काग्रेस महासमिति : गठबन्धन निर्वाचन अगाडि कि पछाडि भन्ने मूल विवाद थाती राख्दै पास भयो प्रस्ताव

काग्रेस महासमिति : गठबन्धन निर्वाचन अगाडि कि पछाडि भन्ने मूल विवाद थाती राख्दै पास भयो प्रस्ताव

ललितपुर : निर्वाचन अगाडि नै दलहरूबीच गठबन्धन गरेर जाने या निर्वाचनमा एक्लै प्रतिस्पर्धा गरेर आएको नतिजा अनुसार अन्य दलसँग गठबन्धन गर्ने भन्ने मूल विवादलाई थाती राखेर कांग्रेसको महासमिति बैठक सकियो।

महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गरेका थिए।

मुख्य विवाद महामन्त्री थापाको सांगठनिक प्रतिवेदन र शर्माको राजनीतिक प्रस्तावमा थियो। थापाले निर्वाचन अगाडि कसैसँग गठबन्धन नगरी परिणाम अनुसार आवश्यक परे गठबन्धन गर्नु प्रस्ताव गरेका थिए। शर्माले भने गठबन्धनबारे उपर्युक्त समयमा उपर्युक्त निर्णय गर्ने अमूर्त प्रस्ताव गरेका थिए।

हलमा अन्य दुई प्रतिवेदनमाथि त्यति विवाद भएन। तर गठबन्धनबारे छलफल गर्न बनाइएको चारै समूहमा चर्को बहस भयो। अधिकांश समूहमा संस्थापनपक्षीय हाबी भएर गठबन्धनबारे तत्काल निर्णय गर्न आवश्यक नभएको र यसलाई रणनीतिक रूपमा निर्णय गर्नुपर्ने पक्षमा उभिएका थिए।

संस्थापनइतर समूह भने अब आगामी निर्वाचनमा निर्वाचन अगाडि कसैसँग गठबन्धन नगर्ने निर्णय गर्नुपर्ने पक्षमा उभिए पनि अन्तमा गठबन्धनलाई रणनीतिक बनाउनुपर्ने भन्दै चारै समूहले छलफलको निष्कर्ष सुनाउँदै महासमिति बैठकमा पेस गरिएका प्रस्तावहरू हलबाट आएका सुझावलाई समेटेर अन्तिम रुप दिने अधिकार केन्द्रीय समितिलाई तोक्दै पारित भयो।

बैठकमा महामन्त्री थापाले नै प्रस्तावहरू पारित गरिदिन आग्रह गरेपछि महासमिति सदस्यहरूले ताली बजाएर अनुमोदन गरे। हलबाट पारित भएको प्रस्ताव अब कांग्रेस पार्टीको केन्द्रीय समितिले पुनर्लेखन गर्ने अधिकार पाएको छ।

फागुन १०, २०८० बिहीबार १७:३७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।