एकल प्रदर्शनको माग गर्दै ‘काँडेतार’ निर्देशक खड्काद्वारा बोर्डमा पत्र, कानुन पालना गर्न आग्रह

एकल प्रदर्शनको माग गर्दै ‘काँडेतार’ निर्देशक खड्काद्वारा बोर्डमा पत्र, कानुन पालना गर्न आग्रह

काठमाडौं : अभिनेता तथा निर्देशक नवल खड्काले आफ्नो फिल्म ‘काँडेतार’को एकल प्रदर्शनको माग गर्दै चलचित्र विकास बोर्डमा पत्र बुझाएका छन्।

चलचित्र विकास बोर्डको नियम अनुसार नै फिल्म प्रदर्शन गर्न लागेको हुँदा अन्य फिल्म प्रदर्शन नगराइदिन उनको माग छ। उनको पत्रमा गत वैशाख ११ गते ‘काँडेतार’ले प्रदर्शन स्वीकृति लिएको र सोही समयमा फागुन २५ गतेलाई रिलिज मिति तोकिएको उल्लेख छ।

चलचित्र विकास बोर्डबाट फिल्म ‘काँडेतार’को कथा पहिलो पटक कथा लेखन प्रतिस्पर्धामा चुनिएर पुरस्कृत भएको विषय समेत खड्काले बोर्डलाई लेखेको पत्रमा स्मरण गराएका छन्।

बोर्डलाई चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७ स्मरण गराउँदै उनले कानुन पालना गराउन सम्बन्धित निकायलाई निर्देशन दिनसमेत माग गरेका छन्।

उनको पत्रमा भनिनएको छ, ‘चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७ बमोजिम चलचित्र विकास बोर्डले चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रमा सोही नियमावलीको नियम ३ को खण्ड ग बमोजिम अनुसुचि ७ बमोजिम इजाजत दिने र उक्त इजाजतपत्रको प्रकरण नं. (च४) प्रदर्शकले स्वदेशी वा विदेशी चलचित्र प्रदर्शन गर्दा चलचित्र जाँच समितिबाट जाँचपास भएको मितिलाई आधार मानि सबैभन्दा पहिले जाँचपास भएको तत् तत् चलचित्रलाई प्रदर्शनको मौका दिनुपर्ने तर कुनै चलचित्रको प्रकृति विशेष किसिमको भई त्यस्तो चलचित्र तत्काल प्रदर्शन गर्न उचित छ भन्ने लागेमा बोर्डले त्यस्तो चलचित्र अगाडिनै प्रदर्शन गर्न स्वीकृत दिन सक्नेछ र सोही इजाजतको प्रकरण नं. (च५) प्रदर्शकले एक दिनमा स्वदेशी र विदेशी चलचित्र प्रदर्शन गर्न नपाउने स्पष्ट ब्यवस्था गरि इजाजत दिएको हुन्छ।’

यहि फागुन २५ गते अभिनेत्री तथा निर्मात्री रेखा थापाको फिल्म ‘उपहार’ र दयाहाङ राई अभिनित ‘रंगेली’ प्रदर्शनमा आउँदैछन्। यो फिल्मको प्रदर्शन रोक्नका लागि नवलले बोर्डलाई पत्र लेखेका हुन्। उकेरासँगको कुराकानीमा खड्काले नियम अनुसार अघि बढेको हुनाले आफ्नो फिल्म एकल प्रदर्शनमा आउनुपर्ने बताए।

‘देशभक्तिपूर्ण फिल्म काँडेतार आउने भएकाले फागनु २५ गते एक जुगमा एक दिन एक चोटी आउँछ भनेजस्तै हो,’ उनले भने, ‘देशप्रेमीहरू फिल्म हेर्न सलबलाइरहेका छन्। देशविरोधी तत्वहरू चाहिँ सलबलाएर यो फिल्म निस्तेज पार्न, कमजोर पार्न लागि परेका छन्।’

फागुन ८, २०८० मंगलबार १०:५५:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।