कलाकार र निर्माताले हैरान बनाएपछि टेन्सनमा ‘रङ्गेली’का निर्देशक, ट्रेलर रिलिजमा देखियो यस्तो दृश्य
काठमाडौं : आफैले निर्धारित गरेको कार्यक्रममा पत्रकार ढिलो उपस्थित हुनु नौलो कुरो होइन। तर, कार्यक्रममा मुख्य आयोजक नै उपस्थित नहुँदा बुधबार केएल टावरको हलमा एकछिन पत्रकारहरू नै अलमलमा परे।
फिल्म ‘रङ्गेली’को ट्रेलर रिलिज कार्यक्रम बिहान १० बजे राखिएको थियो। सोही समयलाई ख्याल गर्दै उकेराकर्मी हलमा पुग्दा १० बजेर १८ मिनेट भइसकेको थियो। त्यहाँ एक जना पत्रकार बाहेक कोही पनि उपस्थित देखिएनन्।
१०ः४५ तिर फिल्मका निर्देशक, प्रोड्युसर उपस्थित भए। निर्धारित समय भन्दा झन्डै २ घण्टापछि फिल्मको ट्रेलर देखाइयो। त्यो पनि फिल्मका मुख्य कलाकार र निर्माता बिना नै।
फिल्मका मुख्य कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल लगायतका कलाकार अर्को फिल्मको सुटिङमा भएका कारण आउन नसकेको जानकारी दिइयो। तर, फिल्मका अर्का मुख्य पात्र अर्पण थापा भने उपस्थित थिए। उनले ट्रेलर हेर्ने बित्तिकै कामको व्यस्तता देखाउँदै बाहिरिए।
उनी बाहिरिएपछि पत्रकार र युटुबरसहित तिनै निर्देशक अर्जुन सुवेदी लगायतको फोटो, भिडियो खिचेर फर्किए। पत्रकार थोरै देखेपछि निर्देशक सुवेदीको अनुहार उज्यालो थिएन। आफ्नै फिल्मका मुख्य कलाकार नहुँदा निर्देशकलाई नरमाइलो त लागेकै होला।
फिल्मका अधिकांश निर्माताहरू अमेरिकामा रहेकाले उनलाई चिन्ता न हुने नै भयो। फागुनको २५ गते महाशिवरात्रिको दिनबाट यो फिल्म रिलिज हुँदैछ। यो फिल्मसँगै रेखा थापाको ‘उपहार’ र नवल खड्काको ‘काँडेतार’ लाग्दैछ।
फिल्मका मुख्य कलाकार दयाहाङ , मिरुनासँगै रमेश वुढाथोकी पनि उपस्थित थिएनन्। उनीहरूका अलावा अर्पण थापा, रुपेश झा, सुन्दर धिताल लगायत भने उपस्थित थिए।
जितेन्द्र खतिवडा र अनुजजंग थापा कार्यकारी निर्माता रहेको फिल्ममा संसार चौलागाईं र रमेश भट्टराई निर्माता छन्। जितेन्द्र मात्रै कार्यक्रममा उपस्थित थिए। उनी बाहेक अरु सबै अमेरिकामा रहेको जानकारी दिइयो।
यता युवक कार्की र शिवशंकर चौलागाईं सह–निर्माता रहेका छन्। उनीहरू पनि अमेरिकामै छन्।
फागुन ९, २०८० बुधबार १६:४९:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।