नाभाल्नीको जेलमै मृत्यु भएपछि उनकी श्रीमतीले सार्वजनिक गरिन् भिडियो, पुटिनमाथि लगाइन् विष खुवाएको आरोप

नाभाल्नीको जेलमै मृत्यु भएपछि उनकी श्रीमतीले सार्वजनिक गरिन् भिडियो, पुटिनमाथि लगाइन् विष खुवाएको आरोप

एजेन्सी : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विपक्षी एलेक्सी नाभाल्नीको मृत्युपछि उनकी श्रीमतीले यो लडाइँ नरोकिने बताएकी छन्।

युलिया नाभेलनायाले सोमबार पुटिनको शक्तिविरुद्ध आफ्नो पतिको लडाइँ जारी राख्ने घोषणा गरेकी छन्। उनले ‘स्वतन्त्र, शान्तिपूर्ण र सुखी रूसका लागि लडाइँलाई अझ बलियो बनाउने’ बताइन्।

४७ वर्षीय नवलनायाले युट्युबमा एउटा भिडियो जारी गर्दै नाभाल्नीलाई आर्कटिक जेलमा विष खुवाइएको आरोप समेत लगाएकी छन्।

भिडियोमा उनले भनिन्, ‘म यो भिडियोमा हुनुहुँदैनथ्यो। मेरो ठाउँमा अर्को मान्छे हुनुपर्थ्यो। तर उन(नाभाल्नी)लाई भ्लादिमिर पुटिनले मारे। तीन दिनअघि पुटिनले मेरो श्रीमान् एलेक्सी नाभाल्नीको हत्या गरे।’

‘पुटिनले मेरा छोराछोरीको बुबाको हत्या गरे। पुटिनले मबाट मेरो लागि सबैभन्दा मूल्यवान र मेराे सबैभन्दा नजिकको व्यक्ति, जसलाई मैले धेरै माया गरेको थिएँ, उनलाई खोसे,’ उनले अगाडि भनिन्, ‘पुटिनले एलेक्सीलाई तीन दिनअघि किन मारेका थिए, त्यो छिट्टै खुल्नेछ। यो अपराध कसले र कसरी गर्यो भन्ने थाहा हुनेछ। म तिनीहरूलाई संसारको अगाडि ल्याउनेछु।’

नाभेलनायाले एलेक्सी नाभाल्नीको कामलाई अब आफूले अगाडि बढाउने बताइन्।

‘म यो देशको लागि लडिरहनेछु र तपाईं पनि मेरो साथमा उभिन अनुरोध गर्दछु। म तपाईंसँग मेरो दु:ख मात्र बाँडिरहेको छैन,’ उनले थपिन्, ‘तपाईंले आफ्नो क्रोध मसँग शेयर गर्नुहोस्, हाम्रो भविष्य बर्बाद गर्न खोज्नेहरू विरुद्धको क्रोध।’

एलेक्सी नाभाल्नीको शुक्रबार रुसी जेलमा मृत्यु भएको थियो। जेल प्रशासनले नाभाल्नी ‘बेहोस भएपछि होसमा नआएको’ बताएको छ। उनको मृत्युको खबर आउने बित्तिकै नाभाल्नीकी आमा र उनका वकिल जेल भएको स्थान साइबेरियन कोलोनी पुगेका थिए।

नाभाल्नीका प्रवक्ताले नाभाल्नीकी आमालाई रुस सरकारले नाभाल्नीको शव दुई सातासम्म परिवारलाई फिर्ता नगर्ने बताएको छ।

फागुन ८, २०८० मंगलबार ०९:०७:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।