‘मिनी जापान’मा ६० वर्षदेखि तान सम्हालिरहेका ‘पूर्ण मास्टसाब’

‘मिनी जापान’मा ६० वर्षदेखि तान सम्हालिरहेका ‘पूर्ण मास्टसाब’

ललितपुरको लुभुमा पुग्ने बित्तिकै ‘खटखटखट’ आवाज सुनिन्छ। तानको कपडाले गर्दा कुनै समय ‘मिनी जापान’ भनेर पनि चिनिने यस क्षेत्रमा अहिले पनि केहि पुराना कामदार भेटिन्छन्। तर, कपडा उद्योग भने न्यून भइसकेका छन्। तानमा काम गर्ने सबैभन्दा पुराना मानिस खोज्दै जाँदा लुभुका स्थानीयसँग सोधियो। भेटेकामध्ये सबैले एउटै नाम लिए-‘पूर्ण मास्टसाब।’

पूर्ण मास्टसाबको पूरा नाम हो- पूर्ण बहादुर श्रेष्ठ हो। लामो समय शिक्षक पेशा अङ्गालेका उनलाई अझै टोलमा सबैले मास्टरसाब नै भनेर चिन्छन् अनि त्यसैगरी सम्बोधन पनि गर्छन्। उनी शिक्षक पेशाबाट अवकाश लिएर आफ्नो पुरानै काममा फर्किएको पनि २५ वर्ष भइसक्यो। जीवनको ७६औं हिउँद कटाएका उनी आफ्नो कामलाई लिएर निकै खुसी देखिन्छन्। घरेलु कामलाई ‘घरेलु उद्योग’सम्म बनाउनमा योगदान दिएकाका आफ्नो पुर्खाप्रति आभारी पनि हुन्छन्।

लुभुमा सुती कपडा उद्योग चलाइरहेका उनको कारखानामा अहिले २० जनाले प्रत्यक्ष रोजगार पाएका छन्। कर्मचारी व्यवस्थापनसँगै उद्योगको सम्पूर्ण काम उनी पूर्ण आफैंले सम्हाल्छन्। पहिला र अहिलेमा उनको व्यस्ततामा कुनै फरक आएको छैन। फरक यत्ति हो, पहिला उनी आफैँ कपडा बुन्थे भने अहिले अहिले कपडा बुन्नेहरू र ग्राहकको व्यवस्थापन गरे पुग्छ।

कसैले यो उद्योग कति पुरानो हो? भनेर प्रश्न गर्दा उनी सिधै ‘२०३९ सालमा दर्ता भएको हो’ भन्छन्। २०३९ मा सरकारले सबै उद्योगहरू दर्ता गर्नुपर्छ भनेर सूचना जारी गरेपछि उनले पनि दर्ता गरेका थिए। यद्यपि उनको उद्योग भने त्यसअघिकै हो।

उद्योगको रूपमा त्यसबेला वैधानिक भए पनि उनको काम त्यो भन्दा अगाडि नै व्यापक व्यावसायिक भइसकेको थियो। उनको घरैमा हातले बुन्ने तानको प्रयोग हुन्थ्यो। स-परिवार मिलेर काम गर्न थालेपछि व्यावसायिक रूपमै अघि बढ्यो। अनि घर बाहिरको हुँदै जिल्ला बाहिरको व्यक्तिहरूले समेत यो काम गर्न लैजान थाले।

तान बुन्दै, पढ्दै अनि पढाउँदै
‘म त सानै थिएँ नि! त्यसबेला नै धेरै मान्छेहरू धागो किन्ने, तान बुन्ने भन्दै घरमा आएको देखेको हो,’ उनले पुराना दिन सम्झिँदै भने, ‘त्यसबेला लुभुमा भर्खर-भर्खर यो काम शुरू भएको थियो। अनि मेरो ठूलोबाले २००० सालमा एउटा तान बोकेर घरमा आउनुभएको रहेछ। त्यसपछि घरमा सबैले यही काम गरे। मेरो बा’ले पनि यही गर्नुभयो।’

उनी आफ्नो पेशालाई पुर्ख्यौली भन्दैनन्। यहाँको अन्य नेवार वस्तीको बासिन्दाले गर्ने जस्तै उनीहरू पनि खेती नै गर्थे। खानाको मुख्य स्रोत नै खेत थियो। धान, तोरी, साग लगायतका जे-जे हुन्छ, त्यो उत्पादन गर्ने अनि कोही बेच्ने गरेर नै परिवार चलिरहेको थियो। ठूलोबाले तान ल्याएपछि मात्र परिवारको जिन्दगी नै अर्कोतर्फ मोडिएको उनी बताउँछन्।

उनले हुर्कँदै गर्दा घरमा तानको व्यवसाय पनि हुर्कँदै गरेको देखे। उनी १२ वर्षको हुँदा घरमा दुईटा तान थियो। जसमा परिवारले पालै-पालो बुन्ने गर्थे। कपडा व्यवसाय विस्तृत हुँदै गए पछि घर बाहिरकाले पनि ज्यालादारीमा काम गर्न थालेको उनी अहिले पनि सम्झिन्छन्।

‘पढ्न जाने अनि फुर्सदको समयमा बुन्ने गरेर मैले पनि सिकेको। त्यसबेला हामीले व्यवसायीक रूपमा चलेको हुनाले बाहरूले चैं बेच्न लानुहुन्थ्यो’, उनले सुनाए।

पढाइ खर्च जुटाउनकै लागि उनले पनि तान बुने

‘त्यो बेला पैसा त हुँदैन थियो हाम्रो। म १२ वर्षको हुँदा देखिनै काम तान बुनेको। त्यतिखेर पैदल पनि चलाउन पर्थ्यो। पैदल चलाउन मलाई हम्मे-हम्मे पर्यो,’ उनी सुनाउँदै गए, ‘बिहान-बिहान पढ्यो अनि यता आएर बुन्यो। फेरि स्कुल गयो। स्कुलबाट आएपछि पनि बुन्यो। पुस, माघमा दुई महिनाको बिदा हुन्थ्यो। त्यसबेला त मैले धेरै कमाउँथे। बाहिरको मान्छेको पनि बुन्दा मलाई एक वर्षसम्म स्कुलमा पैसा तिरेर खान पनि पुग्थ्यो।’

दिनमा पचास/साट्ठी पैसा कमाउँथे उनले। जसमध्ये महिनामा बीस पैसा स्कुलमा दिन्थे, बाँकी घरमा दिने र आफैँ चलाउँथे।

‘शनिबार नुवाइ-धुवाई गरेपछि त गर्ने नै यही हो। सक्नेजति गरेँ त्यसबेला पनि। मेरो बाल्यकालदेखि नै यही काम नै भयो,’ उनी भन्छन्, ‘एसएलसीपछि चैँ मलाई यतै स्कुलमा पढाउन बोलायो। पढ्ने-पढाउने तान बुन्ने सबै गरेँ। अहिले त मेरो पेन्सन पनि आउँछ।’

०५५ सालमा दुवै भाइहरू छुट्टिएपछि भने उनले शिक्षक पेशाबाट अवकाश लिएर पूर्ण रूपमा यही काम सम्हाले।

‘त्यसबेला त पस्मिनाको काम पनि थियो। पस्मिनाको काम निकै संवेदनशील हुन्छ। त्यही भएर मैले यही कामलाई राम्रोसँग सम्हाल्न चाहेँ’, उनी सुनाउँछन्।

बिजुली आएपछि फस्टाएको उद्योग 
‘भक्तपुरदेखि यहाँको कपडा बुन्न लान्थ्यो। दुई चार सय वटा त भक्तपुरकै तान हुन्थ्यो। जसमा एक जनाले मात्र ६ सय गजसम्म बुन्थे। कम बुन्नेहरूले पनि सय/डेढ सयसम्म बुन्थे,’ उनी भन्छन्, ‘०२५/०२६ सालमा त बिजुली पनि आयो नि! त्यसले गर्दा हाम्रो व्यवसाय झन् अघि बढ्न सहयोग भयो। बिजुलीबाट चल्ने तान आएपछि कपडाको डिजाइन पनि निकाल्न सक्यौँ। त्यसपछि हो घर-घरमा भन्दा बजारमा सामान बढी जान थालेको।’

पछि बिजुलीको तानहरू ठमेल र कीर्तिपुरमा पनि बनाउन थालेको उनी सुनाउँछन्।

‘मरिचमान प्रधानमन्त्री हुँदा त हामीले पनि कर तिर्नुपर्यो। त्यस बेलादेखि अहिलेसम्म हामी कर तिर्ने गरेको हो’, उनले सुनाए।

पहिला वर्षमा २०/३० हजार मिटर कपडा तयार हुनेमा अहिले भने महिनामा नै ५०/६० हजार मिटर कपडा उनको उद्योगले उत्पादन गरिरहेको छ। यद्यपि क्षमता भने ७०/८० हजार मिटरको रहेछ।

उनको उद्योगमा उत्पादन भएका १० देखि १५ प्रतिशत कपडा मात्र नेपालमा बिक्री हुन्छ। बाँकी सबै जापान, अमेरिका र युरोपमा जाने बताउँछन् पूर्णबहादुर। अहिले उनको चलिरहेको तान ५० वटा छ। बाहिरको जिल्लातिर उनले तान पठाउन छोडिसके।

‘कर र भ्याटले गर्दा बाहिर जिल्लामा काम दिन गाह्रो भइरहेको छ। अहिले जो कोहिले यो काम गर्न सक्दैनन्। सरकारको नीति अनुसार सबैले काम गरोस् भन्ने नै भएन। यसमा झन् झन्झट हुँदै गयो। नीतिले हामी जस्ता घरेलु उद्योगीहरूको लागि काम गरेन,’ उनी सुनाउँदै गए, ‘हाम्रो त पहिलादेखि नै स्थापित भएर अलि सहज भएको हो। नयाँलाई गाह्रो छ।’

बुटवल धागो कारखाना रहेसम्म सधैँ त्यहीबाट धागो ल्याउने गरेकोमा अहिले भने सबै भारतबाट आयात हुने गरेको उनी सुनाउँछन्।

‘धेरै पुरानो भएको कारण त्यसबेला नै हामीलाई भन्सार कम गरिदिएको थियो। अहिले पनि हामीलाई भन्सार एक प्रतिशत लाग्छ। भ्याट १३ प्रतिशत नै भइहाल्यो। तर यही धागो व्यापारीबाट झिकायो भने ५ प्रतिशत लाग्छ,’ उनी भन्छन्, ‘अब झिकाउन सक्ने उद्योगले एक प्रतिशतमा झिक्ने। नसक्नेले ५ प्रतिशतमा झिक्न परेपछि नयाँ उद्यमी कसरी टिक्न सक्लान् र!’

‘लुभुमा कपडा उद्योगको भविष्य छैन’
त्यै भएर लुभुको अधिकांश उद्योग बन्द भएको पनि उनी अनुमान लगाउँछन्। 

‘सानो उद्योगले धान्न सकिरहेको छैन। नत्र पहिला त यहाँ हरेक घरमा तान थियो। घर-घरमा तान देख्दा त पर्यटकहरूले यो ठाउँलाई जापान भन्थ्यो नि! हरेक घरको हरेक आँगन र चोटामा तान बुनिरहेका हुन्थे। अहिले त्यो देख्नै पाउँदैन’, मलिन आवाजमा उनले भने।

यस सम्बन्धी उद्योग सञ्चालनको लागि धेरै ठाउँ पनि चाहिन्छ। अहिले यहाँको जग्गाको भाउ पनि आकाशियो। पुर्ख्यौली जग्गा भएको बाहेकलाई जग्गाको भाउले पनि समस्या हुनसक्ने उनी बताउँछन्। 

‘एक करोड लगानीमा महिनाको दश लाख रुपैयाँको कपडा बेच्न सकेन भने फाइदा हुँदैन। अनि फाइदा नभएपछि कसैले पनि यो काम गर्न किन आँट्छ र!’, उनले भने।

उनको एउटा छोरा बेलायतमा छन्। अर्को भने यहीँ बसेर धागो सप्लाइ गर्ने काममा उनलाई सहयोग गर्छन्। नयाँ पुस्ताहरू यस कामप्रति फिटिक्कै आकर्षित नभएको भन्दै आफ्नो उद्योग अहिले टिके पनि भविष्यमा टिकिरहन्छ भन्नेमा शंका लाग्छ उनलाई।

‘अहिले जो यहाँ काम गरिरहेको छ। उनीहरूको पनि भविष्य त छैन। जे गरे पनि सरकारले काम दिन सकेको छैन। आफैँ पनि शिक्षक भएको कारण शिक्षा नै परिमार्जन गर्नुपर्ने भएको छ।’

जन्मेदेखि तान चलाएका उनी कुनै पनि काममा एकाग्र हुनसके मात्र सफल हुने बताउँछन्।

‘अहिलेसम्म सबै काम राम्रोसँग भइरहेको छ। पछि पनि राम्रै होस् भने न हो। सबैले काम गर्ने, उद्योग फस्टाउने नीति आयो भने राम्रो। मैले मात्र गरेर भएन। लुभुमा अरुले पनि यो काम गर्छ उनीहरूलाई पनि सहज होस् भन्ने न हो। अब त केही वर्षपछि ८० वर्ष हुन्छ। अब के योजना बनाउनु!’, उनले भने।

७ फागुन, २०८०, १४:११:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।