बालुवाटार पुगेर लघुवित्त पीडितले मागे गभर्नर अधिकारीको राजीनामा

बालुवाटार पुगेर लघुवित्त पीडितले मागे गभर्नर अधिकारीको राजीनामा

काठमाडौं : देशभरबाट काठमाडौं भेला भएका लघुवित्त पीडितहरूले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेका छन्।

आज बालुवाटारमा प्रदर्शन गर्दै उनीहरूले गभर्नर अधिकारीको राजीनामा माग गरेका हुन्।

लघुवित्तले दिएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूचीमा परेकाको धितो फुकुवा गर्नुपर्ने उनीहरूको माग छ। वित्तीय अपराध बन्द गर्न पनि उनीहरूले माग गरेका छन्।

लघुवित्त र मिटरब्याज पीडितहरूले मंगलबार काठमाडौंमा मार्चपास गरेका थिए। लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालले मार्चपास गरेका थियो।

उनीहरूले सामन्तीका रूपमा रहेको लघुवित्त र वित्तीय संस्था खारेज गर्न, समाजवादी अर्थतन्त्रको विकास गर्न, धितो लिलाम फुकुवा गर्न, आम गरिब किसानलाई निःशुल्क ऋणको व्यवस्था गर्नुपर्ने लगायत नौ बुँदे माग अघि सारेका छन्।

लत्ताकपडासहित आएका लघुवित्त पीडितले आफ्ना माग पूरा नभएसम्म घर नफर्किने बताएका छन्। मिटरब्याज र लघुवित्तले जग्गा–जमिन नै लिलाम गर्ने अवस्था आएकाले न्याय माग्न काठमाडौं आएको उनीहरूको भनाइ छ।

तीन वर्षदेखि सरकारले आश्वासन दिए पनि माग पूरा नगरेको पीडितहरूको गुनासो छ।

गत चैतमा पैदलयात्रा गर्दै काठमाडौं आएर पीडितहरूले धर्ना दिएपछि सरकारले विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा मिटरब्याज पीडित जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले प्रतिवेदन बुझाए पनि सरकारले अझैसम्म न्याय नदिएपछि आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ।

फागुन ९, २०८० बुधबार १४:२७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।