‘कांग्रेसका वडाअध्यक्षदेखि मन्त्रीसम्म सबैको सम्पत्ति छानबिन गर्दा आगामी चुनावमा पार्टीको बहुमत आउँछ’

‘कांग्रेसका वडाअध्यक्षदेखि मन्त्रीसम्म सबैको सम्पत्ति छानबिन गर्दा आगामी चुनावमा पार्टीको बहुमत आउँछ’

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेसबाट निर्वाचित वडा अध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन गर्नुपर्ने प्रस्ताव महासमितिले पारित गर्नुपर्ने बताएका छन्।

सोमबार कांग्रेसको महासमिति बैठक उद्घाटन सत्रमा बोल्दै उपसभापति गुरुङले महासमिति बैठकले यो प्रस्ताव पारित गरेमा पार्टीले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन्।

उनले क्रोनी क्यापिटलिजमका कारणले नेताहरू व्यापारीजस्ता व्यापारीहरू नेताजस्ता देखिएका बताए। उनले भ्रष्टाचारका कारण आर्थिक सुशासन कायम गर्न नसकिएको पनि बताए। उनले भ्रष्टाचार रहेसम्म वर्गीय असमानता कायम रहने बताए।

उनले भने ‘आर्थिक सुशासन कायम गर्न नसक्नु भनेको भ्रष्टाचार नै हो। भ्रष्टाचारका कारण हामी अल्मल्लिएका छौँ। त्यसैले म निवेदन गर्न चाहन्छु, जबसम्म भ्रष्टाचार रहन्छ, तबसम्म विपन्नलाई सम्पन्न बनाउन सकिँदैन। भुइँ मान्छेलाई माथि उठाउन सकिन्न। झुपडीलाई महलमा परिवर्तन गर्न सकिन्न। फेदमा बसेकोलाई टुप्पोमा पुर्याउन सकिँदैन। यसतर्फ ध्यानाकर्षण गराउन चाहन्छु। जनतालाई छुने गरेर यो महासमिति बैठक सम्पन्न हुनैपर्छ। त्यस कारणले कांग्रेसको तर्फबाट वडा अध्यक्ष भएदेखि मजस्ता मन्त्री भएकाहरूको सम्पत्ति छानबिन गरिनुपर्छ भन्ने प्रस्ताव यो महासमितिले पारित गरिनुपर्छ। यति गरेमा आगामी दिनमा पहिलो पार्टी मात्र होइन बहुमतको पार्टी फेरि तीनै तहमा अगाडि बढ्नेछौँ।’

पार्टीको सांगठनिक संरचना सुधार गर्ने अधिकार महासमितिले राख्ने उनले बताए।

उनले भने, ‘भद्दा संरचनालाई हटाएर चुस्त बनाउनुपर्छ। मुसाले धेरै बच्चा जन्माउँछ। हात्तीले एउटा जन्माउँछ, तर त्यही शक्तिशाली हुन्छ।’

केन्द्रीय समिति बैठकले गरेका निर्णयहरूलाई महासमिति बैठकले सच्याउन पनि सक्ने उनको भनाइ छ।

७ फागुन, २०८०, १७:३३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।