कांग्रेस महासमिति : बागमतीका सभापतिले गठबन्धन आवश्यक भन्दै पेलेर गएपछि संस्थापन इतर समूहको नाराबाजी

कांग्रेस महासमिति : बागमतीका सभापतिले गठबन्धन आवश्यक भन्दै पेलेर गएपछि संस्थापन इतर समूहको नाराबाजी

काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठकको बन्द सत्रमा बागमती र गण्डकी प्रदेश सभापतिहरूको समूहमा नाराबाजी भएको छ।

ललितपुरको गोदावरीमा जारी महासमिति बैठकको अन्तिम दिन आज बागमती प्रदेश सभापति इन्द्र बानियाँले प्रतिवेदन पेश गरेलगत्तै महासमिति सदस्यहरूले नाराबाजी गरेका हुन्।

सभापति बानियाँले गठबन्धन आवश्यक रहेको र यसलाई कायम गरेर अघि बढ्नुपर्ने प्रस्तावको पक्षमा पेलेर अघि बढेपछि संस्थापन इतर समूहका नेताहरूले नाराबाजी गरेका हुन्। संस्थापन इतर पक्षका सदस्यहरूले प्रतिवेदनमा आफ्नो सुझाव तथा भावना नसमेटिएको बताएका छन्।

उनीहरूले गठबन्धन नगर्न समेत माग गरेका छन्।

केही महासमिति सदस्यहरू मञ्च छेउमा नै पुगेका थिए। होहल्ला र नाराबाजी भएपछि महामन्त्री गगन थापाले महासमिति सदस्यहरूलाई आ-आफ्नो ठाउँमा बस्न आग्रह गरेका थिए। बागमती प्रदेश सभापति बानियाँले बागमती र गण्डकीका महासमिति सदस्यको सुझाव पेश गरेपछि होहल्ला सुरू भएको थियो।

होहल्ला तथा नाराबाजी गर्ने समूहको नेतृत्व गण्डकीका सभापति शुक्रराज शर्माले गरेका थिए। उनी संस्थापन इतर समूहका नेता हुन्।

करिब १५ मिनेट होहल्लापछि महासमितिको समापनसत्र फेरि सुचारू भएको छ।

फागुन १०, २०८० बिहीबार १७:०९:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।