‘राप्रपाको प्रवक्ता भन्ने मान्छेले एमालेले धोका दियो भन्ने लाञ्छित गरेको देखियो, त्यो भोट आकाशबाट आयो?’

‘राप्रपाको प्रवक्ता भन्ने मान्छेले एमालेले धोका दियो भन्ने लाञ्छित गरेको देखियो, त्यो भोट आकाशबाट आयो?’

काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले गएको राष्ट्रियसभा सदस्य निर्वाचनमा आफूहरूले कसैलाई बेइमान नगरेको भन्दै जितका निम्ति खुला प्रयास गरिएको बताएका छन्।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकमा उनले सो निर्वाचनमा एमाले एक्लैले जित्न कहीँ पनि मतभार पुग्ने अवस्था नरहेकाले जितका निम्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सित तालमेल गरिएको उनले स्पष्ट पारे।

‘कहीँ पनि जित्नका लागि मतभार पुग्दैनथ्यो। एक ठाउँमा जित्यौँ। त्यस जितका लागि खुला प्रयास गर्यौँ,’ उनले भने, ‘राप्रपा र हामीबीच सहमति भएको थियो।’

राष्ट्रियसभा निर्वाचनअन्तर्गत कोशी प्रदेशमा एमाले र राप्रपाले एक अर्काका उमेदवारलाई सघाउने सहमति गरेका थिए। राप्रपाको सहयोगमा एमाले उमेदवार निर्वाचित भए। राप्रपाका उमेदवार हारेका थिए।

त्यसपछि राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले एमालेलाई लाञ्छित गरेको भन्दै ओलीले भने ‘राप्रपाको प्रवक्ता भन्ने मान्छेले एमालेले धोका दियो भन्ने लाञ्छित गरेको देखियो,’ उनले भने, ‘त्यो भोट आकाशबाट आयो?’

राप्रपाका प्रवक्तामा एमाले विरोधी भावना रहेको ओलीको बुझाइ छ।

‘राप्रपाका प्रवक्ता भन्नेमा एमाले विरोधी भावना रहेछ। एकाध भोट बिग्रिए होलान्, राप्रपाको बिग्रियो होला,’ उनले भने, ‘हामीले बेइमान गरेका होइनौँ।’

फागुन ८, २०८० मंगलबार १५:०५:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।