तिलोत्तमा नगरपालिकाको प्रचार मोह : घोषणा गरेको गर्यै, कार्यान्वयन शून्य

तिलोत्तमा नगरपालिकाको प्रचार मोह : घोषणा गरेको गर्यै, कार्यान्वयन शून्य

बुटवल : २०७९ चैत १ गते रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ‘हरियाली प्रवर्द्धन एवं नियमित सरसफाइ अभियान’को १०० औँ श्रृंखलामा पुगेको अवसरमा गुट्खा बिक्रीमा प्रतिबन्ध लगाउने घोषणा गर्यो। त्यति मात्र होइन, त्यही कार्यक्रममा तिलोत्तमाको मुख्य राजमार्ग क्षेत्रमा हर्न निषेधको समेत घोषणा भयो।

उक्त कार्यक्रममा नगरप्रमुख रामकृष्ण खांणले वातावरणसँग सम्बन्धित पशु दर्ता प्रणाली सञ्चालन, फोहरमैला वर्गीकरण गरिने समेतका प्रतिबद्धता गरेका थिए।

यत्तिका प्रतिबद्धता घोषणा भएको एक बर्ष पुग्नै लाग्दा यी सबै केवल घोषणामै सीमित भएका छन्। 

फोहरमैला वर्गीकरण भनिएको छ। तर, नगरपालिकाले फोहोर छुट्टै उठाउने गरेको छैन। पशु दर्ता प्रणाली पनि अझै हुन सकेको छैन।

गुट्खा प्रतिबन्धका लागि केही समय अनुगमन भएपनि त्यो व्यवस्थित हुन सकेन। अहिले पनि तिलोत्तमा बजारका पसलमा खुलेयाम गुट्खा बिक्री भइरहेको छ। हर्न निषेध घोषणा त केवल घोषणामै सीमित भयो। यसको कार्यान्वयन सडकमा छैन भन्दा पनि हुन्छ।

तिलोत्तमा नगरपालिकालाई नेपालमै पहिलो पटक ‘शून्य पोलिथिन क्षेत्र’ ०७६ फागुन ३० गते नै घोषणा गरियो।

शून्य पोलिथिन नगर घोषणा कार्यान्वयनका लागि कार्यविधि निर्माण गरेर २०७६ साल चैत ४ मा स्थानीय राजपत्रमा प्रकाशन भयो। तिलोत्तमा नगरपालिकाको फोहरमैला व्यवस्थापन, शून्य पोलिथिन तथा पूर्ण सरसफाइ नगरपालिका अभियान कार्यान्वयन कार्यविधि २०७६, को परिच्छेद –५ मा शून्य पोलिथिन सम्बन्धी व्यवस्था गरिएको छ।

तर, अहिले पनि तिलोत्तमा नगरभित्र पोलिथिनको प्रयोग व्यापक भएको देखिन्छ। बजारमा खुलेयाम रुपमा पोलिथिनको प्रयोग हुँदासमेत नगरपालिकाले अनुगमन गरेर जफत गर्न सकेको छैन।

तिलोत्तमाको ६ लेन सडकमा हरियाली, लाईट र सिसिटिभी जडित हुँदा नगरपालिकाले वाहवाही पाए पनि भित्री बस्तीका जनताहरू खुसी भने छैनन्। मुख्य राजमार्ग बाहेक भित्री सबै सडक कालोपत्रे हुन सकिरहेका छैनन्।

तिलोत्तमा–२ शंकरनगर चोकदेखि बनबाटिका सम्मको सडक कालोपत्रे बाहेक भित्री कुनै पनि सडक कालोपत्रे हुन सकेको छैन। बनबाटिकादेखि दिपनगर जाने सडकको हालत हेरिनसक्नु छ। 

पत्थरडाँडाँबाट पश्चिम जाने सडक खाल्डाखुल्डीले हिँड्नै सकस हुन्छ। तिलोत्तमाको चक्रपथको सडक पनि उस्तै छ। तिलोत्तमा–९ मंगलापुरदेखि कान्छी बजार जोड्ने सडकको हाल पनि बताइसक्नु छैन। तथापि अहिले यो सडक स्तरोन्नतिको काम भइरहेको छ। 

४ दशमलव ८६ किलोमिटरको सो सडकखण्ड विश्व बैंकले ५९ करोड ३ लाख रुपैयाँ आर्थिक सहयोग स्तरोन्नति भइरहेको हो।

नयाँमलिदेखि पश्चिम तिलोत्तमा–६ को दश नम्बर पुग्ने सडक, भलवारीदेखि पश्चिमतर्फ रहेको अमुवा वेथरी जोड्ने सडकको अवस्था पनि जीर्ण छ। 

यी त केवल प्रतिनिधि उदाहरण मात्र हुन्। यी बाहेक बालमैत्री घोषणा कार्यक्रम, पकेट मेरो पहिलो डस्विन कार्यक्रम पनि प्रभावकारी भएका छैनन्। तिलोत्तमाको शान्ति चोकमा जडित पैदलयात्री आफैंले बटन थिचेर बाटो क्रस गर्न सक्ने ट्राफिक लाईटको प्रयोग धेरैले गरेकै छैनन्।

हरियो बत्ती बल्दा जाने र रातो बत्ती बल्दा रोकिने अभ्यास त्यहाँ भएकै छैन। आईएसओ सर्टिफाईड यो नगरपालिकाले गरेका निर्णय कार्यान्वयनमा चुनौती हुनुका पछाडि नगरबासीका चेतना जगाउन नसक्नु नै प्रमुख कारण हो। 

नयाँ-नयाँ कार्यक्रम घोषणा गर्ने तर त्यसको नियमित अनुगमन गर्न नसक्दा नगरपालिकाले घोषणा गरेका कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुन नसकेको हो।

तिलोत्तमा नगरपालिकाले हालै मात्र योगीकुटी र भलबारीसम्मको दोहोरो सर्भिस लेनमा २० किलोमिटरको साइकल लेन तयार गरेर वाहवाही पाएको छ। तर, उक्त लेनको डिजाइन गलत छ।

साइकल लेनलाई नाली तर्फको भागमा बनाउनुपर्नेमा ठिक विपरीत बनाइएको छ। यसले साइकल यात्रीहरूलाई थप जोखिम बढाएको जानकारहरू बताउँछन्। डिजाइन गलत हुँदा १० लाखको लागतमा निर्माण भएको लेनको प्रयोग पनि कार्यान्वयनमा आउनेमा शंका छ।

समुदायमा आधारित कतिपय योजनामा समुदायसम्म नै नपुग्दा कार्यान्वयन चुनौती बन्दै गएको विश्लेषकहरू बताउँछन्। स्थानीय तहका जानकार युवराज कंडेल कार्यक्रम कार्यान्वयन गर्ने संयन्त्र तयार नहुँदै अगाडि बढाउँदा कार्यान्वयनमा समस्या देखिएको बताउँछन्।

‘कसरी पहिलो बन्ने भन्ने दौड बढी भयो। त्यो पहिले पनि थियो,  अहिले पनि छ। तर कार्यक्रम अगाडि बढाउँदा कसरी कार्यान्वयन गर्ने भन्नेमा स्थानीय सरकारको ध्यान गएन। त्यसै कारण घोषणा गरिएको कतिपय योजना घोषणामै सीमित भएका छन्,’ उनले भने।

उनले समुदाय स्तरमा अझै चेतना जगाउन पनि जरुरी रहेको बताए। घोषणामा पहिलो हुन कतिपय कार्यक्रम अघि बढाउँदा नागरिकलाई थाहै नहुने भन्दै समुदाय स्तरमा सचेतना बढाएर मात्र कार्यक्रम अगाडि बढे कार्यान्वयन हुनसक्ने उनको भनाई छ।

उनले बाहिरबाट आउने नागरिकबाट असहयोग हुँदा पनि कतिपय कार्यक्रमको प्रभावकारी कार्यान्वयन भएको बताए।

‘मिडियामा मात्र छाइरहने काम भयो। घोषणा गरिएका बालमैत्री, महिलामैत्री नगर कार्यक्रम घोषणा गर्नकै लागि मात्र ल्याइएका जस्ता भए। वृद्धवृद्धालाई घरमै स्वास्थ्य उपचार, पशुको अभिलेखिकरण, स्टिकर टाँस्ने काम सबै कार्यान्वयनमा आएनन्। यसले गर्दा जसरी पनि चर्चामा आउने हुटहुटी मात्र बनाउने काम भयो,’ उनले भने।

सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमामा पर्ने बेलहिया–बुटवल ६ लेन सडक क्षेत्रमा ०८० वैशाख ११ गते तिलोत्तमा नगरपालिकाले फ्री वाईफाई जडान गरे पनि त्यसको प्रभावकारिता देखिएको छैन।

तिलोत्तमाको सीमा क्षेत्र योगीकोटीदेखि कोटीहवा सम्मको १३ किलोमिटर सडक क्षेत्रमा फ्री वाईफाई सुरू गरिए पनि अहिले नेट राम्रोसँग चल्दैन।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख खांण पनि अगाडि बढाइएका कार्यक्रमहरू कार्यान्वयन पूर्ण हुन नसकेको स्वीकार गर्छन्।

‘कार्यक्रम पूर्णरुपमा कार्यान्वयन हुन सकेनन भन्ने होइन। कार्यान्वयनको चरणको अवस्थामा छन्। तर पूर्ण भइसकेको छैन। अनुगमनको पाटो केही कमजोर भएको छ,’ उनले भने।

अहिले तिलोत्तमा नगरपालिकामा ६ जना मात्र नगरप्रहरी छन्। बजारको व्यवस्थापनमा नगरप्रहरीको ठूलो भूमिका हुने भएपनि संख्या कम हुँदा समस्या भएको नगरप्रमुख खांण बताउँछन्।

‘पहिले १० जना नगरप्रहरी थिए। अहिले छाड्दै जाँदा ६ जना मात्र छन्। उनीहरू कहिले खोलामा दौडिनु पर्छ कहिले नगरपालिकामै काम हुन्छ। नगरप्रहरी कम हुँदा पनि अनुगमनको पाटो केही कमजोर भएको हो,’ उनले भने।

उनले नगरपालिकाले अंगीकार गरेका कार्यक्रम कार्यान्वयनका लागि टोल विकास संस्थामार्फत् नागरिक समक्ष अझै चेतना विस्तार गर्ने योजना रहेको बताए। साथै, अबको नगरसभाबाट २० नगरप्रहरी बनाउने र नगरप्रहरीको संख्या बढे सँगै कामको प्रगति देखिने उनले बताए।

तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरपालिकाले घोषणा गरेका कार्यक्रम कार्यान्वयन नगरपालिका एक्लैले गर्न नसक्ने भन्दै सर्वपक्षीय समन्वय जरुरी रहेको बताए।

‘कामहरू भएका छन् । प्रभावकारी नभएको हुन सक्छ। यसमा जनता र व्यवसायीहरूबाट हातेमालो हुनुपर्छ। नगरको विकास हाम्रै लागि हो भन्ने जनतामा हुनुहुन्छ। यसो भएमा मात्र कार्यक्रम कार्यान्वयन हुन्छ र समृद्ध तिलोत्तमा बन्छ,’ उनले भने।

फागुन ७, २०८० सोमबार १७:०१:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।