अजित मिजारको हत्यारालाई कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन

अजित मिजारको हत्यारालाई कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं : अजित मिजारको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।

एकीकृत दलित मुक्ति मोर्चा, जात व्यवस्था उन्मूलन मोर्चा, नेपाल राष्ट्रिय दलित केन्द्र र संयुक्त दलित अधिकार मञ्चले संयुक्त प्रदर्शन गरेका हुन्। छुट्टाछुट्टै राजनीतिक दलका भातृ संगठनका रूपमा रहेका ती संगठनहरूले अजित मिजारको न्यायको निम्ति गर्दै आएको संयुक्त खबरदारी अन्तर्गतको यो प्रदर्शन दोस्रो कार्यक्रम हो।

प्रदर्शनकारीले अजितका हत्यारालाई कारबाही र पीडित परिवारलाई न्यायको माग गरेका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले तोकेको निषेधित क्षेत्र तोडेपछि ३७ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ।

काभ्रेको पाँचखाल नगरपालिका–६ होक्सेका १८ वर्षीय अजित २०७३ असार ३० गते धादिङको परेवाटारमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। शवको सनाखत नभएपछि प्रहरीले तत्कालीन कुम्पुर गाविसको अनुमति लिई अजितको शव पोस्टमार्टम गरी शव गाडेको जानकारी पाएपछि अजितको परिवार धादिङ पुगेको थियो। तर, अन्त्येष्टिका लागि अजितको शव उत्खनन गरेपछि पोस्टमार्टम नभएको खुलेपछि उनको हत्या भएको आशंका गरिएको थियो।

उनले २०७३ असार २५ गते एक स्थानीय युवतीसँग अन्तर्जातीय प्रेम विवाह गरेका थिए। केटी पक्षबाट ज्यान मार्ने धम्की आएको र शव गाडिनु नै शंकास्पद भएको भन्दै मिजारको परिवारले हत्या गरेको आरोपमा मुद्दा दर्ता गराएको थियो।

जिल्ला अदालत धादिङ, उच्च अदालत ललितपुरले मिजारलाई न्याय दिलाउन नसकेपछि सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ।

सर्वोच्च अदालतले २०८० फागुन ८ गते पेशी तोकेको छ। 

अजितको शव ८ वर्षदेखि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

फागुन ७, २०८० सोमबार १८:३०:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।