ललिता निवास क्षेत्रको सरकारी जग्गाबाट हट्न महानगरकाे सात दिने सूचना

ललिता निवास क्षेत्रको सरकारी जग्गाबाट हट्न महानगरकाे सात दिने सूचना

काठमाडौं : काठमाडौं महानगरपालिकाले वडा नं ४ मा रहेकाे बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी जग्गाबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरूलाई अनुरोध गरेको छ।

महानगरले एक सार्वजनिक सूचनामार्फत सात दिनको अवधि दिएर सार्वजनिक सम्पत्तिको संरक्षण गर्न सहयोगका लागि अनुरोध गरेको हो।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ( १३ स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धी व्यवस्था अन्तर्गत दफा ९७ (१) ले काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत सम्भार तथा अन्य प्रबन्ध गर्नुपर्ने कानूनी दायित्व महानगरपालिकालाई तोकेको उल्लेख गर्दै जग्गा खाली गर्न आग्रह गरेको हो।

विशेष अदालतले फागनु ३ गते काठमाडौं महानगरपालिका-४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा जफत भएको फैसला गरेको थियो। उक्त फैसलाबाट जफत भएको काठमाडौं महानगरपालिका-४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गर्न यो सूचना प्रकाशित गरिएको जनाएको छ।

‘सूचना प्रकाशित भएको मितिले सात दिनभित्र ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा सङ्घ संस्थाहरू सो क्षेत्रबाट हटी सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्ने कार्यमा महानगरपालिकालाई सहयोग गर्न अनुरोध गरिन्छ’, सूचनामा भनिएको छ।

यस सूचनाले तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानून बमोजिम महानगरले नै हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने जनाएको छ।

फागुन ९, २०८० बुधबार ०८:२८:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।