बिराटनगर जुट मिल्समा आगलागीबाट २० लाख बराबरको क्षति

बिराटनगर जुट मिल्समा आगलागीबाट २० लाख बराबरको क्षति
प्रतिकात्मक तस्बिर

काठमाडौं : विराटनगर जुट मिल्समा मंगलबार राति लागेको आगोले २० लाख बराबरको क्षति भएको खुलेको छ।

आगलागीबाट मेसिनरी सामग्री र जुटका कच्चा पदार्थ जलेर नष्ट भएका छन्।

जुट मिल्समा लागेको आगो नियोजित रूपमा लगाइएको स्थानीयले आरोप लगाएका छन्।

विराटनगर महानगरपालिका–१६ मा रहेको जुट मिल्स २०७८ साल माघदेखि बन्द अवस्थामा रहेको छ। मिल्सका सुरक्षा कमाण्डर पप्पु सुब्बाका अनुसार जुटका बोरा बनाउन प्रयोग गरिने धागोलाई अन्तिम रूप दिने ‘स्वप्नर ब्लिचिङ डिपार्ट’बाट राति ९ बजेतिर अचानक आगलागी सुरू भएको हो।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि मात्रै जुट मिल्स चलाउने घोषणा गरेसँगै विदेशी कम्पनीहरू समेत निरीक्षण गरेर गएको बताए। उनले सरकारले आगामी वैशाखबाट मिल्स पुनः संरचना गर्ने भनेकाले मिल्स चल्न नदिने तत्वहरुले आगलागी गराएको आशंका रहेको बताए।

उनले घटनाको प्रकृति हेर्दा नियोजित ढंगले आगो लगाइएको प्रष्ट हुने बताए।

विराटनगर महानगरपालिका वडा नम्बर नं.१६ का वडाध्यक्ष उद्धव भुजेलले जुट मिल्सको चारैतिर खुला भएकाले चोरी गर्न आउनेले चुरोट खाएर फाल्दा आगो लागेको अनुमान गर्न सकिने बताए। उनले लागुऔषध सेवनकर्ता तथा चोरी-चकारीमा संलग्नहरूले आगजनी गरेको हुन सक्ने आशंका रहेको बताए।

जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता रञ्जन दाहालले राति ९ बजेट आगलागी भएको खबर आए सँगै तत्काल प्रहरी टोली गएर आगो नियन्त्रणमा लागेको बताए। उनले आगलागीबाट तीन वटा पुराना मेसिन नष्ट भएको पाइएको बताए।

उनले आगलागीमा २० लाख बराबरको क्षति भएको बताए।

उनले जुट मिल्समा आगलागीको कारण खुलिनसकेको बताए। प्रहरीका अनुसार बन्द अवस्थामा रहेको जुटमा अचानक आगलागी हुनुले घटना शंकास्पद देखिएको छ।

प्रहरीले यसबारे थप अनुसन्धान गर्ने बताएको छ।

९ फागुन, २०८०, १९:००:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।