आईसीसी विश्वकप क्रिकेट लिग-२ : नामिबियाविरुद्व नेदरल्यान्ड्सको सहज जित

आईसीसी विश्वकप क्रिकेट लिग-२ : नामिबियाविरुद्व नेदरल्यान्ड्सको सहज जित

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिदेशीय शृंखलामा नेदरल्यान्ड्सले नामिबियाविरुद्ध सात विकेटले जित निकालेको छ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नामिबियाले प्रस्तुत गरेको १२४ रनको लक्ष्य नेदरल्यान्ड्सले २७.२ ओभरमा तीन विकेट गुमाएर भेट्टाउँदै शृंखलामा पहिलो जित निकालेको हो।

नेदरल्यान्ड्सको जितमा ओपनर माइकल लेभिटले ५७ रन बनाए। उनले एक बलमा आठ चौका र दुई छक्का हिर्काए।

लेभिटले पहिलो विकेटका लागि म्याक्स ओ'डोडसँग सात रनको साझेदारी गर्दै नेदरल्यान्ड्सलाई बलियो सुरुआत दिलाएका थिए। ओ'डोडले २८ रन थपे।

त्यस्तै, बास डे लिडे २१ रनमा अविजित रहे। नामिबियाका कप्तान गेरहार्ड इरास्मसले तीन विकेट लिए।

त्यसअघि नेदरल्यान्ड्सका आर्यन दत्तले घातक बलिङ गरेपछि टस हारेर फिल्डिङमा आएको नामिबियाले ३५.१ ओभरमा सबै विकेट गुमाएर १२३ रनमा अलआउट भएको थियो। नामिबियालाई सस्तैमा समेट्न नेदरल्यान्ड्सका आर्यन दत्तले ६ विकेट लिएका थिए।

नौ ओभर बलिङ गरेका दत्तले ३४ रनमात्र खर्चिए। काइल क्लेइनले दुई विकेट लिँदा रोइलोफ भान डेर मेर्वे र म्याक्स ओ'डोडले समान एक विकेट लिए।

नेदरल्यान्ड्सको बलिङविरुद्ध संघर्षरत नामिबियाका जेजे स्मिथले सर्वाधिक २६ रन बनाए। रुवेन ट्रम्पेलमेनले २० र जेन ग्रिनले १९ रन थपे।

त्यस्तै, निकोलास डाभिन र कप्तान गेरहार्ड इरास्मसले समान १३ रन बनाउँदा बर्नार्ड स्कोल्जले १२ रन जोडे।

सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित हुँदा दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो।

फागुन ७, २०८० सोमबार १५:२०:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।