महाजात्राको मध्यम टिजर , हरिवंश र विपिन हाबी
काठमाडौँ : धनको पछि लाग्दाको हैरानीलाई मूलकथा बनाएर प्रदीप भट्टराइले 'जात्रा', 'जात्रै जात्रा' बाट राम्रै पैसा कमाए। त्यही लोभमा होला यसैको प्रिक्वेल महाजात्रालाई पनि धनको लोभले निम्त्याएको हन्डरलाई मूल कथा बनाएका छन्।
मङ्गलवार सार्वजनिक भएको टिजरमा कालो धन लुकाउनेक्रममा आइपर्ने हन्डर र ठक्करकै वरिपरि कथा घुमेको देखिन्छ।
पैसा अनि सुन सफलताका साथ लुकाएको टिमलाई कालो धन लुकाउने अफर आउँछ। एक गाडी पैसा लुकाउने चक्करमा विपिन कार्कीसहितको टिम संलग्न हुन्छ।
टिजरमा १० दिन पैसा लुकाउने अफर गर्ने पात्रका रूपमा राजाराम कार्की देखिएका छन्। जात्राको प्रिक्वेलमा निर्देशक भट्टराइले आफ्ना गुरु हरिवंश आचार्यलाई समेत भित्र्याएका छन्। उनको चरित्र नेताको देखिएको छ।
टिजर फिल्मको सामान्य झलक मात्रै न हो। तै पनि यसले विपिनसहितको समूहको चरित्र चित्रण जात्रा अनि जात्रैजात्रा भन्दा फरक नरहेको देखिन्छ। टिजरमा विपिन कार्कीलाई बढी स्थान दिइएको देखिन्छ।
कथानक बासी नै भए पनि प्रस्तुतिमा खेल्न माहिर छन् निर्देशन भट्टराई। तर सधैँ उनको त्यो माहिरपनले काम गर्दैन भन्ने त शत्रुगतेले देखाइसकेकै छ। टिजरमा वाह भनिहाल्नु पर्ने दृश्य नहुँदा फिल्म मध्यम पाराको देखिएकाले 'महाजात्रा' महासफल हुन्छ भनिहाल्न हतारै हुने देखियो।
फागुन ८, २०८० मंगलबार १८:०९:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।