कांग्रेसको खर्च : महाधिवेशन गर्न १२ करोड, आम निर्वाचनमा १ करोड १५ लाख

कांग्रेसको खर्च : महाधिवेशन गर्न १२ करोड, आम निर्वाचनमा १ करोड १५ लाख

काठमाडौं : नेपाली कांग्रेसले आफ्नो १४औं महाधिवेशनमा १२ करोडभन्दा बढी खर्च भएको सार्वजनिक गरेको छ। कांग्रेसले ०७८ को मंसिर तेश्रो साता पार्टीको केन्द्रीय महाधिवेशन गरेको थियो।

गोदावरीमा जारी महासमिति बैठकमा पार्टीको आयव्यय प्रस्तुत गर्दै लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले १४औं महाधिवेशनमा १२ करोड २१ लाख ९७ हजार ७ सय ७ रुपैयाँ खर्च भएको जानकारी दिए।

उनका अनुसार महाधिवेशन भएकै वर्ष भएको तीन तहको निर्वाचनमा भने पार्टीले १ करोड १५ लाख ६५ हजार २१० रुपैयाँ मात्रै खर्च गरेको छ। महाधिवेशन र आमनिर्वाचन एकै वर्ष भएका कारण सो वर्ष कांग्रेसले ६ करोड ६८ लाख २४ हजार रुपैयाँ चन्दा सहयोग उठेको जनाएको छ।

कांग्रेसले १४औं महाधिवेशनमा ८ लाख क्रियाशील सदस्य बनाएको थियो। त्यसरी सदस्यता शुल्क, नवीकरण र लेबीसमेत गरी सदस्यताबाट मात्रै ७ करोड ४३ लाख ३ हजार ५ सय १ रुपैयाँ आम्दानी भएको देखिएको छ।

महाधिवेशन र निर्वाचन भएको आर्थिक वर्ष २०७८÷०७९ मा कांग्रेसको आम्दानी १४ करोड ८९ लाख ९४ हजार ८७ रुपैयाँ रहेको थियो भने सो वर्ष १७ करोड ९० लाख ७८ हजार २ सय २२ रुपैयाँ खर्च गरेको थियो। अर्को आर्थिक वर्ष ०७९÷०८० मा भने कांग्रेसले ३ करोड ६४ लाख रुपैयाँ मात्रै आम्दानी गर्यो।

सो वर्ष सदस्यता शुल्क, नवीकरणबाट ५७ लाख ६० हजार ८ सय रुपैयाँ, चन्दा सहयोगवापत २ करोड ६५ लाख ६४ हजार ५७७ रुपैयाँ, प्रकाशन बिक्रीबाट ९४ लाख ६ सय ५० रुपैयाँ, लिलाम बिक्री २ लाख २५ हजार रुपैयाँ र व्याज आम्दानी बापत ३८ लाख ३१ हजार २ सय ७० रुपैयाँ आम्दानी गरेको छ।

लेखा समिति संयोजक घिमिरेका अनुसार सो वर्ष पार्टीले ३ करोड ८८ लाख ५७ हजार ९ सय ९३ रुपैयाँ खर्च भएको थियो। लेखा समितिले पार्टीको स्थायी आम्दानीका श्रोतहरुको पहिचान गरी भैपरी आउने परिस्थितिका लागि तयार हुनुपर्ने सुझाव दिएको छ।

उनले पार्टीको आम्दानी, खर्च, सम्पत्ति एवं दायित्वलाई व्यवस्थित, नियमित, पारदर्शी एवं मितव्ययी बनाउने विषयमा सबैको संकल्प आवश्यक रहेको बताएका छन्।

फागुन ९, २०८० बुधबार ०९:२२:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।