बारामा ट्रक र बोलेरो एक आपसमा ठोकिँदा दुई जनाको मृत्यु, चार जना घाइते
बारा : जिल्लाको जीतपुरसिमरा उप-महानगरपालिका-१ मा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
बुधबार विहान सिमराबाट हेटौंडा जाँदै गरेको ना ६ ख ३३५२ नं.को ट्रक र हेटौंडाबाट पथलैया आउँदै गरेको बा.प्र.०१-०२६ च १३३४ नम्बरको बोलेरो पिकअप एक आपसमा ठोकिँदा अन्य चार जना घाइते भएका छन्।
बोलेरोमा सवार पाँच जनामध्ये नुवाकोटको विदुर नगरपालिका-९ कोलनीका ३० वर्षीय सुजन मगराती र भारतको बिहार घर भएका २८ वर्षीय चन्दन चौहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
कार्यालय सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेका अनुसार गम्भीर घाइते भएका मगराती र चौहानको बारास्थित एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा बुधबार विहान मृत्यु भएको हो।
दुर्घटनामा भारतको बिहारकै २२ वर्षीय राहुल चौधरी, १७ वर्षीय सुजन चौहान, १९ वर्षीय रामलखन चौहान र ट्रक चालक बाराको परवानिपुर गाउँपालिका-४ चैनपुरका ३० वर्षीय रवि पटेल घाइते भएका छन्।
उनीहरूको बारास्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले दुवै सवारीलाई नियन्त्रणमा लिएको छ।
फागुन ९, २०८० बुधबार १२:२३:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।