सभापति देउवाले भने- ‘म पनि हिन्दूराष्ट्र पक्षधर हुँ’

सभापति देउवाले भने- ‘म पनि हिन्दूराष्ट्र पक्षधर हुँ’
फाइल तस्बिर

काठमाडौं : नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले आफू पनि हिन्दूराष्ट्र नेपालको पक्षमा रहेको बताएका छन्।

नेपाली कांग्रेस वैदिक सनातन हिन्दूराष्ट्र पुनर्स्थापना राष्ट्रिय अभियानका प्रतिनिधिहरूसँग आफ्नै निवासमा छलफल गर्दै सभापति देउवाले आफू पनि हिन्दूराष्ट्र नेपालको पक्षमा रहेको बताएका हुन्।

तर, अहिले उपयुक्त समय नभैसकेकाले आफू खुलेर समर्थन गर्न असमर्थ भएको बताएको अभियानका सम्बद्ध स्रोतले जानकारी दियो।

सभापति देउवाको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘म पनि हिन्दू राष्ट्रको पक्षधर नै हूँ तर अहिले नै खुलेर समर्थन गर्दा द्वन्द्व हुनसक्छ, फुकेर हिँड्नुपर्ने समय छ। त्यसैले उपयुक्त समय कुर्नुपर्छ।’

सभापति देउवासँग अभियानका संयोजक शंकर भण्डारी, उप–संयोजकहरू लोकेश ढकाल र देवेन्द्र कँडेल, कोषाध्यक्ष भानुभक्त ढकाल, सदस्यहरू मुक्तादेवी यादव, भीम पराजुली र गेहेन्द्र गिरी सहभागी थिए।

अभियानले अहिलेसम्म नौ सय पचास महासमिति सदस्यहरूको समर्थन जुटाइसकेको जनाएको छ। १९ सय पचास दर्ता भएका महासमिति सदस्यहरूको बहुमत समर्थन जुट्ने अभियानको भनाइ छ।

फागुन ९, २०८० बुधबार १४:०३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।