'अख्तियारले टेरामक्सको मुद्दा लैजानु अगाडि' स्वास्थ्य उपकरण खरिदको बजेट सक्न स्वास्थ्यमन्त्री सक्रिय
काठमाडौँ : टेरामक्स खरिद प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानको दायरामा रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत मुद्दा अदालत पुग्नु अगाडि स्वास्थ्य मन्त्रालयको खरिद बजेट सक्काउने हतारोमा देखिए।
उनी सञ्चारमन्त्री भएको बेलामा सुरु भएको टेरामक्स खरिद प्रकरणमा अख्तियारले उनीसँग बयान लिइसकेको छ। अख्तियारस्रोतका अनुसार अनुसन्धान मुद्दा दर्ता गर्ने चरण पुगिसकेको छ।
अख्तियारले मुद्दा लैजानु अगाडि नै स्वास्थ्य मन्त्रालयमा रहेको सरकारी बजेट र विश्व बैंकले दिएको ऋणबाट खरिद सामान किन्न स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाबाट खरिद प्रक्रिया सक्काउन निकै हतारमा देखिन्छन् मन्त्री बस्नेत।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले फागुन ६ गते आइतबार एकै दिनमा १४ करोड ४० लाखको स्वास्थ्य सामग्री खरिदका लागि टेन्डर आह्वान गर्यो।
महाशाखाले आइतबार एकै दिन ६ करोड ८० लाखको ‘इन्डोस्कोपिक अल्ट्रासाउन्ड’ र सात करोड ६० लाखमा नाक, कान, घाँटीको सर्जरीका लागि आवश्यक सामग्री खरिद गर्ने गरी टेन्डर आह्वान गरेको छ।
विभागको व्यवस्थापन महाशाखाले २०८० फागुन ६ गते आइतबार (फेब्रुअरी १८, २०२४) मा दुई वटा ‘इन्डोस्कोपिक अल्ट्रासाउन्ड’ ६ करोड ८० लाखमा खरिद गर्ने गरी टेन्डर आह्वान गर्यो।
‘इन्डोस्कोपिक अल्ट्रासाउन्ड’ विश्व वैंकको आर्थिक ऋण सहयोगमा कोभिड–१९ इमर्जेन्सी रेस्पोन्स एन्ड हेल्थ सिस्टम प्रिपेयरनेश प्रोजेक्टका रूपमा खरिद गर्न लागेको हो। तर, यसको टेन्डरमा प्रकाशित भएको सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)को बाहिरी सूचनामा भने सरकारी बजेटमा खरिद गर्न लागिएको उल्लेख छ।
यसबाट विभागको महाशाखा टेन्डरको काम सक्काउन कति हतारमा छ भन्ने देखाउँछ।
बस्नेत वैशाख २० गते स्वास्थ्य मन्त्रीमा नियुक्ति भएका थिए। २०८० साउन एक गतेबाट फागुन ६ गतेसम्मको साढे ६ महिनाको अवधिमा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले करिब तीन अर्ब १७ करोड ८२ लाखको मेसिन, औजार तथा उपकरण र स्वास्थ्य सामग्री लगायतको खरिदका लागि टेन्डर गरिसकेको छ।
विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले निकालेको अधिकांश टेन्डरमा निश्चित स्वास्थ्य उपकरण आपूर्तिकर्ता मात्र योग्य हुने गरी मिलेमतो गरिएको देखिन्छ।
व्यवस्थापन महाशाखाका निर्देशक डा. श्रवण थापाको निर्णय अनुसार नै ६ गते आइतबार ‘इन्डोस्कोपिक अल्ट्रासाउन्ड’को टेन्डर भएको देखिन्छ। टेन्डर कागजातमा यो मेसिन खरिदसम्बन्धी आधिकारिक सम्पर्क व्यक्ति डा. थापालाई नै तोकिएको छ।
‘इन्डोस्कोपिक अल्ट्रासाउन्ड’ खरिदका लागि प्रिबिड बैठक फागुन २४ गते (मार्च ७, २०२४)लाई तोकिएको छ। चैत ६ गते (मार्च १९, २०२४)सम्ममा टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकिएको छ भने सोही दिनलाई नै टेन्डर खुल्ने मिति तोकिएको छ।
विभागको व्यवस्थापन महाशाखाले २०८० फागुन ६ गते आइतबार (फेब्रुअरी १८, २०२४) मा पाँच वटा ‘नाक, कान, घाँटीको सर्जरीका लागि आवश्यक सामग्री (प्रकुरमेन्ट अफ इक्युप्मेन्ट फर इएनटी) सात करोड ६० लाखमा खरिद गर्ने गरी टेन्डर आह्वान गरिसकेको छ।
व्यवस्थापन महाशाखाले ‘भिडियो स्ट्रोबोस्कोपि सिस्टम फर इएनटी’ एउटा, ‘इएनटी हाइ इण्ड माइक्रोडेब्रिडर सिस्टम’ दुई वटा, ‘इएनटी माइक्रोस्कोप’ एउटा र ‘हाइ इण्ड इएनटी अपरेटिङ माइक्रोस्कोप’ एउटा गरी नाक, कान, घाँटीको सर्जरीका लागि आवश्यक पाँच वटा सामग्री खरिदका लागि टेन्डर आह्वान गरेको देखिन्छ।
महाशाखाले नाक, कान र घाँटीको सर्जरीका लागि चाहिले भन्दै यी सामग्री विश्व वैंकको आर्थिक ऋण सहयोगमा कोभिड–१९ इमर्जेन्सी रेस्पोन्स एन्ड हेल्थ सिस्टम प्रिपेयरनेश प्रोजेक्टका रूपमा खरिद गर्न लागेको हो।
तर, यो सामग्री खरिदका लागि पनि टेन्डर प्रकाशित भएको सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)को बाहिरी सूचनामा सरकारी बजेटमा खरिद गर्न लागिएको उल्लेख छ।
एक पटक मात्रै हैन, विभागले निकालेको टेन्डरको सूचनामा पटक–पटक गलत लेखिएको देखिन्छ। टेन्डर कागजातमा यो सामग्री खरिदसम्बन्धी आधिकारिक सम्पर्क व्यक्ति डा. थापालाई नै तोकिएको छ।
यसको प्रिबिड बैठक फागुन २४ गते (मार्च ७, २०२४)लाई तोकिएको छ भने चैत ६ गते (मार्च १९, २०२४)सम्ममा टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकिएको छ। टेन्डर खुल्ने मिति पनि सोही दिन तोकिएको छ।
विभागको व्यवस्थापन महाशाखाले २०८० फागुन चार गते शुक्रवार (फेब्रुअरी १६, २०२४) मा दश वटा ‘सी–आर्म मेसिन’ दश करोडमा खरिद गर्ने गरी टेन्डर आह्वान गरेको छ।
यो पनि विश्व बैंकको आर्थिक ऋण सहयोगमा कोभिड–१९ इमर्जेन्सी रेस्पोन्स एन्ड हेल्थ सिस्टम प्रिपेयरनेश प्रोजेक्टका रूपमा सो मेसिन खरिदका लागि टेन्डर आह्वान भएको देखिन्छ।
टेन्डर कागजातमा यो खरिदसम्बन्धी आधिकारिक सम्पर्क व्यक्ति डा. थापालाई नै तोकिएको छ। यसको प्रिबिड बैठक फागुन २२ गते (मार्च ५, २०२४)लाई तोकिएको छ।
चैत चार गते (मार्च १७, २०२४)सम्ममा टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोक्दै टेन्डर समेत सोही दिन खोल्ने सूचनामा उल्लेख छ।
साढे ६ महिनामा तीन अर्ब १७ करोडको टेन्डर
२०८० साउन एक गतेबाट फागुन ६ गतेसम्म साढे ६ महिना भित्रको अवधिमा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले करिब तीन अर्ब १७ करोड ८२ लाखको मेसिन, औजार तथा स्वास्थ्य सामग्री लगायत खरिदका लागि टेन्डर गरिसकेको छ।
महाशाखाले मंसिर २७ गते (डिसेम्बर १३, २०२३) देखि माघ १६ गते (जनवरी ३०, २०२४) सम्म ४९ दिनको बिचमा मात्रै ४२ करोड ७५ लाख ६० हजारको मेसिन, औजार, उपकरण र स्वास्थ्य सामग्री लगायतको खरिदका लागि टेन्डर गरिसकेको छ।
यसअघि विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले २०८० साउन एक गते (जुलाई १७, २०२३) देखि कार्तिक २१ गते (नोभेम्बर ७, २०२३) सम्म करिब चार महिना भित्रको अवधिमा करिब दुई अर्ब ५० करोड ६६ लाखको मेसिन, औजार तथा उपकरण र स्वास्थ्य सामग्री लगायत खरिदका लागि टेन्डर गरेको थियो। तर, ती टेन्डर पनि अधिकांश शङ्कास्पद छन्।
त्यसैगरी नयाँ आर्थिक वर्ष २०८०–०८१ सुरु भएपछि २०८० साउन एक गतेबाट माघ १६ गतेसम्म करिब ६ महिनाको अवधिमा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले करिब दुई अर्ब ९३ लाख ४२ हजारको मेसिन, औजार तथा उपकरण र स्वास्थ्य सामग्री लगायतको खरिदका लागि टेन्डर गरिसकेको थियो।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले हतार हतार गर्दै पछिल्ला दुई दिन(फागुन चार गते शुक्रवार र ६ गते आइतबार)मा मात्रै २४ करोड ४० लाखको मेसिन, औजार तथा उपकरण जस्ता स्वास्थ्य सामग्री खरिदका लागि टेन्डर गरेको थियो।
यो सँगै नयाँ आर्थिक वर्ष २०८०–०८१ सुरु भएपछि २०८० साउन एक गतेबाट फागुन ६ गतेसम्म साढे ६ महिना भित्रको अवधिमा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले करिब तीन अर्ब १७ करोड ८२ लाखको मेसिन, औजार तथा उपकरण र स्वास्थ्य सामग्री लगायतको खरिदका लागि टेन्डर गरिसकेको छ। जुन समाचार उकेराले निरन्तर सम्प्रेषण गर्दै आएको छ।
यी मध्ये अधिकांश टेन्डर निश्चित कम्पनीलाई मात्रै दिने गरी स्पेशिफिकेशन नै लक्ड गरेको देखिएको छ। टेन्डरमा स्वास्थ्य सेवा विभागको स्पेशिफिकेशन बैङ्कमा रहेको स्पेशिफिकेशन प्रयोग गर्ने गरेको आवरणमा विभागमा बायो मेडिकल इन्जिनिरहरुलाई समेत मिलेमतोमा मिलाएर सरकारी खरिदमा चरम अनियमितता गर्दै आएको विषयमा उकेराले यस अघि नै समाचार सम्प्रेषण गरिसकेको छ।
आफू अनुकूलको खरिद टिम, निश्चित सप्लार्यसलाई ठेक्का
स्वास्थ्य उपकरण लगायतका सामान खरिद गर्ने जिम्मेवार निकायमा मन्त्री बस्नेतले आफू अनुकूल कर्मचारीहरू राखेका छन्।
स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगीता कौशल मिश्रा छिन्। उनलाई मन्त्री बस्नेतले नै विभागमा लगेका हुन्। व्यवस्थापन महाशाखाका निर्देशकमा वीरमा रहेका डा. श्रवण थापालाई मन्त्रीले लगेका हुन्। महाशाखाका खरिद शाखामा अख्तियारमै दर्जनबढी उजुरीमा छानबिनमा रहेका डा. सुरेन्द्र चौरासिया प्रमुख छन्।
विभागले निकाल्ने टेन्डरमा सेटिङका लागि सिन्धुपाल्चोकका स्वास्थ्य उपकरण व्यवसायी यज्ञ भण्डारी सक्रिय देखिन्छन्। विभागको कुन टेन्डर कुन सप्लायर्सलाई दिने भन्ने पहिल्यै निश्चित गराएर सोही अनुसार प्राविधिक स्पेशिफिकेशन बनाएर टेन्डर आव्हान हुने गरेको छ।
गंगालाल राष्ट्रिय ह्दयरोग केन्द्रको टेन्डरमा लामो अवधिदेखि एकछत्र कब्जा गरेका यज्ञ, बस्नेत स्वास्थ्यमन्त्री भएपछि विभागको टेन्डरमा सक्रिय भएको देखिन्छ। बस्नेत मन्त्री हुनु अगाडि अन्य सरकारी टेन्डरमा उनी निष्क्रिय थिए। नेपाली सेनाको स्वास्थ्य उपकरणमा समेत यज्ञ हाबी देखिन्छन्।
मिलेमतोमा जुन सप्लायर्सलाई टेन्डर दिलाउने हो उसले आधिकारिक डिलर पाएको अन्तर्राष्ट्रिय कम्पनीको उपकरणको प्राविधिक पक्ष मिल्नेगरि विभागले स्पेशिफिकेशन बनाउने गरेको देखिन्छ। यो समूहले एक उपकरण खरिदमा १० करोडसम्मको कमिसन रकम राख्ने गरेको देखिन्छ।
भण्डारी समूह विभागमा मात्रै हैन बागमती प्रदेशको खरिदमा समेत हाबी छ। नुवाकोटको त्रिशूली अस्पतालले किन्न लागेको सिटी स्क्यान मेसिनको टेन्डरमा समेत यही समूह हाबी भएको थियो।
पहिला प्राविधिक स्पेशिफिकेशन पास भए मात्र आर्थिक प्रस्ताव खोल्ने खरिद कानुनलाई आफू अनुकूल उपयोग गर्दै उनीहरूले मिलेमतोमा आफूसँग डिलरसिप रहेको मेसिनको मापदण्ड मात्र मिल्नेगरि स्पेशिफिकेशन बनाउन लगाउँछन्।
निश्चित मेसिनको प्राविधिक पक्ष मात्र मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन बनाएकाले उनीहरूले चाहेको कम्पनीको टेन्डर मात्र प्राविधिक मूल्याङ्कनमा पास हुन्छ। पहिल्यै स्पेशिफिकेशन लक गरिएकाले उनीहरूले आर्थिक प्रस्ताव मेसिनको वास्तविक मूल्यभन्दा निकै उच्च मूल्य राखेर सरकारकी कोषको दोहन गरिरहेको देखिन्छ।
उकेराले आइतबार यही समूहको मिलेमतोमा १६ करोडमा खरिद गर्न सकिने उपकरणको मूल्य २६ करोड बनाएकोबारे विस्तृतमा समाचारमा प्रकाशित गरेको थियो।
विभागकी महानिर्देशक डा. मिश्रा, व्यवस्थापन महाशाखाका निर्देशक डा. थापा, व्यवस्थापन महाशाखाका खरिद शाखाका प्रमुख डा. सुरेन्द्र चौरासिया आपूर्तिकर्ता अनुकूल हुने गरी टेन्डर प्रक्रिया मिलाउन संलग्न देखिन्छन्।
स्पेशिफिकेशन लक गर्न यो समूहलाई बायो मेडिकल इन्जिनियर आशिष् चौहान र करारमा राखिएकी बायो मेडिकल इन्जिनियर पद्यमा मिश्राले सहयोग गरिरहेका छन्। यो समूहले मिलेमतोमा गरेका खरिद प्रक्रियाबारे उकेराले निरन्तर समाचार प्रकाशित गरिरहेको छ।
मिलेमतोबारे प्रमाणसहित समाचार प्रकाशित भए पनि अधिकांश खरिदमा राष्ट्रिय सतर्कता केन्द्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका मौन देखिन्छन्। केही टेन्डरबारे सतर्कता केन्द्रमा उजुरी परे पनि उनीहरूले मिलेमतो गरिएको प्राविधिक स्पेशिफिकेशनबारे अध्ययनै नगरी टेन्डरको प्रक्रिया मात्र हेरेर मिलेमतोलाई नै वैधता दिने गरेको देखिन्छ।
अख्तियारले त्रिशूलीको खरिदबारे अनुसन्धान गरिरहेको छ। अन्य खरिदको मिलेमतोमा भने निष्क्रिय देखिन्छ। आयोगले प्रमाणसहित प्रकाशित समाचारलाई समेत प्रमाण मानेर अनुसन्धान गर्न सक्छ। खरिदमा हुने मिलेमतो पहिल्याउन आयोगले बायो मेडिकल इन्जिनियरलाई विज्ञको रूपमा राखेको पनि छ।
अधिकांश खरिद टेन्डरमा मिलेमतो भएको प्रमाणहरू सार्वजनिक हुँदा सार्वजनिक खरिदमा हुनसक्ने बदमासी नियन्त्रण गर्ने जिम्मेवारी रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयका अधिकारीहरू समेत मौन देखिन्छन्।
स्वास्थ्यमा सेटिङ श्रृंखला
फागुन ८, २०८० मंगलबार १४:१८:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।