याङ्क छ।

एक करोड ७२ लाख ६२ हजारको १२६ मेट्रिक टन मुसुरो दाल, २० लाख ४८ हजारको १२८ मेट्रिक टन बन्दाकोबी र २९ हजारको दुई मेट्रिक टन मूला भारत निर्यात भएको उक्त कार्यालयले जनाएको छ।

तीन महिनामा उल्लेख्य जडीबुटी निकासी भएको देखिन्छ। सो अवधिमा ९४ लाखको ४७ मेट्रिक टन चिराइतो, एक लाख बराबरको एक मेट्रिक टन पिपला, दुई लाख ९५ हजारको अढाई मेट्रिक टन अमला निकासी भएको छ।

दुई लाख ५० हजारको दुई मेट्रिक टन मजिटो, एक लाख ९८ हजारको दुई मेट्रिक टन सुगन्ध कोकिल, तीन लाख ५० हजारको १० मेट्रिक टन धूपी, ६ लाख ९० हजार ६ मेट्रिक टन पदमचाल र ३९ हजारको एक मेट्रिक टन चुत्रो निर्यात भएको क्वारेन्टिाइन कार्यालयले जनाएको छ।

फागुन ११, २०८० शुक्रबार १४:०७:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।