गोर्खा वारियरको दोस्रो ट्रेलर : ट्रेलरमै फिल्मको कथा सक्काउने हो कि क्या हो!
काठमाडौँ : ट्रेलर फिल्मबारे दर्शकको ध्यान तान्ने पहिलो झलक मानिन्छ। तर कमजोर ट्रेलरका कारण गतिला फिल्मले दर्शक पाउन कि पत्यारलाग्दा समीक्षकको समीक्षा पर्खनु पर्छ कि फिल्म हेरेका दर्शकको प्रशंसा। ट्रेलरमै फिल्मको सबै कथा भनिदिँदा अनि कथा लुकाउन अमूर्त ट्रेलर बनाउँदा डुबेका फिल्महरू पनि टन्नै छन्।
वार जनारामा बनेको फिल्म गोर्खा वारियरले तीन साता अगाडि सार्वजनिक गरेको पहिलो ट्रेलरले युद्ध मैदानको मात्र दृश्य राखे कि क्या हो भन्ने भान पारेको थियो। युट्युबमा ट्रेलर हेर्नेहरूको सङ्ख्या राम्रै देखिए पनि त्यसले गतिलो हाइप निर्माण गर्न सकेन।
निर्देशक मिलन चाम्सले बेलायतमा प्रिमियर गरेको फिल्म हलमा लाग्नु अगाडि नेपालभित्र पनि लाहुरेहरूको बाहुल्यता भएको धरानमा लगेर प्रिमियर गरे। तर फिल्मको हैन, धरानका मेयर हर्क साङपाङ रोएको बढी चर्चा भयो।
पहिलो ट्रेलरमा त्यस्तो रुवाउने दृश्य त देखिएको थिएन फिल्मको। हर्कलाई रुवाउने त्यस्तो के दृश्य रहेछ त फिल्ममा? त्यस्तै दृश्य समेटेर निर्माण टिमले दोस्रो ट्रेलर सार्वजनिक गरे।
पहिलो ट्रेलर युद्ध मैदानका दृश्य हाबी थियो। दोस्रो ट्रेलरमा लाहुरको भन्दा लाहुरे परिवारको सामाजिक पक्षलाई केन्द्रमा राखिएको देखिन्छ। सुटिङकाक्रममा भिरबाट खसेर अभिनेता रितेशको ज्यानै जोखिममा परेको दृश्य समेत अटाएको छ दोस्रो ट्रेलरमा।
युद्ध मैदानमा हतियार बोकेर ज्यानकै माया मार्ने लाहुरेहरूमा पनि डर त हुन्छ है भन्ने सन्देश समेटिएको छ’ जनावरदेखि डर लाग्छ’ भन्ने संवाद मार्फत। तर ट्रेलरमा मा…मु शब्द राख्न आवश्यक थियो र?
वार मात्र देखाएर भएन भनेर दोस्रो ट्रेलरमा सामाजिक पक्ष समेटे। अब यो पनि नचले तेस्रो ट्रेलर पनि रिलिज गर्ने त हैन! यस्तै हो भने त दर्शकलाई हलमा जाने टन्नै भएन। ट्रेलर हेर्दाहेर्दै फिल्मको सबै कथा बुझ्न पाइहालिन्छ। दर्शक तान्न पटक-पटक ट्रेलर रिलिज गर्दा ब्याक फायर हुन बेर पनि छैन।
निर्माण टिमको दाबी अनुसार फिल्ममा सन् १९४९ मा ‘मलाय इमर्जेन्सी जङ्गल वार’ मा गोर्खाली सेनाले लडेको युद्धमा केन्द्रित रहेको दाबी गरिरहेका छन्। फिल्मको ट्रेलरमा पनि मेसिन गनसँग खुकुरीले लडिरहेको दृश्यहरू समेटिएको छ।
फिल्ममा रितेशसँगै विजय लामा, रेविका गुरुङ, सारा राई, रियर राई, शिशिर वाङ्देल, कविता आले, सुरज तमु, सुमीन गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ।
नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा निर्माण गरिएको फिल्म लन्डन सिनेआई प्रोडक्सन र चाम्स इन्टरटेन्मेन्टले बनाएको हो भने फिल्मको निर्मातामा सुस्मिता वाइबा, सुमन राई र कार्यकारी निर्मातामा प्रशान्त थापा र राजेन्द्र घिमिरे रहेका छन्। फिल्म फागुन ११ गते रिलिज हुँदैछ।
फागुन ७, २०८० सोमबार १९:२८:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।