कांग्रेस महासमिति : गठबन्धनबारे महामन्त्री शर्मा र देउवाको मत मिल्दो, एक्लिदै गगन

कांग्रेस महासमिति : गठबन्धनबारे महामन्त्री शर्मा र देउवाको मत मिल्दो, एक्लिदै गगन

काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठक चलिरहँदा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच टसलको विषय बन्यो, गठबन्धन। आगामी चुनावअघि गठबन्धन गर्न नहुने प्रस्तावमा महामन्त्री थापा अडिक रहँदा सभापति देउवाले भने तत्कालीन परिस्थितिमा गठबन्धनबारे निर्णय गर्नुपर्ने बताउँदै आएका छन्।

महामन्त्री थापा आफ्नो प्रस्ताव स्थापित गराउन खोजिरहेका छन् भने देउवा आफ्नो भागमा आउन लागेको प्रधानमन्त्रीको कुर्सी गुम्ने डरमा छन्।

आफ्नो प्रस्तावमा महामन्त्री थापाले अर्का महामन्त्री विश्वप्रकाश शर्माको समर्थन खोजिरहेका बेला महामन्त्री शर्माले भने अहिले नै निर्वाचनबारे छलफल गर्नै आवश्यक नरहेको बताएका छन्।

ललितपुरको गोदाबारीमा जारी पार्टीको महासमिति बैठकमा समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्दै उनले निर्वाचन आउनुभन्दा चार वर्षअघि नै यसबारे छलफल गर्नु आवश्यक नरहेको बताएका हुन्।

महामन्त्री शर्माले प्रतिवेदनमार्फत निर्वाचनमा कसरी जाने भन्नेबारे उपयुक्त समयमा निर्णयमा पुग्नुपर्ने उल्लेख गरेका छन्।

उनको प्रतिवेदनमा भनिएको छ, ‘निर्वाचन आउनुभन्दा ४ बर्ष अघि नै निर्वाचनबारे छलफल गर्नु आवश्यक बिषय होइन। त्यसैले आगामी निर्वाचनमा पनि गठबन्धन गरेर हामी जानेछौँ या तीनवटै तहको सम्पूर्ण स्थानमा कांग्रेस उम्मेदवार खडा गर्नेछौँ? यो विषयमा हामी भित्र रहेका स्वभाविक दुई थरी मतलाई सुरक्षित राखेर उपयुक्त समयमा हामी उपयुक्त निर्णयमा पुग्नेछौँ नै।’

गत वर्षको चुनावमा भएको तालमेलको समीक्षा गर्दै महामन्त्री शर्माले गठबन्धन गरेकै कारण कांग्रेस अहिले तीनै तहमा पहिलो दल बन्न सफल भएको उल्लेख गरेका छन्। तर, अहिले चिन्तन गर्नै पर्ने भन्दै उनले त्यो जिम्मा महासमितिलाई दिएका छन्। 

प्रतिवेदनमा भनिएको छ, ‘२०७९ को निर्वाचनमा गरिएको गठबन्धनका क्रममा र परिणामपश्चात् उब्जिएको केही प्रश्नमा दुई सूक्ष्म आत्मचिन्तन भने महासमितिमा हामीले गर्नै पर्ने हुन्छ- पहिलो, कांग्रेसका परम्परागत मतदाताले अन्य चिह्नमा मत दिन पार्टीले गरेको आग्रह रुचाएनन्, तिनको विश्वासलाई पुनर्जागृत गर्ने प्रश्न। दोस्रो, गठबन्धनमार्फत पहिलो दल त बन्यौँ, तर समानुपातिकतर्फ २०७४ को तुलनामा हामीले करिब ७% मत गुमाउनुको वास्तविक कारण के हो? पहिचान र निदानको प्रश्न।’  

महामन्त्री शर्माले कोशी प्रकरणबारे गठबन्धनमा गम्भीर समीक्षा हुनुपर्ने पनि स्पष्ट पारेका छन्।

प्रतिवेदनमा भनिएको छ, ‘कोशी प्रदेशमा पछिल्लो पटक सरकार बनाउँदा र गत राष्ट्रिय सभा चुनावमा माओवादी उम्मेदवार पराजित हुँदा सहयात्री दलले हामीप्रति असन्तोष प्रकट गरेको स्थिति छ, यो घटनाक्रमलाई गम्भीर समीक्षा गर्न, कमजोरी पहिचान गर्न र सहमतिपूर्वक निदान पहिल्याउन जरुरी छ।’

फागुन ८, २०८० मंगलबार १७:१४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।