संगठनको प्रतिनिधि राखेको भन्दै प्रेस युनियनद्वारा कांग्रेस महासमिति बैठक अस्वीकार
काठमाडौँ : नेपाल प्रेस युनियनले नेपाली कांग्रेसको महासमिति बैठकमा संगठनका तर्फबाट तीन जनालाई सहभागी गराएकोमा आपत्ति जनाएको छ।
युनियन कांग्रेसको भातृ संगठन नभई शुभेच्छुक संस्था मात्र रहेको तर पार्टीले भातृ संगठन जसरी संस्थागत प्रतिनिधित्व गराएको भन्दै संस्थाको केन्द्रीय समितिले संस्थागत सहभागिता जनाउन अस्विकार गरेको हो।
कांग्रेस महासमिति बैठकमा युनियनको संस्थागत प्रतिनिधि भन्दै बद्री सिग्देल, इश्वरी ओझा र सरोज अधिकारीको नाम तोकिएको छ।
युनियनका अध्यक्ष लम्सालले जारी गरेको विज्ञप्तिमा युनियन केन्द्रीय समितिको अधिकारमाथि नै हस्तक्षेप गरेको भन्दै महासमिति बैठकमा सहभागी नहुने उल्लेख छ।
‘नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भई क्रियाशील रहेको अवस्थामा प्रचलित विधान, परम्परा र नैतिक मूल्यको समेत पर्वाह नगरी महासमिति बैठकमा युनियनको प्रतिनिधित्वबारे अप्रासंगिक र अनधिकृत निर्णय गरिएकोप्रति युनियनको गम्भीर आपत्ति छ,’ विज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक अभ्यासबाट निर्वाचित युनियन केन्द्रीय समितिको कार्यक्षेत्रमाथि गरिएको हस्तक्षेप हामीलाई कदापि स्वीकार्य छैन।’
पार्टीको निर्वाचन समितिको निर्णयले लामो समयदेखि कायम रहेको युनियन र कांग्रेसबीचको शुभेच्छुक सम्बन्धलाई नै बिथोल्न खोजेको विज्ञप्तीमा उल्लेख छ।
‘निर्वाचन समितिको अक्षमता र विधानको गलत व्याख्या गरी गरिएको निर्णयप्रति घोर भर्त्सना जनाउँदै यथास्थितिमा नेपाली कांग्रेसको महासमिति बैठकमा नेपाल प्रेस युनियनको संस्थागत उपस्थिति नरहने ब्यहोरा जानकारी गराउँछौँ,’ विज्ञप्तिमा लेखिएको छ, ‘अलोकतान्त्रिक निर्णयविरुद्ध गोलबद्ध हुन र प्रेस युनियनको गरिमामाथि गरिएको प्रहारको यथोचित प्रतिवाद गर्न आह्वान गर्दछौँ।’
फागुन ७, २०८० सोमबार १४:५९:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।