होहल्लाका बीच १५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित

होहल्लाका बीच १५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं : विपक्षी दलका सांसदहरूले अवरुद्ध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

एमाले र राप्रपाका सांसदहरूले संसद अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

नेपाली कांग्रेसको सांसद राजेन्द्रकुमार श्रेष्ठले संसदमा विपक्ष दलले नाटक मञ्चन गरेको भन्ने टिप्पणी गरेपछि प्रतिनिधि सभाको बैठकमा होहल्ला भएको थियो।

प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा उनले भनेका थिए, ‘राजेन्द्र कुमार केसी हिजो राजनीतिक दल सम्बन्धी विधेयक प्रस्तुत गर्ने बेलामा गणपूरक पुग्छ भनेर प्रतिपक्षका सांसद बाहिर जानूभयो। प्रतिपक्षको अनौठो नाटक मञ्चन देखियो। एक वर्षमा एउटा मात्रै विधेयक पेस गर्यो भनेर आलोचना गर्नुहुन्छ।’

त्यसपछि एमालेसहित विपक्ष दलका सांसदहरूले आपत्ति जनाए। सभामुखले बोल्न रोक्न खोजेका थिए। तर, सांसद केसीलाई सभामुखले रोक्न खोजेपछि सत्तापक्षका सांसदहरूले पनि उठेर विरोध जनाएका थिए। होहल्लाकाबीच सांसद केसीले बोलेका थिए।

त्यसपछि एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारको कामप्रति प्रश्न उठाएपछि सत्तापक्षको सांसदहरू लगाएर विपक्षमाथि हिलो छ्याप्ने काम भएको टिप्पणी गरेका थिए।

उनले भनेका थिए, ‘बहुमतको सरकार हो भने आफूले संसद्मा पेस गरेको विधेयक पास गर्नसक्ने क्षमता नभए नैतिक रूपमा राजीनामा दिनुपर्छ।’

फागुन ११, २०८० शुक्रबार १२:१९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।