गोर्खा वारियरको प्रिमियरमा केपी ओलीदेखि सुदनसम्म, हल भरिएपछि निक्लिइन् प्रियङ्का

गोर्खा वारियरको प्रिमियरमा केपी ओलीदेखि सुदनसम्म, हल भरिएपछि निक्लिइन् प्रियङ्का

काठमाडौँ : फिल्मको प्रिमियरमा केपी ओली! त्यो पनि झुलुक्क हैन पूरा समय। यस्तै भयो बुधवार। एमाले अध्यक्ष ओली बुधवार मिलन चाम्सको निर्देशनमा बनेको फिल्म ‘गोर्खा वारियर’को काठमाडौँ प्रिमियर हेर्न बिग भुभिज सिटी सेन्टरमा आए र पुरै फिल्म हेरे।

बेलुका ५ बजेबाट निकै तामझामका साथ गरिएको प्रिमियरमा सहभागी भएर फिल्म हेरेका ओलीले गोर्खा वारियर नेपालीको पहिचान भएको भन्दै निर्देशकको प्रगतिको कामना गरे।

प्रिमियरमा पर्यटनमन्त्री सुदन किराँती, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई पनि उपस्थित थिए।

प्रिमियरमा अभिनेता सरोज खनाल,हरिवंश आचार्य,किरण केसी,प्रशान्त ताम्राकार,राज कटुवाल,गरिमा शर्मा लगायत थुप्रै कलाकार देखिए।

हलमा मान्छे नअटेपछि अभिनेत्री प्रियङ्का कार्की लगायत थुप्रै कलाकार बाहिरिएका थिए।

चाम्सले बेलायतबाट सुरु गरेको प्रिमियर पोखरा अनि धरान समेत पुर्याइसके। लाहुरेको कथामा बनेको फिल्मको प्रमोसनमा लाहुरेको सहर छानिरहेका छन्।

प्रिमियर हेर्नेहरूबाट फिल्मको सकारात्मक प्रतिक्रिया आइरहे पनि सक्कली परीक्षण त शुक्रवारको रिलिजपछि दर्शकबाट हुनेछ। किनकि प्रिमियरमा कसले सत्य बोलेको तथ्य छ र!

फिल्ममा अभिनेता रितेस चाम्स,रेबिका गुरुङ,विजय लामा, सिद्धार्थ सिंह, रियर राई, सुमिन गुरुङ लगायतको अभिनय छ। 

फागुन १०, २०८० बिहीबार ००:२०:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।