सुर्खेतका दुई सामुदायिक विद्यालयको बेहाल : दुई विद्यालयमा चार शिक्षक, विद्यार्थी जम्मा १९ जना
सुर्खेत : पूर्वी सुर्खेतको लेकवेसी नगरपालिका वडा नम्बर ५ नेटास्थित चन्द्रोदय प्राथमिक विद्यालयमा बाल शिक्षादेखि कक्षा पाँचसम्म पढाइ हुन्छ।
२०४६ सालमा स्थापना भएको यस विद्यालयमा त्यसबेला कोठाभरी विद्यार्थी हुन्थे। तर, आजभोलि सबै कोठा रित्तै छन्। बाल शिक्षामा ११ जना र कक्षा एकदेखि पाँचसम्म १३ जना विद्यार्थी भर्ना भएका छन्।
कक्षा एकमा २, कक्षा दुईमा ३, कक्षा तीनमा २, कक्षा चारमा २ र कक्षा पाँचमा चार जना विद्यार्थी छन्। ती मध्ये १० जना विद्यार्थी मात्रै विद्यालयमा नियमित आउँछन्।
यस विद्यालयमा स्थायी दरबन्दीका दुई शिक्षक र १ जना कार्यालय सहयोगी छन्। विद्यार्थी संख्या कम भएपछि पाँचसम्मका १० जनालाई नै राखेर सामूहिक पढाइ हुने गरेको छ।
विद्यार्थी संख्या कम र विषयगत शिक्षक नभएपछि २८ वर्षीय शिक्षिका धनसरा लामिछाने सबै विद्यार्थीलाई एउटै ठाउँमा राखेर सामूहिक पढाउने गर्छिन्। उनी आफ्ना दुई वर्षीय छोरालाई समेत त्यही समूहमा राखेर पढाउँछिन्।
प्रधानाध्यापक ललिता दर्लामी विभिन्न कार्यक्रम र प्रशासनिक काममा व्यस्त हुन्छिन्। शिक्षिका धनसरा भने एकदेखि पाँचसम्म ७ वटै विषय पढाउँछिन्। पाँच वर्षदेखि शिक्षण पेसामा लागेकी लामिछाने एक वर्षअघि मात्रै स्थायी भएकी हुन्।
विद्यार्थी संख्या कम भएपछि पढाउनमा समेत जाँगर नलाग्ने गरेको उनी बताउँछिन्।
‘विद्यार्थी एकदम कम छन्। बाल शिक्षादेखि पाँचसम्म २४ जनाले भर्ना गरेका छन्। तर, १० जना मात्रै नियमित आउँछन्,’ उनले भनिन्, ‘विद्यार्थी नहुँदा सँगै राखेर पढाउनुपर्ने बाध्यता छ। विद्यार्थी भएजस्तो नभएपछि पढाउने जाँगर पनि चल्दैन।’
विद्यार्थीकै अभावमा गत वर्ष प्रदेश सरकारले ४३ लाख रुपैयाँमा बनाइदिएको पक्की नयाँ भवन समेत ताला लगाएर बन्द गर्नु परेको धनसराले सुनाइन्। यी विद्यार्थीहरू पनि खाजा कार्यक्रम भएका कारण आउने गरेको लामिछानेको भनाई छ।
‘कक्षामा दुई जना विद्यार्थी भएपछि एउटा प्रथम आउँछ, अर्को द्धितिय अनि तेस्रो त कोही हुने मान्छे नै छैन,’ शिक्षिका लामिछानेले भनिन्, ‘विद्यार्थीमा पनि कम्पिटिसन गर्नुपर्छ भन्ने धारणा नै छैन। पढेपनि नपढेपनि फस्ट, सेकेन्ड भइहालिन्छ।’
अभिभावकको सामुदायिक विद्यालयभन्दा निजीतिर रुचि बढेकोले समस्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिलाल घर्तीले बताए।
‘सामुदायिक विद्यालयमा शैक्षिक सुधार गर्नै सकिएको छैन। जसका कारण अभिभावकहरू बालबच्चालाई सहरका निजी विद्यालयमा भर्ना गर्न थाले,’ अध्यक्ष घर्तीले भने, ‘अब सामुदायिक विद्यालयमा सुविधासहितको प्रविधिमैत्री शिक्षा नभएसम्म अभिभावकको मन जित्न गाह्रो छ।’
उनका अनुसार २०४८ सालतिर ६० जनासम्म विद्यार्थी हुने गरेपनि ०७४ सालपछि विद्यार्थीको संख्या घट्दै गएको हो।
गुर्भाकोट नगरपालिका–१४ गुमी स्थित अर्को चन्द्रज्योति प्राथमिक विद्यालयको हालत पनि उस्तै छ। कक्षा तीनसम्म पढाई हुने यस विद्यालयमा ९ जना विद्यार्थीले भर्ना गरेका छन्। जसमध्ये सात जना मात्रै नियमित आउँछन्।
कक्षा एकमा ५ जना, कक्षा दुईमा २ जना र कक्षा तीनमा पनि २ जना विद्यार्थीले भर्ना गरेका छन्। विद्यार्थी संख्या न्यून भएपछि तीन कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखेर सामूहिक पढाउनुपर्ने बाध्यता रहेको विद्यालयकी प्रधानाध्यापक शशिकला घर्तीले बताइन्।
यस विद्यालयमा उनी एक जना मात्रै शिक्षिका हुन्। उनी आफै प्रधानाध्यापक पनि छन्। त्यो बाहेक विद्यालयको रेखदेख गर्न एक जना कार्यालय सहयोगी छन्। एक्लैले तीन कक्षालाई सामूहिक पढाउँदा प्रभावकारी हुन नसकेको उनी बताउँछिन्।
‘चार वर्षदेखि विद्यार्थी संख्या ह्वात्तै घट्यो। सबै अभिभावकहरू सहर केन्द्रित भए। बालबच्चालाई बोर्डिङ्गमा पढाउन थाले। गाउँ त शून्य भयो,’ प्रधानाध्यापक घर्तीले भनिन्, ‘कहिल्यै म बिरामी हुँदा त विद्यार्थी पनि स्कुल आउँदैनन्। म जति दिन बिदा बस्छु विद्यार्थी पनि त्यतिदिन नै बिदामा बस्छन्।’
लेकवेसी र गुर्भाकोटका यी दुई विद्यालय त उदाहरण मात्रै हुन्। सुर्खेतका अधिकांश प्राथमिक विद्यालयमा विद्यार्थी संख्या न्यून छन्।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको तथ्याङ्क अनुसार सुर्खेतका नौ वटै पालिकामा एक दर्जनभन्दा कम विद्यार्थी हुने बालविकास केन्द्र र प्राथमिक विद्यालयहरू २४५ वटा रहेका छन्। त्यस्तै, अन्य ९ जिल्लामा १५७ विद्यालयमा १० जनाभन्दा कम विद्यार्थी अध्ययनरत छन्।
सल्यान, डोल्पा, दैलेख, कालिकोट, मुगु र हुम्लामा यस्ता कम विद्यार्थी भएका विद्यालयहरू रहेको सामाजिक विकास मन्त्रालयको शिक्षा मशाशाखाका योजना, तथ्याङ्क तथा अनुसन्धान अधिकृत बलविर सुनारले बताए।
‘विद्यार्थी संख्या कम छ। पठनपाठनमा समस्या छ। तर, कतिपय विद्यालयमा विद्यार्थीको भर्ना देखाएर अनुदान ल्याउने गरेको अवस्था पनि छ,’ अधिकृत सुनारले भने, ‘संघीय सरकारले सिधै पालिकामा बजेट पठाउने हुँदा त्यसको खर्च विवरणहरू हामीसँग छैन। केही वर्षदेखि विद्यालयको तथ्याङ्क राखेर हामीले अध्ययन गरिरहेका छौं।’
फागुन ९, २०८० बुधबार १८:१२:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।