क्यानडामाथिको जितपछि कप्तान जोराले भने 'सिरिज जित्ने विश्वास छ'
काठमाडौँ : कप्तान सन्दीप जोराले क्यानडा–११ सँगको तीन खेलको एक दिवसीय क्रिकेटको दोस्रो खेलको जित नयाँ टिमका लागि उत्साहजनक रहेको बताएका छन्।
मूलपानी मैदानमा मंगलबार भएको दोस्रो खेलमा नेपालले क्यानडालाई २ विकेटले पराजित गरेको थियो। जितपछिको पत्रकार सम्मेलनमा बोल्दै जोराले टिमका सदस्यहरूले योजनाअनुसार प्रदर्शन गरेकाले जित सम्भव भएको बताए।
‘टोलीमा हामी सबै नयाँ छौँ। आजको जित हाम्रो लागि ऐतिहासिक हो। एकदम खुसी लागेको छ। क्यानडाले दिएको लक्ष्य पछ्याउनेबारे हामीले योजना बनाएका थियौँ, सोहीअनुसार खेल्यौँ।’
क्यानडासँगको यस शृङ्खलाले क्यानमा आबद्ध सबै खेलाडीका लागि अवसर भएको उनले शृङ्खला जित्ने विश्वास रहेको बताए।
नेपालको जितसँगै सिरिजमा १–१ को बराबरी भएको छ। यसअघि पहिलो खेलमा क्यानडा विजयी भएको थियो। अब बिहीबार तेस्रो तथा निर्णायक खेल हुनेछ।
नेपालको जितमा बसिर अहमद र कप्तानको भूमिका रहेका सन्दीप जोराले अर्ध शतक बनाएका थिए। सन्दीपले ६६ रन जोडे भने बसिरले नटआउट ५२ रन जोडे। रशिद खानले जोडेको ४७ रन पनि नेपालको जितको आधार बन्यो।
फागुन ८, २०८० मंगलबार २१:०८:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।