पपुवा न्यू गिनीमा गोली हानेर ६४ जनाको हत्या
एजेन्सी : पपुवा न्यू गिनीको दुर्गम पहाडी क्षेत्रमा भएको आक्रमणमा कम्तीमा ६४ जनालाई गोली हानेर हत्या गरिएको छ।
एङ्गा प्रान्तमा आदिवासी विवादका क्रममा मानिसहरूलाई गोली हानी मारिएको देशको प्रहरी प्रवक्ताले जानकारी दिएको बीबीसीले जनाएको छ।
हाइल्यान्ड क्षेत्रको इतिहास हिंसाले भरिएको भए पनि यसलाई पछिल्ला केही वर्षयताकै सबैभन्दा ठूलो हिंसा मानिएको छ। अवैध हतियारको संख्या बढ्नु नै यहाँ हिंसा बढ्नुको मुख्य कारण हो।
प्रहरीले राजधानी पोर्ट मोरेस्बीबाट करिब ६०० किलोमिटर उत्तरपश्चिमको वाबाग सहर नजिकै घटनास्थलमा शव संकलन गर्न थालिएको बताएको छ।
पपुवा न्यू गिनी कन्स्टेबुलरीका कार्यवाहक सुपरिटेन्डेन्ट जर्ज काकासले भने, ‘मैले एङ्गामा कहिल्यै हिंसा देखेको छैन, सम्भवतः सम्पूर्ण हाईल्याण्ड्समा यो अहिलेसम्मको सबैभन्दा खराब अवस्था हो।’
जमिन र सम्पत्तिको बाँडफाँडलाई लिएर बढ्दै गएको जनजाति द्वन्द्वले गत वर्ष जुलाईमा इन्गामा तीन महिना प्रहरीले कर्फ्यू र यात्रा प्रतिबन्ध लगाएको थियो।
फागुन ७, २०८० सोमबार ०९:२०:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।