बिरूप बन्दै छ सोलु : पातलिँदै गयो जङ्गल, पग्लिँदै गयो हिमाल

बिरूप बन्दै छ सोलु : पातलिँदै गयो जङ्गल, पग्लिँदै गयो हिमाल

सोलु : सोलुखुम्बु जिल्ला भन्ने बित्तिकै झलक्क हिउँले ढाकेको हिमालहरू आँखामा नाच्न सक्छन्। पटपट गालै फुटाउने चिसोको कल्पना हुनसक्छ। तर हिमाली जिल्ला भए पनि यहाँका स्थानीयले हिउँ अनि चिसो बिर्सन थाले।

हिउँले ढपक्क छोपी रहने हिमालहरू हेर्दै आकर्षक हैन काला ढुङ्गामा बदलिएका छन्। हिमालको काखमा रहेका बस्तीमा लामखुट्टे नाच्न थालिसके।

पातलिदै गएको बन क्षेत्रविश्वको सर्वोच्च शिखर सगरमाथाले रूप फेरेको त धेरै भइसक्यो। सदरमुकामबाट नजिकै देखिने दुधकुण्ड हिमालको रूप समेत बिस्तारै बदलिँदै छ।

उहिलेका स्थानीयले यही दुधकुण्डको काखमा रहेको हिमाल हेरेर खेती गर्ने समयको अनुमान लगाउँथे। हिमालमा हिउँ पर्यो कि आलु मकै, गहुँ, जौ लगाएको खेती सप्रने भयो भनेर खुसी हुन्थे। तर अहिले हिमाल हेरेर खेती उत्पादनको लख काट्न सम्भव छैन।

कार्तिक लागेपछि डाउन ज्याकेट जस्ता बाक्ला कपडा लाउनुपर्ने सोलुखुम्बुमा अब बाक्लो ज्याकेट चाहिँदैन। सामान्य हावा छेक्ने ज्याकेटले नै सहजै चिसो छल्न सकिन्छ।

रुख काटेर काठ सुकाउँदै।मङ्सिरको अन्तिमबाट मागको पहिलो सातासम्म लगाउने आलु हिउँ पानीको अभावमा फागुन लागेपछि रोप्न बाध्य भएका छन् स्थानीय। आकाश खुल्ला हुँदा पर्ने तुसारो र शीतको आसमा स्थानीय कृषकले खेती लगाउन थालेका छन्।

जलविद्युत गृहहरू पनि कृषि उत्पादनमा परिरहेको असरको कारक बनेका छन्। एउटै खोलाबाट उत्पादन भएका विभिन्न कम्पनीका जलविद्युतबाट नियमानुसार खोलामा बगाइनु पर्ने १० प्रतिशत पानी नदिँदा खेतबारी सुख्खा बनेका छन्। खोलामा देखिने जलचर देखिन छाडेका छन्। उहिले खोला नजिक जाँदा डराउनेहरू आज त्यही खोलाबाट बालुवा गिट्टीको व्यापारमा रमाई रहेका छन्।

कालो पहाड बन्दै गएको हिमाल।स्थानीय  प्रशासन रमिते बनेको छ। घर आँगनका जङ्गल काठ व्यापारीको निसानामा परिरहेका छन्। हरियो जङ्गल उराठलाग्दो बनेका छन्। हिमालमा रम्न आउने पर्यटकहरू काला पत्थर देखेर निराश हुँदै फर्कँदै छन्। पर्यटनमा आश्रित रोजगारी खुम्चदै गएको छ।

अग्ला पहाडमा दृष्य देखाउन भनेर लाखौँ खर्चेर बनाएका भ्यु टावरहरू रातको सिरेटोसँग टिनका छानाहरू बजाउँदै बसेका छन्। हरिया बनहरू नाङ्गा बनिसके, सेता हिमालहरू काला हुँदै गए। नियन्त्रण गर्न सकिने बदमासीहरू पनि जलवायु परिवर्तनको असर भनेर टारेर बसेका छन् स्थानीय प्रशासन।

-सोलुखुम्बुबाट पुष्प श्रेष्ठ,एनएनबी

फागुन ९, २०८० बुधबार ०७:१२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।