नेपाल राष्ट्र बैंक बल्ल ब्युँझियो, एक सातापछि प्रसाईँको दाबीको विपक्षमा विज्ञप्ति

नेपाल राष्ट्र बैंक बल्ल ब्युँझियो, एक सातापछि प्रसाईँको दाबीको विपक्षमा विज्ञप्ति

काठमाडौँ : बैंक तथा वित्तीय संस्थाहरूबारे कुप्रचार गर्न सक्रिय दुर्गा प्रसाईँको दाबीबारे नेपाल राष्ट्र बैंक एक सातापछि बोलेको छ। प्रसाईँले सार्वजनिक कार्यक्रम र सामाजिक सञ्जालमार्फत एनआइसी एसिया बैंक लक्षित गर्दै डुब्दैछ भन्ने दाबी गरेका थिए।

आफ्नो प्रत्यक्ष निगरानीमा रहेको बैंक तथा वित्तीय संस्था लक्षित दाबी सार्वजनिक भए लगत्तै सम्बन्धित बैङ्कको आर्थिक अवस्थाबारे राष्ट्र बैंकले तथ्य सार्वजनिक गरेर कु प्रचारको प्रभाव कम गर्न सक्थ्यो। तर राष्ट्र बैङ्कका अधिकारीहरू एक सातासम्म मौन बसे।

मङ्गलवार बैंकले विज्ञप्ति जारी गर्दै  केही व्यक्ति तथा समूहले दिएको अभिव्यक्ति र दुष्प्रचारप्रति ध्यानाकर्षण भएको भन्दै राष्ट्र बैंकले पछिल्लो अवस्थामा समग्र बैङ्किङ क्षेत्र सक्षम र  सबल रहेको उल्लेख गरेको छ।

'यस बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी  गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको ब्यहोरा अनुरोध छ’, राष्ट्र बैंकले विज्ञप्तिमा भनेको छ।

उसले बैङ्किङ जस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैङ्किङ कारोबार गर्न अनुरोध समेत गरेको छ। 

पछिल्लो समयमा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको पुँजी कोषको अवस्था,  कर्जा निक्षेप अनुपातको अवस्था एवम् तरलताको अवस्थासम्बन्धी परिसूचकहरू निर्देशनअनुरूप नै रहेको विज्ञप्तिमा उल्लेख छ।

‘कुनै बैंक तथा वित्तीय संस्थामा यी परिसूचकहरू तथा कर्जा,  संस्थागत सुशासन लगायतका अन्य विषयमा कुनै समस्या देखिएमा यस बैंकले समय समयमा  आवश्यक निर्देशन दिई सुधार गराउँदै आइरहेको’, राष्ट्र बैंकले विज्ञप्तिमा लेखेको छ।

बैंक तथा वित्तीय संस्थाहरूले  सर्वसाधारणको निक्षेप परिचालन गर्ने हुँदा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन  दिँदा र निरीक्षण/सुपरिवेक्षण गर्दा समेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो  प्राथमिकतामा राखेको उसले बताएको छ।

फागुन ८, २०८० मंगलबार १७:२५:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।