परीक्षाको मुखैमा विद्यालय नजिक महोत्सव चल्ने भएपछि अदालतमा रिट

परीक्षाको मुखैमा विद्यालय नजिक महोत्सव चल्ने भएपछि अदालतमा रिट

सुर्खेत : यही फागुन १४ गतेदेखि २२ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन हुने तेस्रो ‘कर्णाली एक्सपो २०८०’ ले विद्यालयको पठनपाठनमा अवरुद्ध हुने भन्दै अदालतमा रिट दायर गरिएको छ।

बाल मन्दिर प्राथमिक विद्यालयको १० मिटर नजिक रहेको मैदानमा महोत्सव चल्ने भएपछि पढाइ अवरोध हुने भन्दै बिहीबार अधिवक्ता प्रकाशबावु ऐडीले उच्च अदालत सुर्खेतमा रिट दायर गरेका हुन्।

वार्षिक परीक्षा आउन करिब तीन हप्ता बाँकी रहँदा छेवैमा महोत्सव चलेपछि विद्यार्थीको स्वच्छ र शान्त वातावरणमा अध्ययन गर्न पाउने अधिकार हनन हुने भएकोले उपयुक्त स्थानमा महोत्सव सञ्चालन गर्ने आदेशको मागसहित रिट दायर गरिएको अधिवक्ता ऐडीले बताए।

‘अब चैत १ गतेदेखि विद्यार्थीको वार्षिक परीक्षा छ। त्यहीँ नजिक ९ दिनसम्म मेला चल्दा उनीहरूको अध्ययन, अध्यापन प्रभावित हुन्छ,’ उनले भने, ‘त्यसैले विद्यार्थीको स्वच्छ र शान्त वातावरणमा पढ्न पाउने अधिकारको रक्षाका लागि रिट दायर गरिएको हो।’

अधिवक्ता ऐडीले वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, सुर्खेत उपत्यका नगर विकास समिति र उद्योग वाणिज्य संघ सुर्खेतलाई विपक्षी बनाई अन्तरिम आदेशसहितको निषेधाज्ञा माग गरेका छन्। उक्त रिटमा शुक्रबार सुनुवाइ हुँदैछ।

रिटमा मेला संचालनका लागि वीरेन्द्रनगरकै खुला मञ्च, जिल्ला प्रशासन कार्यालयको दक्षिण तर्फको खुल्ला मैदान, कालुन्चोकमा रहेको खेल मैदान, बुलबुले उद्यान लगायतका स्थानहरूको विकल्प समेत दिइएको छ।

पटकपटक यहाँ मेला नलगाउन नगरपालिकासँग अनुरोध गर्दा पनि बेवास्ता गरेर मेला लगाउने गरेको विद्यालयका प्रधानाध्यापक महेन्द्र विसीले गुनासो गरे।

‘महोत्सव लगाउँदा विद्यालयमा पढाइ प्रभावित हुन्छ भन्ने विषयमा बारम्बार नगरलाई अनुरोध गरेका थियौं,’ उनले भने, ‘बालबालिकाको पढाइभन्दा नगरलाई महोत्सव ठूलो लाग्यो। दुई पटकसम्म महोत्सव लगाउँदा विद्यालय नै बन्द गरेका थियौं।’

महोत्सव सञ्चालन गर्ने स्थानको विकल्प खोजी बालबालिकाको पठनपाठनमा सहज बनाइदिन प्रधानाध्यापक विसीले नगरपालिकालाई अनुरोध गरे। प्रधानाध्यापक विसीका अनुसार उक्त विद्यालयमा कक्षा एकदेखि पाँचसम्म अध्ययन गर्ने १ सय १० जना बालबालिका रहेका छन्।

विवादै विवादमा महोत्सव

यसअघि पनि महोत्सव विवादको विषय अदालतमा पुगेको थियो। सुर्खेत उद्योग वाणिज्य संघले बढी कबोल गर्ने कम्पनीलाई ठेक्का नदिएर कम कबोल गर्ने कम्पनीलाई सेटिङ्ग मिलाएर महोत्सवको ठेक्का दिएको भन्दै माघ ९ उच्च अदालत सुर्खेतमा रिट दर्ता भएको थियो।

१० गते रिटमाथि सुनुवाइ हुँदै एक हप्ताको छलफल पेसी दिइएको थियो। १७ गते अदालतले अन्तरिम आदेश नदिएपछि मेला सञ्चालनका लागि तयारी थालिएको थियो। 

वीरेन्द्रनगर नगरपालिकाले आफैंले बनाएको कार्यविधि मिचेर महोत्सव सञ्चालनको स्वीकृति दिएको भन्दै चौतर्फी विरोध हुने गरेको छ। नगरपालिकाले मेला महोत्सव व्यवस्थापन कार्यविधि, २०७५ को विपरीत स्वीकृति दिएको भन्दै असन्तुष्ट पक्षले आवाज उठाउँदै आएका छन्।

परिच्छेद २ (२) मा मूल्याङ्कन समितिको सिफारिसका आधारमा महोत्सव व्यवस्थापन समितिले कम्तिमा ‘तीन आर्थिक वर्षसम्म एउटा संस्था मुल आयोजकमा नदोहोरिने गरि तोकेबमोजिम शर्त राखेर मेला महोत्सव सञ्चालन अनुमति दिइने’ उल्लेख छ। कार्यविधिमा भएको यो व्यवस्था अनुसार आर्थिक २०७५/०७६ मा चेम्बर अफ कमर्स सुर्खेत, २०७६/०७७ मा सुर्खेत उद्योग वाणिज्य संघ मुल आयोजक भएर महोत्सव सञ्चालन गरिसकेका छन्।

आर्थिक बर्ष २०७७/०७८ र २०७८/०७९ मा कोभिड महामारीका कारण महोत्सव सञ्चालन गर्ने अवस्था थिएन। २०७९/०८० मा घरेलु तथा साना उद्योग महासंघ मुल आयोजक भएर महोत्सव सञ्चालन गरिसकेका छन्।

कार्यविधिका आधारमा यो आर्थिक बर्ष प्रदेश उद्योग वाणिज्य महासंघ कर्णालीले मुल आयोजकका रुपमा महोत्सव सञ्चालन गर्न पाउनुपर्ने दावी गरेको थियो। पछि यो अडानबाट महासंघ पछि हट्दै सुर्खेत उद्योग वाणिज्य संघलाई नै सहमति दिएको थियो।

१० फागुन, २०८०, २१:०६:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।