सन्दीप लामिछाने पुनरावेदनका लागि उच्च अदालतमा, के भन्छन् उनका वकिल?

सन्दीप लामिछाने पुनरावेदनका लागि उच्च अदालतमा, के भन्छन् उनका वकिल?

काठमाडौं : बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्व उच्च अदालत पाटनमा पुनरावेदन गरेका छन्।

उनी बिहीबार निवेदन दर्ताका लागि आफ्नो कानुनव्यवसायीसहित उच्च अदालत पुगेका थिए।

जिल्ला अदालत काठमाडौंले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै आठ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना सुनाइएको थियो। जिल्ला अदालतको उक्त फैसला चित्त नबुझेको भन्दै उनले पुनरावेदन गरेका हुन्।

पुनरावेदनको फैसला नआउञ्जेल भने उनी जेल बस्नुपर्ने छैन।

यता, पुनरावेदन दिएपछि क्रिकेटर लामिछानेका वकिल सरोजकृष्ण घिमिरेले उच्च अदालतबाट न्याय पाउने कुरामा आफूहरू विश्वस्त रहेको बताएका छन्।

पुनरावेदन दर्तापछि सन्दीपका वकिल घिमिरेले जिल्ला अदालतबाट भएको फैसलाका आधारहरू तथ्यबाट पुष्टि हुन नसक्ने दाबी गरेका हुन्। उनले जिल्ला अदालतबाट अनुमानको भरमा फैसला आएकाले सन्दीप निर्दोष रहेको कुरामा आफूहरू विश्वस्त रहेको बताए।

'काठमाडौं जिल्ला अदालतको फैसलामा हामीलाई चित्त नबुझेको हो। आज सन्दीप लामिछानेसहित सम्मानित उच्च अदालतमा पुनरावेदन गरेका छौँ। जिल्ला अदालतले आफ्नो फैसला गर्दा जुन तथ्यमा आधारित रहेर फैसला गर्यो, त्यो तथ्यमा आधारित नभई एउटा अनुमानको भरमा दोषी ठहर गर्ने फैसला गरेको छ,' घिमिरेले भने, 'त्यो कुनै पनि आधार, तथ्यहरूबाट पुष्टि हुन सक्दैन। नगरेको अपराधमा जुन सजाय सन्दीप लामिछानेले पाएका छन्, त्यसमा चित्त नबुझेको हुँदा आज पुनरावेदन दर्ता भएको छ।

फागुन १०, २०८० बिहीबार २०:२८:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।