राष्ट्रिय टिम छोड्न मन छ, तर भुटानले पनि जित्छ जस्तो डर लाग्छ : सीता रानामगर

राष्ट्रिय टिम छोड्न मन छ, तर भुटानले पनि जित्छ जस्तो डर लाग्छ : सीता रानामगर

काठमाडौं : नेपाली राष्ट्रिय महिला टिमकी खेलाडी सीता राना मगरले राष्ट्रिय टिम दुई खेलाडीको मात्र भरमा पर्न नहुने बताएकी छन्।

एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा मेलिसयासँग पराजित भएर नेपाल फर्किएपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलाडी मगरले टिममा अन्य खेलाडीले पनि राम्रो प्रस्तुति दिनुपर्नेमा जोड दिइन्।

‘अम्पायरहरूले पनि नेपाली महिला टिममा रुबिना र सीता गयो भने केही पनि छैनन भन्नुहुन्छ,’ उनले भनिन्, ‘जति पनि जुनियरहरू छ, उनीहरूले जिम्मेवारी लिएर अगाडि बढ्नुपर्छ, अहिले खुसी हुनुपर्ने कारण चाहिँ इन्दु आको छ कविता कुँवर पनि छ।’

चार/पाँच जना अझै राम्रा खेलाडी राष्ट्रिय टोलीमा आए आफूहरूले ढुक्कले राष्ट्रिय टोली छोड्न पाउने उनले बताइन्।

‘अहिले राष्ट्रिय टोली छोड्न मन लाग्छ,’ उनले भनिन्, ‘तर छोड्नेबित्तिकै भुटानले पनि जित्छ जस्तो डर लाग्छ।’

लामो क्रिकेट करिअरमा पहिलो ह्याट्रिक आएकोमा खुसी भए पनि टिमले फाइनलमा नपुग्द ती सबै उपलब्धीहरू छायाँमा परेको उनले बताइन्।

मलेसियालाई आफूहरूले सहज रुपमा लिएको ओभर कन्फिडेन्सका कारण पनि सेमिफाइनलमा हार व्यहोरेको उनले बताइन्।

‘सायद ओभर कन्फिडेन्ट पनि भयौं। फिल्डिङ हाम्रो झुर नै भयो। केही पनि तालमेल नै मिलिराखेको थिएन,’ उनले थपिन्, ‘अन्तिम ओभरसम्म पनि फाइट गरिरहेका थियौं। दुई चौकाले कुरा बिग्रियो।’

फागुन ७, २०८० सोमबार ०९:१३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।