सन् २०२३ : मानव अधिकार उल्लंघनबाट ९३८८ पीडित, जातीय विभेदका ६२ घटना

सन् २०२३ : मानव अधिकार उल्लंघनबाट ९३८८ पीडित, जातीय विभेदका ६२ घटना

काठमाडौँ : सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा ९ हजार ३८८ जना पीडित भएको तथ्यांक सार्वजनिक भएको छ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नेपाल मानवअधिकार वर्ष पुस्तक २०२४ सार्वजनिक गर्दै वि.सं. २०७९ पुस १७ देखि २०८० पुष १५ गतेसम्म मानवअधिकार उल्लङ्घनका घटनामा १ सय ४६ जना महिला र ८ सय ४२ पुरुष गरी जम्मा ९ सय ८८ जना पीडित भएको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै, ज्यादतीका घटनामा ७ हजार ७१६ महिला र ६ सय ८२ जना पुरुष पीडित भएको तथ्यांक छ।

इन्सेकले सन् २०२२ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ७ हजार ३७६ जना पीडित भएको उल्लेख गर्दै सन् २०२३ मा यो संख्या २०२२ भन्दा २ हजार १२ जना बढी भएको जनाएको छ।

सन् २०२३ मा राज्य पक्षबाट ६ जनाको हत्या भएको प्रतिवेदनमा उल्लेख छ भने यातनाको घटनामा २ जना, गिरफ्तारीको घटनामा २४० जना, जातीय विभेदका घटनामा ६२ जना, कुटपिटका घटनामा ४१४ जना, अमानवीय व्यवहारका घटनामा ३१ जना, भेला तथा सङ्गठित हुने अधिकारमा ५०५ जना पीडित भएको इन्सेकले अभिलेख राखेको छ।

इन्सेकको अभिलेख अनुसार प्रहरी हिरासतमा २ जना र कारागारमा ५१ जनाको मृत्यु भएको छ। संखुवासभा कारागारमा प्रहरीको यातना तथा कुटपिटबाट २ जना बन्दीको मृत्यु भएको पनि उल्लेख गरिएको छ ।

त्यसैगरी, राज्य पक्षबाट एक जना बेपत्ता पारिएको र अन्य पक्षले २ जनालाई बेपत्ता पारेको इन्सेकको प्रतिवेदनले उल्लेख गरेको छ।

यस अवधिमा ३२३ जना व्यक्तिको हत्या भएको प्रतिवेदनमा देखाइएको छ। जसमध्ये राज्य पक्षबाट ६ जना र अन्य पक्षबाट ३१७ जनाको हत्या भएको पाइएको छ।

फागुन ७, २०८० सोमबार २०:४५:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।